दस्तावेजशनिवार, माघ २२, २०७३

पृथ्वीनारायणको रणनीति

ज्ञानमणि नेपाल

कलह–कचिङ्गल र अशान्तिका कारण पनि पृथ्वीनारायण शाहले तीन शहरका जनताको साथ पाए।

भारत सुन फल्ने देश हो, त्यहाँको बेपार अत्यन्त फलिफाप हुन्छ भन्दै यूरोपीय व्यापारीहरू हौसिएर ओहोरदोहोर गर्न लागेका थिए। पन्धौं सोह्रौं शताब्दीदेखि डच, पोर्चुगिज, फ्रेन्चहरूले भारतका अनेक बन्दरगाह कब्जा गरेर ठूलाठूला शहर हुँदो कोठी खोलेर बेपारको राम्रो चहलपहल चलाउन लागेका थिए। 

यी यूरोपीयले बेपारबाट असिम लाभ लिएको देखेर लोभिएका अंग्रेजहरूले पनि वि.सं. १६१६ मा इष्ट इण्डिया कम्पनी स्थापना गरेर बेपारी कारोबार दिन दुगुना रात चौगुना बढाउँदै ल्याए।

कम्पनी स्थापना भएको सय वर्षजति पछि सन् १८१४ मा त ब्रिटिशहरूले सबै यूरोपीयलाई माथ गरेर एकलौटी बेपार मात्र चलाएनन्, भारतका बंगाल, विहारको राज्यै लिएर शासन चलाउन लागे। त्यसको सात वर्षपछि दिल्लीका वादशाहलाई कज्याएर उत्तर भारतमा ब्रिटिश कम्पनी शासनको प्रभाव जमाए।

अब विस्तारै एकलौटी भएर ठूलाठूला शहरमा उसकै बेपारी कोठी छ्यापछ्याप्ती स्थापित भए। पादरीहरूले ईसाइ धर्म प्रचार पनि तीव्रताका साथ गर्न लागे। भारतको बेपारबाट धन सोहोरेर लगिरहेकै थिए, अब सम्पन्न नवाफ, राजारजौटाका मात्र होइन, बादशाहको ढुकुटीबाट समेत धन बटुलेर बेलायत पुर्‍याउन लागे।

त्यसवेला भारतका राजारजौटा र नवाफहरू एकापसमा झगडा गरेर आफैं समाप्त हुने होडबाजीमा थिए। आफ्नो स्वार्थ पूरा गर्ने चालबाजीमा केन्द्रित उनीहरू विपक्षी गुहारेर आफन्त मास्न उद्यत हुँदा आफैं सकिन लागेका राज्य संचालक कति हो कति भए।

अघि पनि हिन्दू राजालाई सिध्याउन मुसलमान गुहार्ने काम यस्तै देशद्रोही हिन्दूले गरेका थिए। अहिले पनि नवाफको शासन सत्ता समाप्त पारेर भारतमा ब्रिटिश शासन ल्याउनेमा नवाफ नै भए। जुनसुकै कालमा पनि आफ्नो स्वार्थको लागि देशको स्वतन्त्रता पराइलाई सुम्पन कत्ति नहिचकिचाउने लेण्डुप दोर्जेहरू भइरहन्छन्।

कुटिल कूटनीति जान्ने ब्रिटिश कम्पनीका अधिकारीहरूले साम, दाम, दण्ड, भेदद्वारा राजारजौटा र नवाफहरूलाई मासेर 'जहाँको दुवाली त्यहींको चपरी' गरेर विस्तारै भारतमा आफ्नो प्रभाव जमाई प्रभुशक्ति, जनशक्ति, सम्पत्तिशक्ति आफ्नो पार्दै लगेका बेला नेपाल पनि दुरुस्त त्यस्तै अव्यवस्थित स्थितिमा थियो।

मेची–महाकालीभित्रको अहिलेकै जति क्षेत्रभित्र भुरेटाकुरे गरी ५३ राज्य थिए। तिनैमध्ये एक थियो, १२ हजार घरधुरी भएको सानो गोरखा राज्य।

गोरखामा संघर्षशील वीर, बहादुर, आयुधजीवी (जोधारा) जनता थिए। राजा पनि महत्वाकाङ्क्षी र विजिगीषु प्रकृतिका थिए। राजा राम शाहले यो हिमाली देशभित्रका राजारजौटालाई जितेर चक्रवर्ती सम्राट हुन्छु भन्ने आकाङ्क्षाले त्यही अनुसारको 'गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविधविरुदावली विराजमान मनोन्नत' विरुदावली लिएका थिए, जुन उनको कुल परम्परामै रहँदै आएको थियो।

यही विरुदावली सार्थक पार्ने उद्देश्यले राजा पृथ्वीनारायण शाहले राजगद्दीमा बसेको अर्को साल कान्तिपुर राज्यको इलाका नुवाकोटमा आक्रमण गरी सं. १८०१ मा ककनी स्यूपुरी हुँदै नगरकोटतिर विजय अभियान चलाए।

एकैचोटि हमला गर्दा शहरमा बाल, वृद्ध र असैनिक स्त्रीपुरुष पनि अकारण मर्न पुग्छन्, गाउँशहरमा उद्वेजन पैदा हुन्छ भनेर उनले स्थानीय जनतासँग युद्ध नगरी विस्तारै आफ्नो अनुकूल बनाएर राज्य हात लिने रणनीति बनाएका थिए। त्यस सम्बन्धमा एक किंवदन्ती प्रचलित छ–

कुनै युद्धमा गोरखालीको हार र निकै क्षयव्यय भएपछि पृथ्वीनारायण शाह जनमत बुझ्न रूप छिपाएर घुम्न थाले। त्यही क्रममा शत्रु क्षेत्रको एउटा घरमा बास बसेछन्।

पाहुनालाई घरबूढीले जाउलो पकाएर पस्किदिइन्। उनले भोकको सूरमा ठूलो गाँस हालेछन्। तात्तातो जाउलो निल्नु न उकेल्नु भयो। घरमाउले भनिछन्, “यी बाबु त कस्ता पृथ्वीनारायण जस्ता, एकैचोटि ख्वाप्प खाने हो त? छेउछेउबाट अलिअलि खानुपर्छ, सेलाउँदै पनि जान्छ। ती राजा पनि एकै चोटि जित्छु भनेर ठूलो गाउँमा जाइलाग्दा आफ्ना मान्छे पनि मार्छन्, आफू पनि हार्छन्।”

यो कुरा सुनेर पृथ्वीनारायणले आफ्नो रणनीति बदले। घेराबन्दी हालेर, जनतालाई फकाएर, हात लिएर आफ्नातर्फ मिलाउँदै ल्याउन थाले। जितेका ठाउँमा शान्ति स्थापना गरिदिने, लूटपाट हुन नदिने गरेकाले मानिसहरू पनि उनीसँग शुरुशुरु मिल्न जान थाले। पृथ्वीनारायणले ठूलो युद्ध हारेको कीर्तिपुरकै हो।

त्यसवेला सानातिना राजारजौटाहरू आपसमा यति लडभिड गरिरहन्थे कि झगडा नभएको दिनै हुँदैनथ्यो। आर्थिक, राजनीतिक, सामाजिक सबैमा सानो कुरा बिरियो कि रडाको मच्चिजान्थ्यो।

कान्तिपुर राज्य सबभन्दा सम्पन्न थियो। भोट बेपार पहिल्यैदेखि उसका हातमा थियो। कुती र केरुङ दुवै नाका कान्तिपुरकै अधीन थिए। ललितपुर र भक्तपुर पनि एकै बिरादरीका राज्य भए पनि कहिल्यै मेल नहुने।

कान्तिपुरलाई नरिझाई कसैले बेपार गर्न छिरिक्क नपाउने। विना बुझे कसैले मालसामान ल्याउन–लान थाल्यो भने कान्तिपुरले लुटिहाल्ने। अरू त के आर्यघाटमा लास ल्याउनसम्म पाइँदैनथ्यो, पशुपतिको दर्शन खुल्ला थिएन।

मनमुटाव भएका बेला खेतबारीमा लगाएको बाली लुटिन्थ्यो। देवताको दर्शन गर्नसम्म पाइन्नथ्यो। पशुपतिमा सद्बिउ छर्न आएका भक्तपुरेहरूलाई कान्तिपुरले ठिंगुरामा ठोकेर डल्याउँथ्यो। भक्तपुरेले बिस्केट जात्रामा आउँदा कान्तिपुरेलाई ठिंगुर्‍याउँथ्यो।

हिंड्डुल गर्न पनि गाह्रो थियो। बिहे गरेर बेहुली ल्याउन, मैतालु भित्र्याउन पनि सकस थियो। बिहे गर्न खुकुरी भिरेका सय–छबीस जोधाजन्ती लिएर जानुपर्थ्यो। सबैतिर सदाकाल त्राहि–त्राहि परिरहन्थ्यो।

उसबेला पहाड पर्वतका राज्यहरूमा पनि कलह त थियो, तर त्यताभन्दा तीन शहरमा बढी झै झगडा हुन्थ्यो। अरूको त के कुरा, राजारानी, युवराज, काजी, सरदार, प्रधान समेत मारिने, निकालिने बराबर भइरहन्थ्यो। यसरी त्रासको वातावरण फैलिएको थियो।

यस्तो परिस्थितिमा जनता सबैको मनले कोही तारणहार त हरदम खोजिरहेकै थियो। यस्तै वेला शान्ति सुव्यवस्था दिन्छु, लूटपाट, अत्याचार हुन दिन्न भनेर कोही अघि आउँछ, गरेर देखाउँछ भने जनता उसलाई साथकिन दिंदैनथे, उसका पछि किन लाग्दैनथे?

राज्यबाट खाईपाई आएका बाहेक सबै जनता एकोहोरिएर पृथ्वीनारायणको पछि लागेको प्रष्टै छ। जनताले उनको अभियानमा सक्दो सहयोग गरे। अहिलेको परिस्थिति हेरेर आफ्नो अनुकूलको मूल्यांकन गर्दै यो एकीकरण होइन भन्दै निन्दा गर्नु कति नयाँ नेता या विश्लेषक हौं भन्नेहरूलाई सजिलो भएको त होला, तर त्यसवेला पृथ्वीनारायण राजनेता ननिस्किएको भए निश्चय नै नेपाल राज्य रहने थिएन।

त्यसैवेला 'अहो अब रहेन नेपाल' भनेर चिन्तित हुँदै उदयानन्द महाकविले लेखेका पनि थिए–

नेपाल् पाटन भादगाउँ भनि ता सल् हुन्छ आपस्महाँ

नेपाल् मुद्दत भो र कान्तिपुर भो नेपाल बुझन्यातहाँ

बात्का सङ्गत रंग छन् डरिसबै हा हा त गर्छन् जहाँ

आफ्ना देशि टुटाई देशि मुखिया छन् सक्नु विस्तार कहाँ

पशुपति तीर्थ जान खुला गराउने उद्घोष

पशुपति शिवजीको दर्शन् खुला गराऊँ

छली कपटि ति भोटचा मारि काबु धराऊँ

ललितपतनमाहा भूप ठर्रा भराऊँ

अबर नृपति मर्नन् धर्मपत्रै गराऊँ

पाटनका राजाको स्थिति

श्रीविश्वजित मल्ल कटारिमा पर्‍या

श्रीरञ्जितै मल्ल त छल हुदा सर्‍या

श्रीतेजनसिंह त काबुमा पर्‍या

जयप्रकाश पाटनमूर्ति हुन् गर्‍या

एकीकरण अघिको स्थिति

युवराजको मरण

भोजन भै सकियो र वीरनरसिं मरोस भन्या सफ् बनी

रगतले मुछ्याका झिक्या औषधी खुप

जहाँ वीरनर्सिं थिया ताहि गै धुप

दिया एक्घरीमा भया क्वै त वैरुप

टुना गर् ति आपस्महा भैगया चुप

राजा मार्ने जाल

राजा रञ्जितलाई मारन भनी तमौलिका सङ पनी

धेरै धन् भरि पानका सँगमहाँ विष् हालिं देहै भनी

सल्लामा त तमौलि बाहिक रह्यो खायो मुफत् धन् पनी

बाहालले विष हालि पान त दिया खाया मर्‍यानन् भनी

वीर्नसिंह थियो र शान्त गतिको साझा छ मारौं भनी

मार्‍या ठिक्क प्रयोगले दिन गनी

अवर् क्यै मर्‍या खाइ पेडा जहर्ली

सँगै वर् मर्‍या डोरि पासा नहली

महीषी र साहेव इनार वास गर्न्या

हिरा ख्वाई स्वैं काजिको प्राणहर्न्या।

लुट्छन् चार् वर शब्द रोदन सधै मार्छन् कुकुर झैं गरी

माइत् जान भन्या हिडया जब बधू तब् पक्रिया वाटमा

कुत्तै झ्ाञि भन्या र साथिसँगमा हुर्मत् लिन्या हाटमा

कैराति सल सात कोसितकका लुट्छन् ति घाट्घाट्मा

रैयत् गैरहका विपक्ष जन सब् रुन्छन् ति बाट्बाटमा।।

प्रतिकृया दिनुहोस