राजनीतिक दलसम्बन्धी विधेयक चाहियोः निर्वाचन आयोग
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ पारित गराउन आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।
हाल उक्त विधेयक व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा छलफलमा छ । विधेयकमा न्यूनतम मत सीमा (थ्रेस होल्ड) कति प्रतिशत राख्ने वा नराख्ने विषयमा दलका बीचमा मतमतान्तर छ ।
ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र थ्रेस होल्डका पक्षमा छन् भने साना दल यसका विपक्षमा छन् ।
आयोगको १० वैशाखमा सम्पन्न बैठकले पत्रचार गर्ने निर्णय गरेका आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको सहभागिताको सुनिश्चितताका लागि राजनीतिक दल दर्ता र व्यवस्थापन गर्न राजनीतिक दलसम्बन्धी कानून आवश्यक भएको आयोगले जनाएको छ ।
आयोगको बैठकले आगामी ३१ वैशाखमा स्थानीय तह निर्वाचनको मिति तोकेकोमा सरकारलाई धन्यवाद दिनुका साथै उक्त मितिमा निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको सरकारलाई लेखी पठाउने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्को ९ फागुनमा बसेको बैठकले आगामी ३१ वैशाखमा स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको थियो । करिब १९ वर्षको अन्तरालपछि सरकारले निर्वाचनको मिति घोषणा गरेको हो ।
विज्ञप्तिमा आयोगले निर्वाचनका लागि स्थानीय तहको पुनःसंरचनासम्बन्धी प्रतिवेदन आवश्यक पर्ने हुँदा सो प्रतिवेदन शीघ्र उपलब्ध गराइदिन समेत आग्रह गरेको छ ।
मतदाता नाम दर्ता कार्य स्थगित
निर्वाचनको मिति घोषणा भएको हुँदा मतदाता नामावली नाम दर्ता कार्य स्थगित गर्ने निर्णय समेत अयोगले गरेको छ ।
मतदाता नामावलीलाई अद्यावधिक (सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने) गर्न जिल्ला सदरमुकामबाट आगामी फागुन १७ गतेदेखि २१ गतेसम्म गर्ने निर्णय समेत भएको विज्ञप्तिमा उल्लेख छ ।