दुर्गा तिवारी हत्याबारे प्रहरी प्रतिवेदनः हत्या मनोजले नै गराएका हुन्
युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको प्रहरीले दाबी गरेको छ ।
हत्याको झण्डै डेढ महिनापछि प्रहरीले १५ फागुन, आइतबार पत्रकार सम्मेलन गरेर मुख्य योजनकार मनोज नै भएको बताएको छ ।
रुपन्देही देवदह ६ का २९ वर्षीय मनोज फरार छन् । उनले हत्याको केही मिनेटमै प्रहरी र स्थानीयलाई फोन गरी आफूले हत्या गराएको बताएका थिए ।
पुनले व्यक्तिगत रिसिइबीकै कारण तिवारीको हत्या गराएको अनुसन्धानले देखाएको एसपी रविन्द्र धानुकले वताए ।
तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर– ३ का विकास भनिने सोमबहादुर आले पनि फरार छन् । घटनामा सुटरका रुपमा राजु भनिने प्रयोग भएको र उनी पनि फरार रहेको प्रहरी उपरीक्षक धानुकले जानकारी दिए ।
सार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका – ६ का ३१ वर्षीय वसन्तबहादुर चापागार्इँ, तिलोत्तमा नगरपालिका– १५ का २७ वर्षीय बुद्धिसागर यादव र २४ वर्षीय राजेश यादव, तिलोत्तमा– ८ का प्रयास भनिने ३३ वर्षीय खेमानन्द भट्टराई, देवदह नगरपालिका– ८ का २३ वर्षीय सागर थापा, रुपन्देही धकधई– ८ परासी झुङ्गाका २८ वर्षीय अङ्गद थारु र देवदह नगरपालिका– ९ का २८ वर्षीय ऋषिश्वर कुमाल छन् ।
प्रहरीका अनुसार चापागार्इँले मनोज पुन भनिने मनोज बुढा मगरको निर्देशनबमोजिम घटनाको दिन दिनभरि तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराउने भूमिका खेलेका थिए ।
पुन सहित ५ जना अझै फरार छन् । तिवारीको ४ पुसमा हत्या भएको थियो ।