संशोधन पारित गर्न कठिन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विधेयक पारित हुन नसक्ने बताएका छन् ।
नेपाल आदिबासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने, "हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरें, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेर प्रष्ट भाषामा भन्नुभएको छ, प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान गर्ने उहाँहरुको प्रष्ट कुरा छ । यति कुरा जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित हुँदैन, फेल हुन्छ ।"
विधेयक पारित नहुँदा समस्या झन बल्झने भन्दै प्रधानमन्त्री दाहालले अलिकति समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुने बताएका थिए ।
"संविधान जारी गर्ने बेला मेरो पार्टीले पनि आठ बूंदे असहमति दर्ज गरेको छ । तर, अहिलेको संविधान पनि मान्दैनौं भनेर हामी नै यो संविधानको विरुद्ध लाग्दा त्यसको परिणाम के होला ?" प्रधानमन्त्रीले भने, " तपाईहरु सोच्नुहोस्, भुईंको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन । अहिलेको संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहन्छ । के तपाई हामीले चाहेको त्यही हो त ?"
अहिलेको संविधान मान्दैनौं भन्नु मुलूक उल्टो दिशातिर हिडाउन खोज्नु हो भन्दै उनले हालसम्म प्राप्त उपलब्धिलाई जोगाउँदै अगाडि बढ्नु राम्रो हुने बताए ।
सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले आदिबासी जनजाति प्रतिष्ठान खारेज नहुनेमा ढुक्क रहन महासंघका पदाधिकारीलाई आग्रह गरे ।
भेटमा आदिबासी जनजातिका प्रतिनिधिहरुले आदिबासी जनजाति उत्थान प्रतिष्ठान यथावत राख्न, जनजाति मन्त्रालय गठन गर्न, स्थानीय तहमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था गर्न, आदिबासी अधिकारसहित संविधान संशोधन गर्न, स्थानीय तहको सीमा निर्धारण गर्दा पहिचान जडित क्षेत्रलाई खण्डित नगर्न र स्थानीय तहको निर्वाचनअघि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।