हत्केलामा ज्यान
कालीगण्डकी नदी तीरैतिर भएर नागबेलीझैं उत्तरतिर लाग्ने बेनी–जोमसोम सडकमा यातायातका साधनको लस्कर देखिन्छ। मुस्ताङको प्राकृतिक दृश्यावलोकन तथा मुक्तिनाथको दर्शन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो हुन्छ। तर ठाउँठाउँमा गइरहेको पहिरोले ७५ किलोमीटर लामो यो सडकलाई जोखिमपूर्ण बनाएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्यांक अनुसार सन् २०१६ मा मात्रै ३९ हजारभन्दा बढी विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। म्याग्दी सदरमुकाम बेनीसम्म कालोपत्रे गरिएको छ। त्योभन्दा उत्तरतिर कच्ची धुलौटे सडकमै यात्रा गर्नुपर्छ।
अधिकांश पर्यटक बेनी–जोमसोम सडक भएर आउने गरेको बताउँदै मुस्ताङको घाँसाका पर्यटन व्यवसायी विक्रम गौचन भन्छन्, “बाटोभरि धूलो, धुवाँले हिंडिनसक्नु हुन्छ।” सडक बनेपछि ठाउँठाउँमा गइरहेको पहिरोले झ्न् जोखिम बढाएको गौचन बताउँछन्। उनी भन्छन्, “बर्खामा पहिरो गइरहन्छ, अरू बेला पनि ढुङ्गा झ्रेकै हुन्छन्।”
पहिरोको त्रास
अर्को बाटो भएर मुस्ताङ पुग्न मनाङको ५ हजार ४०० मिटर उँचाइको थोराङ भञ्ज्याङ पार गर्नुपर्र्छ। थोराङ भञ्ज्याङ भएर मुस्ताङ पुग्न कठिन हुने गरेको स्थानीय बासिन्दा बताउँछन्। जसले गर्दा स्थानीय बासिन्दा पनि बेनी–जोमसोम सडक नै प्रयोग गर्छन्। यो पुरानो बाटो पनि हो। ७० वर्ष अघिसम्म मध्यपहाडी क्षेत्रका बासिन्दा नूनको लागि भोटसम्म पुग्न कालीगण्डकी तीरैतीरको यही बाटो हिंड्थे।
मुस्ताङको दामोदर कुण्डबाट शुरू भएको कालीगण्डकी नदीसँगै किनारै किनार बाटो पनि बन्यो। म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासीहुँदै देवघाट पुगेर नारायणीमा मिसिने कालीगण्डकी किनारको त्यही बाटो अहिले चीन–भारत जोड्ने सडक बन्न पुगेको छ।
कालीगण्डकी करिडोर सडक आयोजना अन्तर्गत अहिले चीन जोड्ने कोरला नाकादेखि नवलपरासीको गैंडाकोटसम्म ४३५ किमी खण्ड निर्माणाधीन छ। कोरला नाकादेखि पोखरासम्मको दूरी १७६ किमी मात्रै रहेको सडक आयोजनाका प्रमुख इन्जिनियर नरेन्द्र सुवेदी बताउँछन्। नेपाल र चीन जोड्ने तातोपानी, केरुङलगायत नाकाहरूभन्दा छोटो र भौगोलिक हिसाबले समेत कोरला नाका उपयुक्त मानिन्छ।
बेनी–जोमसोम सडकमा यात्रा गर्दा कालीगण्डकीको कटान र पहिरो झ्रिरहेको देखिन्छ। नाङ्गा डाँडाहरूमा बोटबिरुवा देखिंदैनन्। नदी कटान र पहिरोले यात्रा गर्नै गाह्रो भएको मुस्ताङ जाँदै गरेका पोखराका भोजबहादुर गुरुङ बताउँछन्। उनी भन्छन्, “मुस्ताङ पुग्न यात्राभरि हत्केलामा ज्यान राखेर हिंड्नु पर्दोरहेछ।”
सडक निर्माणका कारण पहिरो गएको स्थानीय बासिन्दा गुनासो गर्छन्। सडकको किनारमा पनि पर्खाल लगाइएको छैन। म्याग्दीको राम्चे, बेग तथा मुस्ताङको लेतेलगायतका ठाउँमा पहिरोले बनाएको भीरका कारण गाडीबाटै ओेर्लिनुपर्ने अवस्था छ। कालीगण्डकी सडक करिडोर आयोजना बेनी–जोमसोम खण्डका प्रमुख नरेन्द्र सुवेदी सडकको स्तरोन्नति गर्दा नाली र पर्खाल निर्माण गरिने बताउँछन्।
टहरामा पीडित
राम्चे–९ पुरानो बैंसरीमा चार परिवार पहिरोमाथि नै टहरा बनाएर बसेका छन्। किराना तथा चियापसल चलाएर बसेका उनीहरू पहिरोले गाउँ नै तल झ्ारिदिएको बताउँछन्। ९ जेठ, २०७२ मा कालीगण्डकी नदी नै थुनिने गरी गएको पहिरोले यहाँका २६ घर बगाएको थियो। १२ वैशाख, २०७२ को भूकम्पपछि पुरानो बैंसरीमा र्झ्न थालेको पहिरो अझ्ै रोकिएको छैन।
“ढुक्क हुने अवस्था छैन” स्थानीय राधा पुर्जा भन्छिन्। भूकम्पपछि स्थानीय प्रशासनको आग्रहमा उनीहरूले गाउँ छाडेका थिए। पहिरो गएको ठाउँमा चिरा–चिरा परेकोले कतिबेला पहिरो जाने हो भन्ने त्रास रहेको पुर्जा बताउँछिन्।
पहिरो पीडित ६ परिवार नयाँ बैंसरीमा टहरा बनाएर बसेका छन्। प्रशासनले सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएपछि अप्ठ्यारोमा परेको अर्की स्थानीय बासिन्दा थर्मती गर्बुजा गुनासो गर्छिन्। “दुई/चार वर्ष बस्न दिए त हुन्थ्यो। यो ठाउँ छोडेर कहाँ जानु?” गर्बुजा भन्छिन्।
त्यस्तै १७ भदौमा आएको बाढीले बेग–६ का प्रसाद सिञ्जालीलाई बगायो। बाढी आएको खबर गरेर गाउँलेलाई जोगाए पनि घरभित्रबाट नागरिकता लिन खोज्दा उनी बगेको स्थानीय बासिन्दा बताउँछन्। बाढीले ११ घर, झ्ोलुङ्गे पुल र बिजुलीका पोल बगाएको थियो। अझै पनि पुनःनिर्माण नहुँदा समस्या भएको पीडितहरू बताउँछन्।
युवराज श्रेष्ठ, मुस्ताङबाट फर्केर