पुनर्वासमा नजानेलाई नेपाल र भुटानले राख्नुपर्छः इयू राजदूत टिरिन्च
युरोपियन युनियनकी राजदूत रिन्चे टिरिन्चले पूर्वी नेपालका शिविरमा रहेका भुटानी शरणार्थीलाई नेपाल र भुटानले राख्नुपर्ने धारण व्यक्त गरेकी छन् ।
“यो पुनर्वासमा नगएका करिव १२ हजार भुटानीको मात्र सवाल हो” इयूकी काठमाण्डौस्थित राजदुत रिन्चे टिरिन्चले आज झापाको दमकमा हिमालखबरसँग कुरागर्दै भनिन्, “त्यस्ता शरणार्थीलाई नेपाल र भुटानले निश्चित संख्यामा स्वीकार गर्नु उत्तम देख्छु ।”
राजदुत टिरिन्चले शिविरमा सहायता घटिरहेको उल्लेख गर्दै शरणार्थीहरुलाई सिपमुलक तालीम दिएर आत्मनिर्भर हुन र आवश्यकता परे नागरिकका रुपमा स्वीकार्न सरकरहरु तयार हुनु पर्ने धारण राखिन् ।
उनले पुनर्वासपछि बाँकी रहने शरणार्थीलाई सफलतापुर्वक समायोजन गर्न ‘सम्भवतः नागरिकता समेत दिनु पर्ने’ बताइन् । भनिन्, “यद्यपी शरणार्थीको समायोजन निक्कै सम्बेदनशील विषय हो ।”
उनले अन्तराष्ट्रिय समुदायले करिब १ लाख ७ हजार भुटानी शरणार्थीलाई मानवीय सहायता स्वरुप पुनर्वास गरेर समस्या समाधानमा ठुलो सहभागिता देखाएको बताईन ।
हालसम्म पुनर्वास भएका ती भुटानी शरणार्थी मध्ये युरोपेली मुलुकहरु डेनमार्क, नेदरल्याण्ड र नर्वेमा कुल दुई हजार पाँचसय २२ जना भुटानी शरणार्थी पुनर्वासमा गएका छन् ।
दुईदिनको झापा बसाईका क्रममा राजदुत टिरिन्चले झापा र मोरङका दुबै शिविरको भ्रमण गर्नुका साथै शरणार्थी प्रतिनिधि र सहायता अधिकारीहरुसँग अन्तरक्रिया पनि गरेकीथिइन् ।
गोपाल गडतौला, झापा