विद्यालयमा खानेपानीको समस्या, डेढ करोडको आयोजना अलपत्र
इलाम जिल्लाको दक्षिणीभेग चुरे क्षेत्रका गाविसस्थित विद्यालयमा खानेपानी समस्या चर्को रूपमा देखिएको छ ।
अत्यधिक वन फडानी र मुहान संरक्षण नहुँदा चुरे क्षेत्रमा खानेपानीको मुहान सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो ।
दानाबारीको २, ३, ४, ५ र ७ नम्बर वडालाई समेट्ने गरी झन्डै दुई दशकअघि एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा रु एक करोड ६७ लाखको लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजनाअन्तर्गत सञ्चालन भएका चार सय २२ धारामध्ये यतिखेर ८/१० धारामा मात्र मुस्किलले पानी आउने गरेका छन् ।
विद्यालयमा खानेपानीको समस्या देखिन थालेपछि अधिकांश विद्यार्थीले पिउनका लागि घरैबाट बोतलमा पानी ल्याउने गर्छन् भने कोहीले नजिकका गाउँ पसेर पानी मागेर पिउने गरेका छन् ।
अहिले यस क्षेत्रका विद्यालयमा खानेपानी र सरसफाइमा ठुलो समस्या देखिएको शिक्षक/विद्यार्थी बताउँछन् ।
खानेपानी नभएकै कारण दानाबारीस्थित कन्काई मावि र दीपज्योति प्राविका विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर आउने गरेका छन् । कन्काई माविका शिक्षक खेमराज लिम्बुले तिर्खा लागेका बेला विद्यार्थीले पानी खान नजिकको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताए ।
चुरे क्षेत्रमा पर्ने गाविस चुलाचुली, दानाबारी, महमाई, साकफारा, बाँझो गाविसमा अहिले खानेपानीको चर्को अभाव देखिन थालेको स्थानीयले बताएका छन् ।
महमाईको १, २ र ३ नं वडालाई लक्षित गरी सुनगाभा विकास संस्था इलामले खानेपानी आयोजना निर्माण सम्पन्न गरेपछि अहिले यहाँका बासिन्दालाई केही राहत पुगेका छ । छ महिनाअघि सम्पन्न भएको यो आयोजनाबाट ५२ वटा धारा सञ्चालन गरिएको छ ।
गाउँ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोलाको पानी उपभोग गर्ने गरेका छन् । मुहान सुक्न थालेपछि चुरे क्षेत्रका बासिन्दालाई खानेपानीको समस्या बर्सेनि चर्को बन्दै गएको हो ।
यस क्षेत्रका बासिन्दाले चुरे क्षेत्रका वन मासिएकै कारण खानेपानीका स्रोत घटेको थाहा पाउँदासमेत वन विनाश भने घट्न सकेको छैन ।
रासस