समाचारसोमबार, २ फाल्गुण , २०७३

'मिस मोटी'को नेपाल यात्रा

रविन गिरी

कृपा जोशी ।                                                                      तस्वीर: बिक्रम राई

विद्यालयमा साथीहरूभन्दा मोटी भएको भानले कृपा जोशी (३८) लाई सताइरहन्थ्यो । घरमा त खासै समस्या थिएन, तर आफन्तहरू तौल घटाएर ‘राम्री’ हुन नमागेका सुझाव दिइरहन्थे । उनलाई भित्रभित्रै पिरोल्थ्यो । “सिंढी चढ्दा स्याँ–स्याँ हुन्थें”, उनी भन्छिन्, “सपना चाहिं हलुकासँग आकाशमा उडिरहेको, मज्जाले पौडिरहेको देख्थें ।”

भारत, जयपुरको महारानी गायत्रीदेवी स्कूलबाट कक्षा १२ सिध्याएपछि कृपाले ललितकला पढ्न चाहिन्, तर ‘अगतिलो विद्यार्थीका लागि’ भनि चित्रित यो विषय पढ्न उनलाई साथी र शिक्षकभन्दा पनि परिवारले साथ दियो । सिलसिला टुटेन, गुजरातको महाराजा सायाजीराव युनिभर्सिटी अफ बरोदाबाट चित्रकलामा स्नातक गरिन् । स्नातकको अन्तिम वर्ष उनले सोफा सो गुड शीर्षकमा मान्छेको स्वरुप अनुसार सोफाका चित्रको सिरिज बनाइन् । “अहिले हेर्दा देख्छु, सिरिजका कतिपय चित्रमा तौल र शरीरको रुपका कुरा आएका रहेछन्”, कृपा भन्छिन् ।

स्नातक गरेपछिका चार वर्ष काठमाडौंमा चित्रकला र इलुस्ट्रेसन पढाएकी उनी सन् २००५ मा फुलब्राइट छात्रवृत्ति पाएर न्यूयोर्कको स्कूल अफ भिजुअल आर्ट पुगिन् । त्यहीं एमएफए गर्दै गर्दा उनको मनमा पहिलोपटक मिस मोटी पात्र जन्मियो । पात्र रचनाको बिज भने आमा रुपाले रोपिदिएकी थिइन् । किनकि आमा मोटी भए पनि केही गर्न पछि नहट्ने फूर्तिलो स्वभावले उनलाई तानेको थियो । विन्सर म्याकेको पात्र लिटल नेमोको सम्ब्लरल्याण्डमाथिको साहसिक र रोमाञ्चक यात्रा कथाबाट प्रभावित कृपालाई प्राध्यापकहरूले पनि यसमा हौस्याए । अनि जन्मियो, कमिक बुक मिस मोटी ।

मिस मोटी

असाधारण कल्पनाशील, साधारण महिला । मिस मोटी को एक वाक्यको परिचय यही हो । यस्ती महिला जो मोटी छिन्, तर मोटोपनले न उनको विचारको सौन्दर्यमा कमि ल्याएको छ न त शारीरिक सक्रियतामा कुनै बाधा पार्न सकेको छ ।

मिस मोटी एण्ड कटन क्यान्डी बाट शुरु भएको कृपाको कमिक बुकको यात्रा मिस मोटी एण्ड दि बिग एप्पल हुँदै मिस मोटी एण्ड हर सर्ट स्टोरिज सम्म आइपुगेको छ । यसबाहेक मिस मोटी का अनेक इलुस्ट्रेसन कोरिएका छन् ।

पढाइ सिध्याएर श्रीमान्सँग बेलायत बसाइँ सरेकी कृपा त्यहाँ पनि चित्रकला र कमिक बुक सम्बन्धी कार्यशालाहरूमा सहभागी हुन थालिन्, तालीमहरू दिइन् । २०१२ डिसेम्बरमा दि गार्डियन पत्रिकाले मिस मोटी चित्रकथाबारे रिपोर्ट छापेपछि कृपाको पात्रको चर्चा बढ्दै गयो ।

कृपाका अनुसार, मिस मोटी ले मोटोपनका कारण जीवनका चाहना नरोक, निराश नहोऊ बरु आफू र आफ्नो शरीरलाई प्रेम गर्दै खुशीखुशी बाँच भन्ने वकालत गर्छ । शरीर हेरेर गरिने जुनसुकै टिप्पणी गलत हो र यो कुरा बाल्यावस्थामै मानिसको दिमागमा घुसाउनुपर्ने उनको आग्रह छ । “हिप्पोलाई आफू मोटो हुनु वा नहुनुसँग वास्ता हुँदैन तर मानिस भने ‘एज फ्याट एज अ हिप्पो’ भन्दै अर्काको खिल्ली उडाउँछ”, उनी भन्छिन् ।

दिन सधैं उस्तै रहेन । छोरी रिया जन्मिएलगत्तै कृपालाई पोष्ट–नाटल डिप्रेसन भयो । सुत्केरी अवस्थामा हुने यो अवसादसँग संघर्ष गर्न कतिसम्म गाह्रो भयो भने उनी डिपार्टमेन्टल स्टोरमा घण्टौं उभिएर पनि एउटै सामान किन्न सक्दिनथिन् । अनिद्रा र झर्कोले पनि उनलाई सताउन थाल्यो । करीब डेढ वर्षको त्यो अवधिमा मस्तिष्कमा मिस मोटी नाचिरह्यो, तर कृपाले न चित्र कोर्न सकिन् न रंग भर्न ।

अवसादकै अवस्थामा सन् २०१५ मा नेपाल आएको बेला आमाछोरीलाई भूकम्पले धक्का दियो । अनि कृपा भूकम्पपीडित बालबालिकालाई आर्ट थेरापी दिने परियोजनामा जुटिन् । त्यहीबीचमा बहिनी प्रियाले ‘मिस मोटी कमिक नगरे पनि त्यही थिममा हरेक हप्ता इलुस्ट्रेसन बनाएर पोष्ट गर्न’ दिएको सल्लाहले उनलाई आँट दियो । नभन्दै सन् २०१६ को ‘न्यू इयर रिजोलुसन’ यही बन्यो ।

कृपाले मिस मोटी को यात्रामा विख्यात व्यक्तिका चर्चित भनाइहरू समेटेकी छन्, ब्रेक्जिट र हेट क्राइम जस्ता सामयिक विश्व राजनीतिलाई पनि उनेकी छन् । उनले आफ्नो फेसबुक, ट्वीटर, इन्स्टाग्राममा ‘मोटिभेसन मन्डे’ शीर्षकमा साप्ताहिक पोष्ट गर्न थालेको दुई महीनापछि काठमाडौंबाट प्रकाशित हुने अंग्रेजी साप्ताहिक नेपाली टाइम्स ले त्यही चित्रकलालाई ‘मिस मोटिभेसन’ स्तम्भका रुपमा स्थान दियो ।

गएको एक वर्षमा कृपाले ‘मोटिभेसन मन्डे’ र ‘मिस मोटिभेसन’ शीर्षकमा ५२ वटा चित्र बनाइन् । परिणाम, भारत र विश्वका अन्य मुलुकका पत्रिका र अनलाइन सञ्चारमाध्यमले उनलाई ‘फिचर’ गर्न थालेका छन् । उनका कमिक बुकको माग बढेको छ । “तर, त्योभन्दा सुन्दर कुरा चाहिं मिस मोटीको चित्र बनाउँदै जाँदा ऊबाट म नै प्रेरणा लिइरहेकी थिएँ, मैले गर्न र भन्न नसकेको कुरा ऊ गरिरहेकी थिई”, कृपाको स्वीकारोक्ति छ, “मिस मोटी मेरै शरीर संघर्षको उपज थियो तर ऊ मभन्दा फरक, साहसी र सकारात्मक छे ।”

आफ्नै पात्रको उत्प्रेरणासँग हिंडिरहेकी कृपाले आफ्ना स्तम्भहरूलाई सन् २०१७ को अन्त्यसम्म जारी राख्ने निधो गरेकी छन् । तिनलाई समेटेर अर्को पुस्तक प्रकाशन गर्ने सोच पनि छ ।

आफ्ना सृजनासँगै कृपा जोशी ।

नारीवादी मिस मोटी

जर्मन दार्शनिक फ्रेडरिक नित्सेले ईश्वरको मृत्युको घोषणासँगै ‘सुपरम्यान’ को कल्पना गरे । तिलस्मी नायक सुपरम्यानको कमिक बुक पनि धेरैअघिबाट पढिंदै आएको छ । कमिक्समा फेन्टम, मेण्ड्रेक, सुपरम्यान जस्ता अनेक नायक छन्, महिलालाई नायक बनाएका कमिक बुक भने छैनन् भन्दा पनि हुन्छ । त्यसकारण पनि मिस मोटी को चर्चा बढाएकोमा कृपा सहमत छिन् । त्यसकारण पनि मिस मोटी नारीवादी भएको टिप्पणी धेरैले गर्छन् । कृपा भने सिरिज थाल्दा त्यतातिर ध्यान नदिए तापनि अहिले मिस मोटी ले नारीवादलाई समेटेकोमा सन्तोष लागेको बताउँछिन् । “कसैले मिस मोटीलाई ‘फेमिनिस्ट आइकन’ ठान्छ भने म खुशी हुन्छु”, उनी भन्छिन्, “समाजमा झैं कमिक बुकमा पनि महिलालाई पुरुषका सहयोगी र सहायक भूमिकामै सीमित पार्नुपर्छ भन्ने छैन ।”

कृपाकी मिस मोटी धेरै हदसम्म पश्चिमा समाजको पात्र जस्ती देखिन्छिन् । भाषा, पोशाक मात्र होइन, हाउभाउ र सोचले उनी दक्षिणएशियालीसम्म पनि लाग्दिनन् । त्यसो त ‘बडी इमेज’ को बहस दक्षिणएशियाली महिलाका मुद्दा बन्नै सकेको छैन । कारण, यहाँ बोक्सी, छाउपडी, दाइजोजस्ता महिला हिंसाका अनेक विषय सम्बोधन हुनै बाँकी छ ।

पछिल्ला वर्षहरूमा कृपा पनि यी विषयमा घोत्लिन थालेकी छन् र मिस मोटी ले आम महिलाका गम्भीर पीडाबारे नबोलेको उनलाई लाग्छ । यसो हुनुमा आफू हुर्केबढेको परिवेश जिम्मेवार भएको महसूस गर्छिन्, उनी । “मिस मोटी ले नै सबै समस्या भन्नुपर्छ भन्ने मलाई लाग्दैन, यसका लागि मैले अरु नै सिर्जना गर्नुपर्ने हुन्छ”, उनी भन्छिन् ।

यतिबेला कृपा बागबजारस्थित घरमा आमासँगै पाँच पुस्ताका जोशीहरूसँग विदा मनाइरहेकी छन् । ७ फागुनमा हुने वाउ (वुमन अफ दि वल्र्ड) काठमाडौं उत्सवमा आफ्नो र मिस मोटी को नियात्रा सुनाउने तयारी गरिरहेकी उनले त्यहाँ विभिन्न खाले हिंसा भोगेका संघर्षशील महिलाका कथा पनि सुन्नेछिन् ।

त्यसो त १६ माघमा पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा ‘शरीरमाथिको राजनीति’ बारे उनको अभिव्यक्ति अझै सेलाइसकेको छैन । एकैपटक यति धेरै प्रतिक्रिया उनलाई पनि खास लागिरहेको छ । फेस्टिभलपछि उनलाई आएका धेरैमध्ये मन छोएको एउटा मेसेज थियो, “तपाईंले फेस्टिभलमा बोल्नुभएको सुनेपछि बुबाले मलाई मोटी भन्न छोड्नुभएको छ ।”

 

बलिया महिलाको लर्को

२९ पुसमा चन्द्रकुमारी जोशीले तीन वर्षीया खनातिनीसँग आफ्नो १०२औं जन्मदिन मनाइन् । चन्द्रकुमारीका लागि शतक लामो जीवन बाँच्नु आफैंमा सुखद् र दुर्लभ संयोग हुँदै हो तर आज देख्ने उपक्रममा उनले गरेको संघर्ष सगरभन्दा कम छैन ।

चन्द्रकुमारी १५ वर्षकै हुँदा पति बिते, जतिबेला उनको काखमा ८ महिने छोरो थियो । छोरो १२ वर्षकै हुँदा भिœयाएकी १० वर्षीया बुहारीलाई पढाउने ‘दुस्साहस’ गरेकी उनी त्यसपछि नातिनातिना हुर्काउनेमा लागिन् । चन्द्रकुमारीका छोरा बलराम जोशी भौतिकशास्त्रमा नेपालका पहिलो विद्यावारिधि बन्दा बुहारी अंगुरबाबा जोशीले बेलायतबाट कानूनमा स्नातकोत्तर सिध्याइन् । २०१० सालदेखि १२ वर्षसम्म पद्मकन्या क्याम्पस प्रमुख रहेकी अंगुरबाबा जोशी महिला सशक्तीकरण र समाजसेवाको क्षेत्रमा पछिसम्म सम्झिइने नाम हो ।

अंगुरबाबाकी बुहारी रुपा जोशी पनि महिला अधिकारको क्षेत्रमा सुनिने नाम हो । उनैकी छोरी कृपा चन्द्रकुमारीकी पनातिनी हुन् । कृपाकी बहिनी प्रिया पनि मेकर केटी संस्थामार्फत महिलालाई आत्मनिर्भर बनाउने प्रयत्नमा छिन् ।

कृपा जोशीले बनाएका 'मिस मोटी'का चित्रहरु:

प्रतिकृया दिनुहोस