राप्रपा महाधिवेशन आजदेखि शुरु
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन प्रदर्शनी मार्गस्थित सडकमा शुरु भएको छ ।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि आयोजना भएको एकता महाधिवेशनको नारा ‘राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको जगमा समृद्ध नेपाल निर्माण गरौँ’ भन्ने रहेको छ ।
९ फागुनसम्म भृकुटीमण्डपमा चल्ने महाधिवेशनको अध्यक्ष कमल थापाले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् ।
सभामा सहभागीलाई पार्टीका उपाध्यक्ष टङ्क ढकालले स्वागत गर्दै जनताले चाहना गरेको शान्त र समृद्ध मुलुक निर्माणको उद्देश्यका लागि दुई पार्टी एक भई महाधिवेशन गर्न लागिएको बताए । उनले मुलुक अहिले सङ्कटको अवस्थामा रहेकाले बलियो राष्ट्रवादी शक्तिको खाँचो रहेको औँल्याए ।
यसअघि राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता पशुपतिशम्शेर राणालगायतले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।
अधिकांश पञ्चायती पृष्ठभूमि भएका नेताहरुको बाहुल्यता रहेको राप्रपा व्यवस्थापिका–संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ । महाविधेशनले आगामी चार वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
उक्त पार्टीको शीर्ष नेतृत्वमा पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापा छन् । महाधिवेशनमा भाग लिन स्वेदश तथा विदेशबाट गरी तीन हजार ३१५ प्रतिनिधि सहभागि रहेको राप्रपाले जनाएको छ ।
महाधिवेशनलाई सफल तुल्याउन ३०० पर्यवेक्षक परिचालन गरिएको छ ।
महाधिवेशनको उद्घाटनसत्रमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुले समेत सम्बोधन गर्नेछन् ।