दश महिनामा विपतबाट ४४३ जनाको मृत्यु
विगत दश महिनामा विपतमा परेर मुलुकभरी ४४३ जनाको मृत्यु भएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा गृह मन्त्रालयका उपसचिव शङ्करहरि अधिकारीले गत वैशाखदेखि माघ मसान्तसम्ममा पहिरो महामारी, बाढी, हावाहुरी, अविरल वर्षा, लेक लाग्नु जस्ता विपतबाट ४४३ जनको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार यसै वर्ष ४७ जना बेपत्ता र ७०३ जना घाइते भएका छन् । तीमध्ये सबैभन्दा बढी पहिरोमा परी १४५ जनाको मृत्यु भएको छ । सबैभन्दा कम एक जनाको हावाहुरीबाट ज्यान गएको छ ।
अधिकारीका अनुसार २०७२ सालको भूकम्प र अन्य कारणले गर्दा नौ हजार २१७ जनाको मृत्यु, २३६ जना हराएका र २२ हजार ६५२ जना घाइते भएका थिए ।
सोही क्रममा मन्त्रालयको कानुन महाशाखा प्रमुख निर्मला अधिकारीले विपत्सम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन, खुल्ला स्थानको पहिचान र पूर्वतयारीको समेत व्यवस्थापन गर्नका लागि मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिइन् ।
महिला कानुन र विकास मञ्चका अध्यक्ष एवम् अधिवक्ता मीरा ढुङ्गानाले पूर्व तयारी र विपत्को समयमा आइपरेका कठिनाईलाई सामना गर्नका लागि सरकारले विद्यालयस्तरदेखि नै छुट्टै कक्षा र पठनपाठनको व्यवस्थापनमा विशेष जोड दिनुपर्ने आवश्कता औँल्याएकी थिइन् । रासस