टिप्पणीशनिवार, माघ २२, २०७३

वैरोचनको पुनर्जन्म !

वसन्त महर्जन

१२औं शताब्दीका आचार्य वैरोचनको पुनर्जन्म अहिले भूटानमा भएको बौद्धमार्गीहरूको विश्वास छ।

भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङ्चुकका तीन वर्षीय भान्जा ट्रयुयक वाङ्चुकले पूर्वजन्ममा आफू नालन्दा विश्वविद्यालयको विद्यार्थी तथा प्राध्यापक वैरोचन भएको बताएका छन्। उनको भनाइ गैर–बौद्धहरूका लागि अपत्यारिलो भए पनि बौद्ध संसारमा अनौठो होइन। 

पूर्वजन्म र पुनर्जन्मको अवधारणा बौद्ध धर्म–दर्शनको आधारभूत मान्यताभित्र पर्छ। बौद्ध धर्म–दर्शनको सार हो– सबै जीव कर्मअनुसार जन्म–मृत्युको भवचक्रमा घुमिरहन्छ र त्यो नै संसारको दुःख हो।

बुद्ध वचन नै छ– संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य गर्न सकिन्छ र आर्य अष्टाङ्गिक मार्गको अनुसरणबाट दुःखको अन्त्य हुन्छ। भवचक्ररूपी दुःखको अन्त्य नै बुद्ध शिक्षाको प्रमुख र एक मात्र लक्ष्य हो। प्रतीत्यसमुत्पाद दर्शनमा भवचक्रको विस्तृत व्याख्या छ।

आफूमा निहित क्लेशहरूको अन्त्य गरी जन्म–मृत्युको चक्रलाई नष्ट गर्ने अर्हत्व प्राप्त अर्हतहरूलाई पूर्वजन्मबारे थाहा हुन्छ। अर्हत हुने क्षमता भए पनि त्यतातिर नगई (स्थगत गरी) अरू प्राणीलाई पनि दुःखबाट मुक्त पार्न समर्पित भएका बोधिसत्वहरू अनेकौं जन्म लिएर विभिन्न पारमिताहरू पूरा गर्दै साधना गर्छन् र अन्ततः गौतम बुद्ध (ई.पू. ५६३–४८३) जस्तै 'सम्यक्सम्बुद्ध' हुन्छन्।

सम्यक्सम्बुद्धले अरूको पनि पूर्वजन्महरू देख्न सक्छन्। बौद्ध साहित्यमा संग्रहित जातक कथाहरू आफू र अरूका पूर्वजन्मका घटना विवरण हुन्।

त्रिपिटिक अन्तर्गतकै बुद्ध वंशलगायतका ग्रन्थहरू पनि पूर्वजन्म र पुनर्जन्मको सविस्तार वर्णन हुन्। पुनर्जन्मलाई कतै 'अवतार' पनि भनेको पाइन्छ, तर अवतार शब्दले ग्रहण गर्ने बृहत् अर्थसँग यो लेख सम्बन्धित नभएकोले यहाँ पुनर्जन्म शब्द नै प्रयोग गरिएको हो।

तिब्बती बौद्ध समाजमा प्रचलित दलाइ लामा, पञ्चेन लामा, टुल्कु आदि पूर्वजन्म–पुनर्जन्मकै अवधारणाअनुसार हुन्। यिनीहरू बोधिसत्व (भविष्यका बुद्ध) हुन् र सत्व (प्राणी) को कल्याणमा प्रयत्नशील छन्। उनीहरू पुण्यबलका आधारमा कुन योनिमा पुनर्जन्म लिने भन्ने निर्णय आफैं गर्न पनि सक्छन्।

नाबालक ट्रयुयक वाङ्चुकको भनाइबाट बौद्धहरू मृत्युपछि अन्य योनिहरूमा जन्म लिएका आचार्य वैरोचन अहिले मानव हुन आएको बुझ्छन्।

तिब्बती बौद्ध समाजमा 'टुल्कु' र अन्यत्र 'अवतारी लामा' भनेर चिनाइने पुनर्जन्म पाएका लामाहरूलाई गुम्बाको उच्चासनमा राखिन्छ। ट्रयुयक वाङ्चुकलाई पनि टुल्कु भन्न सकिन्छ।

पूर्वजन्म हुन्छ भने सबैलाई त्यसको सम्झना किन हुन्न त? यो प्रश्नको उत्तर व्यक्तिविशेषको क्षमतामा निर्भर हुन्छ, अर्थात् बिहानको कुरा बेलुका वा अहिलेको कुरा अहिल्यै बिर्सनेले पूर्वजन्मको सम्झन नसक्नु स्वाभाविक हो। असाधारण क्षमता नभएकाहरूका लागि विस्मृतिलाई श्रेयस्कर नै मानिन्छ पनि।

आधुनिक मनोविज्ञान क्षेत्रका अध्येता–अनुसन्धाताहरू बौद्ध दर्शनमा वर्णित चित्त (विज्ञान, मन) सम्बन्धी चर्चा देखेर चकित हुन्छन्। आधुनिक मनोविज्ञानले हालसालै ठम्याएका मनसम्बन्धी कतिपय कुरा २५ सय वर्षअघि बुद्धले बताइसकेको थाहा पाएर अध्येताहरू बौद्ध धर्म दर्शनमा विशेषतः मनसम्बन्धी अध्ययनमा आकर्षित भएका पाइन्छन्। यस अर्थमा, आधुनिक विज्ञानलाई मात्र कसी बनाएर निकालिएको निष्कर्ष सत्य नहुन पनि सक्छ।

तिब्बती बौद्ध धर्ममा दुई वैरोचन प्रसिद्ध छन्– अध्ययनका लागि आठौं शताब्दीमा भारत पठाइएका सात नवयुवकमध्ये एक वैरोचन र ८२४ वर्षपछि पुनर्जन्म भएको भनिएको नालन्दा विश्वविद्यालयका १२औं शताब्दीका विद्यार्थी तथा प्राध्यापक वैरोचन।

मुसलमान आक्रमणबाट नालन्दा विश्वविद्यालय ध्वस्त भएपछि तिब्बत गएका भारतीय आचार्य वैरोचनले संस्कृत भाषाका बौद्ध ग्रन्थहरूलाई तिब्बतीमा अनुवाद गरेका थिए।

ट्रयुयक वाङ्चुकलाई यही जनवरीको पहिलो साता भारतको नालन्दा, बोधगया, नागार्जुनकोण्डा आदि बौद्ध तीर्थस्थलहरूको भ्रमण गराइएको थियो। त्यसबेला उनले नालन्दा विश्वविद्यालयको भग्नावशेषमा आफूसँग सम्बन्धित ठाउँहरू चिनाए।

उनले भग्नावशेषमा आफू बस्ने कोठा रहेको ठाउँ देखाए, विश्वविद्यालयको भोजनगृह चिनाए। यसअघि पुरातत्वविद्हरूले भोजनगृहको रूपमा पहिचान गरिएकै ठाउँलाई उनले पनि त्यही भनेर देखाएका हुन्।

तात्कालिक नालन्दा विश्वविद्यालय कस्तो थियो र त्यहाँ के–के भयो भन्ने प्रश्नहरूको उत्तर त्यस बेलाका ऐतिहासिक लेखोटहरूमा पनि छन्। पूर्वजन्मको कुरा गर्ने ट्रयुयक वाङ्चुकलाई सुविचारित प्रश्नहरू गर्दै उनले दिने उत्तरको आधारमा अध्ययन गर्दा नयाँ कुराहरू थाहा पाउन सकिन्थ्यो।

भारतमा मुसलमान आक्रमण र नालन्दा विश्वविद्यालयको विध्वंशबारे पनि सोध्न सकिन्थ्यो तर त्यो मौका गुमेको छ, बाल्यकालमा पूर्वजन्मको कुरा गर्नेहरू हुर्कंदै जाँदा केही नबोल्ने पनि हुने भएकोले।

प्रतिकृया दिनुहोस