संविधान संशोधन नभएसम्म निर्वाचनमा नजाने मोर्चाको निर्णय
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म निर्वाचनमा भाग नलिने निर्णय गरेको छ।
निर्वाचनबारे आधिकारिक धारणा तय गर्न तमलोपा कार्यालय बिजुली बजारमा बसेको मोर्चाको बैठकले संविधान संशोधन विना निर्वाचनमा नजाने निर्णय गरेको हो ।
सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले संविधान संशोधन नभई निर्वाचनमा नजाने र हुन पनि नदिने निर्णय भएको जानकारी दिए ।
आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनबारे मोर्चाको आधिकारिक धारणा मागेका थिए।
प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पारित हुने अवस्था नरहेकाले हालका लागि स्थगन गरेर निर्वाचनमा जान मोर्चासमक्ष प्रस्ताव गरेका थिए । उनले विधेयक पारित नभएको अवस्थामा पनि मोर्चाले निर्वाचनमा भाग लिन्छ कि लिंदैन भनेर सोधेका थिए ।
यद्यपि प्रधानमन्त्री र मोर्चाबीच भोलि फेरि बैठक हुने सुमनले बताए ।