सुत्केरीः शहरमै असुरक्षित
- दीपक ज्ञवाली, बुटवल
उपक्षेत्रीय अस्पतालको मान्यता पाएको पश्चिमाञ्चलकै ठूलो लुम्बिनी अस्पताल सुत्केरीका लागि असुरक्षित गन्तव्य बनेको छ।
बेलवास, बुटवल बस्ने स्याड्जाकी राधिका पाण्डे (२८) सामान्य बेथा शुरू भएपछि २७ मंसीर बिहान लुम्बिनी उपक्षेत्रीय अस्पताल, बुटवलमा भर्ना भइन्। दिउँसोबाटै रक्तस्राव शुरू भयो। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बीबी राउतले शल्यक्रियाको समय तोके। तर पालो परेन भन्दै शल्यक्रिया भएन।
नर्सहरूले बेथा लाग्ने सुई र औषधि दिए। राधिकालाई झनै गाह्रो भयो। हतारहतार आईसीयूमा सारियो। रातभर उनी छट्पटाइन्।
बिहान पाँच बजे शिशु जन्मियो। तर, शिशु पहिल्यै मरिसकेको थियो। हल्लाखल्लापछि डा. राउत आए। बिहान ६ बजे उनले आमालाई पनि मृत घोषणा गरे।
“रातभर चिच्याउँदा पनि कोही उठेनन्, उपचार नपाएरै आमाको ज्यान गयो”, बिरामी कुरुवा चन्द्रकला भण्डारीले भनिन्। डा. राउत भने एक्कासी फोक्सो र मुटुले काम नगर्र्दा राधिकाको मृत्यु भएको बताउँछन्। आफन्तको आपत्तिपछि अस्पतालले छानबीन गर्ने बताए पनि घटना सेलाउँदै गएको छ। ८ वर्षीय छोराकी आमा राधिकाका श्रीमान् भने मलेशियामा छन्।
सुत्केरी बेथा लागेर २९ भदौमा लुम्बिनी अस्पताल आइपुगेकी चन्द्रौटा, कपिलवस्तुकी रामदुलारी कुर्मी (३१) को मृत्युमा पनि अस्पतालकै हात रहेको आफन्तको आरोप छ। तर, अस्पताल भने उही 'एक्कासी फोक्सो र मुटुले काम नगरेको' कारण देखाइरहेको छ।
दुर्गम भेगमा स्वास्थ्य सेवाको अभावमा सुत्केरीले ज्यान गुमाएको समाचार पटकपटक सुनिएकै हो। तर, १३ जिल्लाबाट उपचारका लागि आउने पश्चिमाञ्चलकै ठूलो लुम्बिनी अस्पतालमै डेढ वर्षभित्र १० सुत्केरीले अकालमा ज्यान गुमाएका छन्।
अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मी उपचारका क्रममा गत आर्थिक वर्षमा आठ र यो आवमा दुई जनाको मृत्यु भएको बताउँछन्। अस्पतालको तथ्यांकले शहरमै सुत्केरी असुरक्षित रहेको पुष्टि गर्छ। अर्को विडम्बना त के छ भने यही अस्पतालमा निःशुल्क सुत्केरी सेवाका लागि वार्षिक झ्ण्डै रु.५ करोडभन्दा बढीको बजेट छ।
'मर्ने थुप्रै'
सुत्केरी हुन नसकेर गत फागुनमा अस्पतालमै बहिनी रामकुमारी तामाङको मृत्यु देखेकी सुनवल, नवलपरासीकी विष्णु तामाङ नर्सले हेर्दै नहेर्ने र डाक्टर आउँदै नआउने गरेकाले नै धेरै महिलाको ज्यान गएको बताउँछिन्। “रातभर अस्पतालको बेडमा छट्पटाउँदा पनि कोही आएनन्, मुखबाट फिंज निकालेपछि मात्रै डाक्टर आए र मर्यो भनिदिए”, तामाङको गुनासो छ।
उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीका अध्यक्ष नर्बु लामा डेढ वर्षमा १० जना सुत्केरी मृत्युको संख्या ठूलो नभएको तर्क गर्छन्। “यति त संयोगले बाहिर आएका घटना मात्र हुन्। अस्पतालमा उपचार नपाएर मर्ने त थुप्रै छन्”, उनी भन्छन्।
सुत्केरी मृत्युबारे पटकपटक पीडितका आफन्त र चिकित्सक छानबीन टोली बनाउने गरिए पनि ती थामथुममै सीमित छन्। लामाको भनाइमा 'जति गरे पनि मरेको मान्छे फर्कने होइन' भन्ने सोचका कारण दोषीले लाभ पाइरहेका छन्।
निःशुल्क उपचार गरिनुपर्ने गर्भवतीको मृत्यु बढेपछि अस्पतालले गत वर्ष उनीहरूलाई दिइएको औषधि र स्लाइन पानीबारे छानबीन गरेको थियो। स्रोतका अनुसार, स्लाइनको गुणस्तरमा केही खराबी भेटिएको थियो। तर अस्पताल र औषधि बिक्रेताबीचको मिलेमतोमा त्यसलाई बाहिर आउन दिइएन।
नर्बु लामा भने कमिशनको लोभमा सुत्केरीलाई निजी अस्पतालमा भर्ना गराउने गिरोह अस्पतालभित्रै सक्रिय रहेकाले पनि यस्तो अवस्था आएको बताउँछन्।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. विकास देवकोटा विशेषज्ञ सेवा भएकै अस्पतालमा यस्तो हुनु विडम्बना भएको तर अस्पतालले उपचारमा लापरबाही नगरेको दाबी गर्छन्। सम्पूर्ण चिकित्सा प्रक्रिया सामान्य नागरिकलाई बुझाउन नसकेका कारण पनि अनेक आरोप आएको बताउने उनी अस्पतालमै उपचार अभावमा सुत्केरी मर्न नहुनेप्रति आफू दृढ रहेको दोहोर्याउँदै भन्छन्, “सेवा प्रवाहमा केही समस्या देखिएका छन्, त्यसलाई दोहोरिन नदिने प्रयासमा छौं।”
अस्पतालमा १३ जिल्लाबाट दैनिक ३० जनाभन्दा बढी प्रसूति गराउन आउँछन्, जसका लागि ६९ वटा बेड छुट्याइएका छन्। अस्पतालका अनुसार, यो आवको पाँच महीनामा ४ हजार ४६० जना सुत्केरी गराइएको छ।
सूचना अधिकृत रेग्मी अस्पतालमा सुत्केरीका लागि आउनेलाई यातायात खर्चस्वरुप रु.५०० दिइनुका साथै सम्पूर्ण उपचार निःशुल्क हुने बताउँछन्। अस्पताल बाहिर सुत्केरी भएकाहरूलाई पनि निःशुल्क उपचारको व्यवस्था गरिएको उनी बताउँछन्।
४० प्रतिशत 'रिफर'
१५ वटा उपचार विभागको विशेषज्ञ उपचार गरिनुपर्ने लुम्बिनी अस्पतालमा नसा तथा स्नायु रोग उपचार सेवा न्युरोलोजी, न्युरोसर्जरी, अर्वुद रोगको अन्को–नेफ्रोलोजी, पिसाब सम्बन्धी युरोसर्जरी र पेट सम्बन्धी शल्यक्रिया ग्यास्ट्रोइन्टेरोलोजी सर्जरीका विभाग नै बनेका छैनन्। त्यसैले पनि उपचारका लागि आउने झ्ण्डै ४० प्रतिशत बिरामी फर्र्कन बाध्य छन्।
मेडिकल सुपरीटेन्डेन्ट डा. देवकोटा दरबन्दी अनुसार विशेषज्ञ र चिकित्सक नहुँदा अत्यावश्यक उपचार सेवा शुरू गर्न नसकेको बताउँछन्। “पूर्वाधार अभाव छ, त्यसैले पनि थप सेवा शुरू गर्न सकेका छैनौं”, उनी भन्छन्।
त्यसो त भएका विभागहरूमा पनि उपचार प्रभावकारी हुनसकेको छैन। गत वर्षदेखि मानसिक रोगको उपचार सेवा शुरू त भएको छ तर विशेषज्ञ चिकित्सक छैनन्। स्त्री तथा प्रसूति रोग, बाल रोग, दातको शल्यक्रिया, नाक, कान घाँटी रोग, मुटुरोगलगायतमा पनि आवश्यक विशेषज्ञ चिकित्सक छैनन्। सबैजसो शाखामा मेडिकल अफिसरको अभाव छ। कतिपयमा एक जना चिकित्सक वा विशेषज्ञ विदामा बस्दा सेवा नै बन्द हुने गरेको छ।
अस्पतालका अनुसार, ४९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको अस्पतालमा २८ जना मात्र छन् भने ६५ जना चिकित्सकको दरबन्दी रहेकोमा ६ जना मात्रै चिकित्सक छन्।
दैनिक एक हजार भन्दा बढी बिरामी उपचार गर्न आउने यो अस्पतालले गत वर्ष स्तरोन्नति भई उपक्षेत्रीय अस्पतालको मान्यता पाएको थियो। “स्तर वृद्धि पछि नयाँ नयाँ उपचार सेवा वृद्धि गर्नुपर्ने हो”, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष लामा भन्छन् “तर, पुरानै सेवा पनि शुरू नगर्नु लाजमर्र्दो कुरा हो।”