काठमाडौँ विश्वविद्यालयमा पठनपाठन ठप्प
काठमाडौँ विश्वविद्यालयमा दश दिनदेखिको तालाबन्दीले गर्दा पठनपाठन प्रभावित भएको छ । विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुको नेतृत्वमा काठमाडौं विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा ९ माघदेखि तालाबन्दी भएको थियो ।
विश्वविद्यालयका रजिष्टार डा. भोला थापाले तालाबन्दीका कारण पठनपाठन ठप्प भएको उल्लेख गर्दै विद्यार्थीसँग दिनहुँजसो वार्ता जारी रहेको बताए । वार्ता भइरहे पनि निष्कर्षमा पुग्न नसकेको उनले जानकारी दिए ।
काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले आफूहरुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाउँदै यथाशीघ्र चुनाव गर्न आग्रह गरे ।रासस