नेविसङ्घ महाधिवेशनः फेरि प्रतिनिधि विवाद
शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि फर्जी मतदाता थपेको आरोप लगाउँदै विद्यार्थी नेताले यथास्थितिमा निर्वाचन हुन नसक्ने जनाएका छन् ।
अध्यक्षका सात उम्मेदवारले आज पत्रकार सम्मेलन गरी निर्देशन समितिले मध्यरातमा एकतर्फी रुपमा ३०० नक्कली प्रतिनिधि थपेर मतदाता नामावली सार्वजनिक गरेको जनाई सच्याउन माग गरेका छन् ।
सङ्घको निर्वाचन गर्न नेपाली कांग्रेसले नेता डा प्रकाशशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति गठन गरेको छ ।
अध्यक्षका दाबेदार मनोजमणि आचार्यले निर्देशन समितिले लामो छलफलपछि तीन हजार ४६० प्रतिनिधि रहने निश्चित गरिसकेका अवस्थामा रातारात ३०० फर्जी प्रतिनिधि थपेको भनी आक्रोश व्यक्त गरे । उनले ६४ जिल्लाको सूची पूर्ववत् अवस्थामा नै राखेर निर्वाचन प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वसँग माग गरे ।
अध्यक्षका अर्का दाबेदार क्षितिज भण्डारीले ‘पार्टी नेतृत्वले प्रहरीको घेरामा नेविसङ्घ कब्जा गर्ने शैलीमा गर्ने निर्वाचन’ मान्य नहुने बताए । नेता दीपक भट्टराईले आफूहरु विधिवत् महाधिवेशनका पक्षमा रहे पनि गैरमतदाता भएको नामावली नसच्याएसम्म महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी दिए ।
नेता नीलकण्ठ रिजालले पार्टी नेतृत्वको शैलीले आन्तरिक प्रजातन्त्र कस्तो छ भन्ने छर्लङ्ग भएको बताउँदै वास्तविक मतदाताको नामावली काटिएकामा विरोध जनाए ।
त्यस्तै विनिता अधिकारी, आनन्दराज त्रिपाठी र पदमराज पन्तले पार्टी कार्यालयमा प्रहरीको घेरामा निर्वाचन हुन नहुनेमा जोड दिँदै फर्जी मतदाताविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।
निर्देशन समिति सदस्यद्वय भट्टराई र घिमिरेले आज संयुक्त विज्ञप्तिमार्फत शनिबार राति सार्वजनिक अन्तिम नामावलीमा विगतको सहमति विपरीत हेरफेर गरिएकाले विवादित बन्न पुगेको स्विकारेका छन् । उनीहरुले समितिमा भएको सहमति र निर्णयअनुरुप विवादित नामावली सच्याएर मात्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरेका छन् ।
समितिले आज बिहान ९ बजेदेखि मतदाता परिचयपत्र लगायत सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनबाट वितरण गर्ने तयारी गरेको थियो ।