बिहाबारीको नयाँ जुइनो
केही दशक अघिसम्म अपवादको रूपमा देखिने पहाडे–मधेशी वैवाहिक सम्बन्ध अहिले सामान्य कुरा हुन लागेको छ।
- गोपाल गड्तौला, झापा
गत ४ माघमा भएको राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम र पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेकको बिहेबाट विशेष आनन्दित हुनेमा उर्लावारी–४ का विजयकुमार गुप्ता (५८) पनि एक हुन्।
“म यही सोच्छु कि यो बिहेले पहाड–मधेश सम्बन्धलाई भित्रैदेखि खँदिलो बनाउन मद्दत गर्ला” मधुमल्ला–२ को भगवती उमाविका प्राचार्य रहेका गुप्ताले भने, “पहाडेको ज्वाईं भएकोले मलाई यो पछिल्लो बिहेबाट विशेष सन्तोष मिलेको छ।”
पुर्ख्यौली घर सिरहाको पिपरा भएका र २०३० सालमा एसएलसी गरेका गुप्ता २०३७ मा शिक्षक भएर दक्षिणी इलामको बाँझो गाविसमा पर्ने शिखरकटेरी पुगेका थिए।
मांस–मदिरा नभई नहुने किरातबहुल बाँझोमा शाकाहारी उनलाई खानपानमा निकै सकस पर्यो। त्यही क्रममा उनी बाँझो–२ को शाकाहारी भण्डारी परिवारको सम्पर्कमा पुगे।
त्यहाँ रहँदाबस्दा परिवारकी कान्छी छोरी रूपासँग उनको माया बस्यो। “पुराना जमानाका भए पनि ससुराबा कति 'लिवरल' भने दुवैको इच्छा बुझेपछि विवाहको स्वीकृति दिनुभयो”, प्राचार्य गुप्ता सम्झ्न्छन्, “शर्त एउटै थियो― पहाडेकी छोरी भनेर पछि हेलाँ गर्न पाइन्न।”
अनि सिरहाको पिपराबाट आएका जन्तीलाई २५ मंसीर २०३९ मा शिखरकटेरीका श्रृंगदास भण्डारीले आफ्नो आँगनमा स्वागत गरे। त्यसरी विजयकुमार गुप्ता र रूपा भण्डारीको भव्य मागी बिहे सम्पन्न भयो।
उनीहरूकी छोरी शोभाको पनि दुई वर्षअघि झापा धुलाबारीका थपलिया युवकसँग मागी बिहे भयो। छोरा सुशीलले क्षेत्री परिवारलाई ससुराली बनाउँदैछन्।
“म दशैंमा टीका थाप्न पहाडेको घरमा जान्छु, मेरा ज्वाईं मधेशीकोमा आउनुहुन्छ”, प्राचार्य गुप्ता भन्छन्, “मेरो परिवार जात र क्षेत्रलाई फुटाउने खेलोमा छैन, जुटाउने बाटोमा छ।”
अहिले ६८ वर्ष पुगेका परमानन्द पोद्दारलाई भने पहाडे युवतीसँग घरबार बसाउन गुप्तालाई जति सजिलो भएन। ४० वर्षअघि मोरङको उर्लाबारीमा गुरुङ युवतीसँग आँखा जुध्दा उनी २८ वर्षका थिए।
दैनिक देखभेट पिरतीमा परिणत भयो, तर केटीको फौजी बाबु सम्झ्ँदै कुटुम्बेली साइनो गाँस्ने कुराले हावा खान्थ्यो। अनि हिउँदको एक दिन परमानन्दले मीनादेवीलाई भगाएर पश्चिम बंगालको दिनाजपुर पुर्याए।
यता मीनाका बाबु सुवेदार वीरबहादुर गुरुङले परमानन्दलाई नभेटेपछि भाइ राजेन्द्रलाई समातेर २३ दिन विराटनगरमा थुनाए। “हामीलाई छुट्याउने प्रयास पछिसम्मै भयो”, उर्लाबारी–३ मा कपडा पसल चलाइरहेका परमानन्द पोद्दार भन्छन्, “मधुमल्लामा पुस्तैनी कपडा व्यापार गरेर बसेको मेरो परिवार र ससुराली परिवारबीचको सम्बन्ध सहज बन्न धेरै वर्ष लाग्यो।”
हजुरबुबा भइसकेका परमानन्द र मीनादेवीले क्षेत्रीकी छोरीलाई बुहारी बनाएर भित्र्याएका छन्। उनीहरूलाई लाग्छ, बिहे भन्ने कुरा जातबीच नभएर मान्छेबीच हुन्छ।
उर्लाबारी–४ मा बसेका मन्तोष सिंह (३१) र सरू श्रेष्ठ (२३) जोडीको कथा पनि यस्तै छ। साइकलमा कपडाको पोको बोकेर गाउँगाउँ बेच्न जाने मन्तोष पाँच वर्षअघि मोरङकै अमरदह बजार पुगेका थिए, जहाँ उनले पहिलो पटक सरूलाई भेटेका थिए।
डेढ वर्षको प्रेमपछि २०६८ सालमा सामाजिक अप्ठ्यारोबीच उनीहरूले भागेर बिहे गरे। भागेर बसाएको घरजमलाई माइतीले एक वर्षपछि मात्र मान्यता दिएको सरू बताउँछिन्। अहिले तीन वर्षकी छोरी हुर्काइरहेको यो दम्पतीले गाउँमा कपडा बेच्ने पेशा बदलेर सुपारी व्यापार थालेको छ। “गरेरै खाएका छौं, मासिक बचत पनि गरिरहेकै छौं”, सरू भन्छिन्।
उर्लाबारी–४ का मनोज मल्लिक जातले मधेशी दलित हुन्। कामको सिलसिलामा तीन वर्षअघि केही महीना पाँचथर सदरमुकाम फिदिम बस्दा विष्णुमाया नेम्वाङसँग उनको माया बस्यो।
नेम्वाङ परिवारले मधेशीलाई छोरी दिने अवस्था नभएपछि विष्णुमाया र मनोजले भागी बिहे गरे। अहिले भने नेम्वाङ परिवारले छोरीज्वाईंलाई स्वीकारिसकेको छ। पाँच महीनाको छोराकी आमा विष्णुमाया भन्छिन्, “माइत जाँदा अझै पनि केही आफन्तले हेलाँ गरेको म थाहा पाउँछु, तर यो उनीहरूको समस्या हो।”
सन्तोष कुमार कर्ण (४१) अढाइ दशक अघि आमासँग सव्जी बेच्न मोरङको पथरी बजार पुग्थे। नजीकैको आचार्यको चिया पसलमा चियानास्ता खान्थे। आचार्यकी छोरी शुभद्रा र सन्तोष एकअर्कालाई मन पराउँथे।
२०५२ फागुन १८ गते शुभद्रा र सन्तोष भागेर उर्लाबारी गएपछि आचार्य परिवारको उजुरीमा प्रहरीले दुवैलाई पक्रेर हिरासतमा राख्यो। छुटाउने अनेक प्रयास भए, तर उनीहरू छुट्टिएनन्।
हिरासत मुक्त भएपछि कुल चारसय पूँजीबाट सडक छेउमा चियापसल चलाउन थालेका उनीहरूले रातदिन मिहिनेत गरे। अहिले उर्लाबारी–४ मा चलेको सन्तोष होटल तथा टेन्टहाउस यही दम्पतीको हो।
यसबीचमा उनीहरूले तीन सन्तान पनि हुर्काए। सन्तोष भन्छन्, “परिवार र समाजले स्वीकार्ने हुन मिहिनेत गरेर उभिने हुनुपर्दारहेछ।”
दुई फरक क्षेत्र र समुदायका यी दम्पतीहरूले घरबार सफल पार्ने क्रममा आ–आफ्नै किसिमको संघर्ष र सुख अनुभव गरेका छन्। शुरूमा सामाजिक आलोचना बेहोरे पनि पछि उदाहरणीय नै बनेका छन्। जीवन निर्वाहको क्रममा पनि उनीहरूले आफ्नो समाजलाई थप सहिष्णु र उदार बनाएका छन्। र, मधेश–पहाड घुलमिलको यो क्रम बढ्दो छ।