आइजीपी नियुक्ति सम्बन्धी रिटको सुनुवाई सर्यो
नेपाल प्रहरीको प्रमुखमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारी निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई सरेको छ ।
न्यायाधीश हरिकृष्ण कार्की र ईश्वर खतिवडाको इजलासमा दुवै पक्षलाई झिकाएर आज शुरु हुन लागेको बहस बुधबार ११ फागुनसम्मका लागि सरेको हो।
सरकारका महान्यायाधीवक्ताले रिटमाथि परेको पुरक निवेदन बारे आफूलाई थाहा नभएको बताएपछि सुनुवाई सरेको हो ।
चन्दको नियुक्ति अगावै परेको रिट उपर सर्वोच्चमा सुनुवाई शुरु हुनु अघि नै सरकारले चन्दलाई आइजीपीमा नियुक्त गरेको थियो । तयसपछि निवेदक कपिलदेव ढकालले नियुक्ति बदर गर्न अन्तरिम आदेश माग गर्दै फेरि पुरक निवेदन दिएका थिए ।
आज बहस शुरू भएपछि सरकारका महान्यायाधीवक्ताले आफूलाई पुरक निवेदन बारे जानकारी नभएको बताएपछि सुनुवाई सरेको हो।
सरकारको पक्षबाट नियुक्तिको प्रतिरक्षा गर्नुपर्ने महान्यायाधीवक्तालाई निवेदनबारे जानकारी हुनुपर्ने भएकाले बहस सरेको हो ।
दुवै पक्षको वहस सकिएपछि चन्दलाई निरन्तरता दिने कि रोक लगाउने भन्ने निर्णय सर्वोच्चले गर्ने छ।
एक हप्ता अघि बसेको मन्त्रिपरिषद् बैंकले चन्दलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
चन्दको नियुक्ति बदर गर्न माग गर्दै डिआइजी नवराज सिलवालले पनि सर्वोच्चमा रिट दायर गरेका थिए। दुवै रिटमाथिको पहिलो सुनुवाईमै प्रधानन्यायाधीश शुसीला कार्कीले चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेकी थिइन्।