उपराष्ट्रपति अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटे
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ विरामी भएका छन् । चार दिनदेखि विसन्चो भएपछि अस्पताल भर्ना गरिएको छ ।
उपराष्ट्रपति पुनको थापाथलीस्थित नर्भिक ईन्टरनेशनल अस्पतालमा उपचार भईरहेको प्रेस संयोजक मनोज घर्तीमगरले बताए । चार दिन रिंगाटा लाग्ने, वान्ता आउने, ज्वरो आउने समस्या देखिएपछि निवासमै उपचार हुदै आएको थियो । समस्या कम नभएपछि अस्पताल भर्ना गरिएको घर्तीमगरले जानकारी दिए ।
१५ फागुन राती ९ः३० बजे अस्पताल भर्ना गरिएको उपराष्ट्रपति पुनको उपचारमा डा. मधु घिमिरे र डा. शिवजी विक्रम शिलवाल संलग्न रहेका छन् । शरीरमा सोडियम र पानीको मात्रासमेत कम देखिएको चिकित्सकलाई उद्धृत गर्दै प्रेस संयोजक घर्तीमगरले बताए ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर उपराष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । त्यस्तै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि अस्पताल पुगेका छन् ।