वैज्ञानिकले पत्ता लगाए चार नयाँ प्रजातिका भ्यागुता
भारतका वैज्ञानिकले चार प्रजातिका साना भ्यागुता पत्ता लगाएका छन् ।
१० फागुनमा अमेरिकन एसोसिएसन फर द एडभान्समेन्ट अफ साइन्समा प्रकाशित समाचार अनुसार चार साना प्रजातिका साथै अन्य सात भ्यागुता भारतमा फेला परेका छन् ।
नयाँ फेला परेका भ्यागुताका सबै प्रजाति न्याक्टीव्याचर्स समूह (जात) अन्तर्गत पर्ने वैज्ञानिकहरूले बताएका छन् । रातमा बढी सक्रिय हुने र रंग पनि कालो नै हुने भएकोले यो समूहमा पर्ने भ्यागुतालाई सामान्यतया रातका भ्यागुता भनेर चिन्ने गरिन्छ ।
दिल्ली विश्वविद्यालयमा पाँच वर्षे कोर्स गरिररहेका वैज्ञानिकहरूले पानी र जमिन दुवैमा सहजै बस्न सक्ने यस्ता प्रजाति भारतको पश्चिमी घाट क्षेत्रमा फेला परेका हुन । जुन क्षेत्र पानी र जमिनमा बस्ने प्रजातिको उर्वर भूमिको रूपमा प्रख्यात छ । फेला परेका नयाँ प्रजातिका भ्यागुतालाई विश्वकै सबैभन्दा सानो भ्यागुता भनेर वैज्ञानिकहरूले दाबी गरेका छन् ।
यी भ्यागुता १२ मिलिमिटरभन्दा सानो रहेका छन् र यी भ्यागुताहरु जवान अवस्थामा पनि १६ मिलिमिटरभन्दा ठुलो हुने छैनन् । यी भ्यागुताहरु सहजै सिक्का वा मानिसको हातको नङमा बस्न सक्नेछन् ।
दिल्ली विश्वविद्यालयमा पीएचडी (विद्यावारिधी) गरिरहेकी र यो अनुसन्धानमा संलग्न वैज्ञानिक सोनाली गर्ग भन्छिन् – “यो प्रजातिका भ्यागुता हाम्रो स्थानीय ठाउँमा त्यो पनि परिपक्क अवस्थामा पाउनु अत्यन्तै आश्चार्यको कुरा हो । भ्यागुताको अत्यन्तै सानो आकार र व्यवहारले गर्दा यिनीहरू किरा–फट्याङग्राजस्तै लाग्छ ।”
वैज्ञानिकहरुका अनुसार धेरै नयाँ प्रजातिका जनावरहरुको भविष्य निकै अन्धकार छ । अधिकांश भ्यागुताहरु असुरक्षित ठाउँमा त्यो पनि मानिसको बासबास भएको स्थान नजिकै बस्ने गरेको अनुसनधानकर्ताहरुले बताएका छन् । यस कारणले पनि उनीहरूको आहारा, बासस्थानको अभाव हुन्छ र छिट्टै लोप हुन पुग्छन् ।
यो अनुसन्धानको नेतृत्व गरेका दिल्ली विश्वविद्यालयका प्राध्यापक एसडी बिजु भन्छन् – “३२ प्रतिशतभन्दा बढी (यो पश्चिकी घाट क्षेत्रको एक चौथाई हो ।) भ्यागुताको अवस्था निकै संकटपूर्ण रहेको छ । ” बिजुले ८० भन्दा बढी प्रजातिको बारेमा पनि उल्लेख गरे । उनका अनुसार “सात मध्ये पाँच नयाँ प्रजाति मानिसले गर्ने प्रदुषण्को सिकार भइरहेका छन् जसको लागि बेलैमा सचेत हुन र संरक्षणका लागि उचित कदम चाल्न ढिला भइसकेको छ ।
एजेन्सी