कत्थक सांगीतिक कार्यक्रम आयोजना हुँदै
जयश्री संगीत समाजले २८ माघमा ‘कत्थक रिदमस् एण्ड एक्सप्रेसन्स’ सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
भारतीय नृत्याङ्गना शिखा खरेको मुख्य प्रस्तुति रहने सांगीतिक कार्यक्रममा नेपालका तबलावादक रबिनलाल श्रेष्ठले साथ दिनेछन् । नृत्याङ्गना खारेसँगको समूहगत प्रस्तुतिमा भने ललितपुरको नृत्य आँगनका कलाकारको सहभागिता रहने समाजका सभापति लक्ष्मीप्रसाद डंगोलले जानकारी दिए ।
हरेक वर्ष फरक विधाको कार्यक्रम गर्ने योजना अनुरुप यो वर्ष कत्थक नाचलाई स्थान दिईएको २१ माघमा ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा समाजका संरक्षक तबलावादक श्रेष्ठले बताए । कार्यक्रम गुरु र शिष्यको सम्बन्धमाथि केन्द्रित रहने नृत्याङ्गना खरे बताउँछिन् ।
नेपालमा आएर आफ्नो प्रस्तुति देखाउन पाउँदा खुसी लागेको उनले बताइन् । शास्त्रीय संगीत प्रबद्र्धन गर्न २०६८ मा समाजको स्थापना गरिएको हो । समाजले यसअघि भारतका बाँसुरी वादक पं.हरिप्रसाद चौरासियाको सांगीतिक कार्यक्रम, भुटानी गायक मधुकर लोहनीको एकल सांगीतिक साँझ, सितार वादन, सरोद वादन, विविध शास्त्रीय संगीत, क्लासिकल कन्सर्ट लगायतका कार्यक्रम आयोजना गरेको थियो ।
“अहिलेसम्म गरिएका कार्यक्रमबाट उत्साहित भएका छौं” सभापति श्रेष्ठ भन्छन्, “आउने कार्यक्रमले थप उत्साह दिनेछ ।” अहिलेसम्म गरिएका कार्यक्रममा बिक्री भएको टिकटबाटै कार्यक्रमको खर्च व्यवस्थापन भएको उनी बताउँछन् । ‘कत्थक रिदमस् एण्ड एक्सप्रेसन्स’ कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुनेछ ।