स्थानीय निर्वाचनको तयारीका लागि आयोगलाई सरकारको आग्रह
सरकारले स्थानीय निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई औपचारिक आग्रह गर्ने निर्णय गरेको छ ।
आज, २० माघ साँझ बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको तयारीका लागि आयोगलाई पत्राचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए । यद्यपी सरकारले निर्वाचनको मिति भने घोषणा गरेको छैन ।
आगामी १० जेठ भित्रै निर्वाचन गर्ने गरी तयारी गर्न आयोगलाई आग्रह गर्ने निर्णय भएको कार्कीले बताए ।
त्यस्तै बैठकले दुई नम्बर प्रदेशको सीमांकनको विषयमा विवाद रहेको भन्दै त्यसको अध्ययन गरी सुझाव दिन समिति गठन गरेको छ ।
स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित समितिमा आपूर्तिमन्त्री दीपक बोहोरा र उद्योग मन्त्री नविन्द्रराज जोशी सदस्य छन् ।
दुई हप्ताभित्र अध्ययन प्रतिवेदन सरकारलाई बुझाउन भनिएको समितिको सदस्य सचिवको जिम्मेवारी स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई दिइएको छ ।