१८ फागुनदेखि २० वर्षे गाडी चलाउन नपाइने
आगामी बुधवार अर्थात् १८ फागुनदेखि काठमाडौँ उपत्यकामा २० वर्षे पुराना सवारी सधान चलाउन नपाइने भएको छ ।
यातायात व्यवस्था विभागले पुराना सवारी साधनलाई विस्थापित गर्ने नीति लिएसँगै पुराना सवारी साधन चलाउन नपाइने भएको हो । तर यो नियम सार्वजनिक सवारी साधनमा मात्रै लागू हुनेछ । तत्कालका लागि निजी अथवा अन्य गाडीहरुलाई यो नियमले छुने छैन ।
२० वर्ष पुरा भएका सवारी साधन चलाएमा जरिवानासहित गाडी नै जफत गरिने निर्णय भएको यातायात व्यवस्था विभागले जानकारी गराएको छ ।
उपत्यकाबाट विस्थापित गरिएका गाडी देशभर कतै पनि चलाउन पाइने छैन । पुराना गाडी नामसारी नहुने तथा अञ्चलीकरण पनि नहुने यातायात व्यवस्था कार्यालयले जनाएको छ । यो नियम लागू भएसँगै काठमाडौँ उपत्यकाबाट करिब २५ सय पुराना सवारी साधन विस्थापित हुनेछन् ।