कर्णालीमा ज्यानै जाने कुपोषण
फोतु–५ मुगुका कुपोषणग्रस्त पवन नेपाली (५) लाई धामीझाँक्रीले बचाउन सक्ने कुरै थिएन, सकेनन् । गएको १८ मंसीरमा उनको ज्यान गयो ।
-प्रकाश सिंह
फोतु पुग्न जिल्ला सदरमुकाम गमगढीबाट दुई दिन हिंड्नुपर्छ । एक वर्षदेखि थला परेका पवनलाई उनका बाबु जग्गे नेपालीले गाउँका धामीझँक्रीदेखि विभिन्न देवदेवीका थानसम्म लगेर बोका, कुखुराको बलिसहित पूजा गरेका थिए ।
केही नलागेपछि अन्तिम अवस्थामा हुम्लाको तुम्चस्थित फेज नेपालको स्वास्थ्य क्लिनिकमा पुर्याउँदा पवनलाई कुपोषण भएको थाहा पाएको नेपालीले बताए । “तर छोरालाई बचाउन सकिनँ”, उनले भने ।
त्यस्तै, सिपखाना–६ कालीकोटकी सुशीला योगीलाई बाबुआमाले १४ महीनाभन्दा बढी बचाउन सकेनन् । कुपोषणले सताइएकी उनी सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा लैजाँदै गर्दा १ मंसीरमा बाटोमै बितेको आफन्त नौलाराज योगीले बताए ।
धौलागोह–३ कालीकोटकी सीता विकको १९ महीनाको छोरो कुशलको तौल चार केजी मात्र छ । सुकेर हाडछाला भएका कुशललाई पुस पहिलो साता स्वास्थ्य चौकी पुर्याउँदा कुपोषणले सताएको थाहा भयो ।
कालीकोटकै रकु–४ की शुक्ला सुवेदीका छोरा र छोरी कुपोषणबाट यति ग्रसित कि उनीहरू खान समेत नसक्ने अवस्थामा छन् । पोषणको अभाव र धामीझँक्रीको झरफुकले उनीहरूलाई जीवनमरणको दोसाँधमा पुर्याएको छ ।
रोडिकोट–३ हुम्लाकी धन रोकायाको सात महीनाको छोरा अँखेको स्वास्थ्य भने केही समय जिल्ला अस्पतालमा राखेपछि सुधार हुँदै गएको छ । आफ्नो पहिलो सन्तानलाई पनि यस्तै चाम्रेरोग (कुपोषण) ले लगेको रोकायाले बताइन् ।
भयावह स्थिति
कर्णालीका गाउँहरूमा कुपोषित बालबालिका नभएको घर भेट्टाउन मुश्किल छ । कर्णालीका सबै (हुम्ला, मुगु, डोल्पा, कालीकोट र जुम्ला) जिल्ला जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांक र अन्य सर्वेक्षणहरूले पनि अधिकांश बालबालिका कुपोषणको शिकार भएको पुष्टि गरेका छन् । सन् २०२५ सम्ममा देशमा कुपोषणको दर शून्यमा झार्ने पोषण सम्बन्धी राष्ट्रिय लक्ष्यमा कर्णालीको अवस्था ठूलो चुनौती बनेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी नरेशबाबु श्रेष्ठ हुम्लामा कुपोषणको दर निकै डरलाग्दो रहेको बताउँछन् । उनका अनुसार, हुम्लामा उमेर अनुसारको उँचाइ नभएका बालबालिका ६४ प्रतिशत छन् भने ७० प्रतिशतभन्दा बढी ख्याउटेपनबाट ग्रसित । त्यस्तै, कालीकोट जिल्लाका ५४.५७ प्रतिशत बालबालिका कुपोषित भएको पछिल्ला सर्भेहरूले देखाएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका पोषण अधिकृत कटक महतले कालीकोटका ५,४४५ बालबालिकामा पोषण परीक्षण गर्दा ३,०२६ जना (५४.५७ प्रतिशत) मा कुपोषण देखिएको बताए । “परीक्षण गरिएकामध्ये १,९२२ बालबालिकामा गम्भीर प्रकारको (रातो) कुपोषण पाइयो भने १,१०४ जनामा मध्यम (पहेंलो) खालको” महत भन्छन्, “यो जिल्लामा कुपोषण भएकामध्ये हरेक वर्ष ६ प्रतिशतको मृत्यु हुने गरेको छ ।”
उता, मुगु जिल्ला जनस्वास्थ्य कार्यालयले ‘स्क्रिनिङ्ग’ गरेका २,६०९ मध्ये १,०१५ बालबालिकामा कुपोषण देखिएको छ । तीमध्ये २९९ जनामा गम्भीर (रातो) र ७१६ जनालाई (पहेंलो) प्रकारको कुपोषण देखिएको कार्यालयले जनाएको छ ।
मुगुको भिई र शोरु भेगका बालबालिका बढी कुपोषित छन् । जुम्लाको अवस्था पनि उस्तै छ । जिल्ला जनस्वास्थ्य कार्यालयले ६ गाविसमा गरेको पछिल्लो ‘स्क्रिनिङ्ग’ मा ४८.७९ प्रतिशत बालबालिका कुपोषित देखिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. वैद्यनाथ झका अनुसार, तीमध्ये ४१४ जनामा रातो र २०१ जनामा पहेंलो प्रकारको कुपोषण देखिएको छ ।
कर्णालीसँगै जोडिएको बाजुरा जिल्लामा पनि धेरै बालबालिका कुपोषणको चपेटामा छन् । खाद्यान्न अभाव, भौगोलिक विकटता, गरीबी, स्वास्थ्यको शून्य पहुँच, हेरचाहको अभावलगायतका कारणले कुपोषण व्यापक भएको छ ।
खासगरेर उत्तरी बाजुराका महिलाले गर्भवती र सुत्केरी अवस्थामा पनि सन्तुलित खाना र उचित स्याहार पाउँदैनन् । जिल्लामा ४७ प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित भएको बताउँदै जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादव भन्छन्, “वास्तवमा स्थिति भयावह छ ।”
एकछाके सुत्केरी
तीन वर्ष यताको खडेरीका कारण कर्णालीमा खाद्यान्नको जोहो निकै मुश्किलको कुरा भएको छ । बालबालिकामा कुपोषणको मुख्य कारण यही भएको छ ।
बिहान बेलुका छाक टार्नु नै हम्मे भएपछि पोषिलो खानाको कुरै हराएको छ । स्याँडा–१ हुम्लाकी देवकी शाहीले रोटी र भात पनि भरपेट नपाएपछि सबैका बालबालिका खिनौटे भएको बताइन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय, हुम्लाकी निमित्त प्रमुख डा. स्मृति महत सरकारले दिने अनुदानको चामल र दालले पोषणको काम नगर्ने बताउँछिन् ।
पोषिलो हुने स्थानीय खाद्यान्नको उत्पादन नै घट्नु, हरियो तरकारी नखाने चलन र बालबालिकालाई सरकारी चामलको भात खुवाउने बानीले जिल्लामा कुपोषणको दर निकै डरलाग्दो भएको उनको अनुभव छ । डा. महत भन्छिन्, “त्यसमाथि, यस भेकका मानिसले आयोडिनयुक्त नून पनि खान पाउँदैनन् ।”
गर्भवती भएको आठौं महीनामा स्वास्थ्य चौकी पुगेकी उत्तरी हुम्लाको अति दुर्गम मैला गाविसकी कलावती बिष्ट (२६) लाई स्वास्थ्यकर्मीले कुपोषण भएको बताए । त्यसको एक मात्र सीधा कारण थियो– उनी महीनौंबाट एकछाके बस्नु ।
खडेरीले खाद्यान्न अभाव भएपछि यस क्षेत्रका गर्भवती र सुत्केरीले समेत दुई छाक पेटभरि खान पाएका छैनन् । बिष्टकै गाउँकी लालमती नेपालीले सुत्केरीमा पनि पेटभरि खान पाएकी छैनन् । उनले कोल्टीबाट ल्याएको सरकारी चामल पु¥याएर एक छाक मात्र खाने गरेको बताइन् ।
हुम्लाका २७ गाविसमा अहिले १,४०० जना गर्भवती र सुत्केरी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमान छ । ती सबैको प्राण खाद्य संस्थानको कमसल चामलबाट धानिएको छ, जसमा पोषण खोज्नुको कुनै अर्थ छैन । त्यही चामल पनि पुर्याएर खानुपर्ने अवस्था छ ।
यो अवस्थामा कुपोषण फैलनु कुनै अनौठो नभएको हुम्ला जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठ बताउँछन् । उनी भन्छन्, “गर्भवती र सुत्केरी नै कुपोषित बनेपछि तिनका बालबालिकाको स्वास्थ्य कसरी राम्रो खोज्ने ?”
बाजुरामा उपचार शुरू
बाजुरामा पहिलो पटक मार्तडी, टाँटे, डोगडी, कोल्टी, रुगिन र गोत्री गाविसका स्वास्थ्य संस्थामा कुपोषणको उपचार शुरू भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख मोहन नाथका अनुसार, ती स्वास्थ्य संस्थामा गम्भीर रूपमा कुपोषित २२६ जना बालबालिकालाई स्वास्थ्यकर्मीको निगरानीमा २२ दिनसम्म उपचार गरिएको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।
यो कार्यक्रमलाई सहयोग गरिरहेको गैरसरकारी संस्था ‘इन्टिग्रेटेड रुरल हेल्थ डेभलपमेन्ट ट्रेनिङ सेन्टर, नेपाल’ की पोषण अधिकृत कविता शाह कुपोषित बालबच्चालाई एन्टिवायोटिक्स, भिटामिन र पोषिलो लिटो दिएर तन्दुरुस्त पार्ने गरिएको बताउँछिन् ।