टिप्पणीमंगलवार, माघ ४, २०७३

अब व्यवस्थित अभिलेख

वसन्त महर्जन

मूर्तिहरू भेटिए पनि चोर पत्ता लगाएर सम्पदा संरक्षणको मेसो बसाउने चुनौती यथावत् छ।

जुम्ला जिल्ला सदरमुकाम खलंगास्थित प्रसिद्ध चन्दननाथ मन्दिरबाट गत ११ मंसीरको राति चोरिएका मूर्तिहरू ४० दिनपछि १९ पुसमा देपालगाउँ–२ रोकायाबाडा छेउको जंगलमा भेटिएका छन्।

सुरक्षा निकायले सोधपुछ र चेकजाँच कडा पारेकाले मूर्तिहरू जुम्लाबाट बाहिर लैजान नसकिने भएपछि बाटोछेउमा फालेर उम्कन खोजेको देखिन्छ।

मन्दिरबाट हराएका २१ मध्ये १४ वटा फेला परेका छन् भने २०२४ सालमा बनाइएको सात धार्नी चाँदीको दत्तात्रयसहित सातवटा मूर्ति अझैं भेटिएका छैनन्। दत्तात्रयको मूर्ति तीन फीट अग्लो थियो। 

चोरीमा को–को संलग्न छन्, डोल्पालगायतका जिल्लाका हिमाली गुम्बाहरूबाट मूर्ति चोर्नेहरू यसमा संलग्न छन्/छैनन् भन्ने प्रश्नहरू अनुत्तरित नै छन्। यी प्रश्नका उत्तर आउने गरी प्रहरी अनुसन्धान हुनु जरूरी छ।

चन्दननाथ मन्दिरका मूर्तिहरू धार्मिक आस्था मात्र नभई कला, संस्कृति, इतिहास, सम्पदा संरक्षण आदि पक्षसँग पनि जोडिएका छन्। यो मन्दिरको स्थापनाकाल खुलेको छैन, तर यसको परम्परा करीब ५०० वर्ष पुरानो छ।

यसलाई चन्दननाथ मन्दिर भनिए पनि यो स्वामी दत्तात्रयको मन्दिर हो। कतैबाट आएर बसेका साधुप्रतिको श्रद्धाभावका कारण स्थानीयले उनैका नामबाट 'चन्दननाथ' मन्दिर भनेको बुझिन्छ।

त्यस्तै, १८७५ सालतिर तहविलदार भई सपरिवार जुम्ला पुगेका काठमाडौं क्षेत्रपाटीका भक्तबहादुर नगरकोटीले पौ (ईंटा) को मन्दिर बनाएर अहिलेको स्वरुप दिएका थिए।

चोरी हुनुभन्दा अघिसम्म चन्दननाथ मन्दिरमा के–कस्ता, कति मूर्ति छन् भन्ने सार्वजनिक जानकारी थिएन। चोरीपछि प्रकाशित सूचीमा पित्तल निर्मित गौतम बुद्ध, बालगोपाल (कृष्ण), पगरी गुथेर पद्मासनमा बसेका राजा, गणेश, विष्णु, भगवती, ढुंगाको हनुमान, तामाको भगवतीलगायतका मूर्ति छन्।

गौतम बुद्धको एउटा मात्र मूर्ति हराएको देखाइए पनि भेटिएको सूचीमा बुद्धकै तीन वटा छन्। भेटिएका १४ वटा पित्तलको मूर्तिमध्ये ठूलो–सानो चारवटा बुद्धका मूर्ति रहेको समाचार आयो।

आजको जुम्ला क्षेत्रमा इसाको चौधौं शताब्दीसम्म बज्रयानी बौद्ध धर्म फस्टाएको थियो। यस दृष्टिले हेर्दा, त्यहाँ ध्यानीबुद्ध वा पञ्चबुद्ध अन्तर्गतका वैरोचन, अक्षोभ्य, रत्नसंभव, अमिताभ र अमोघसिद्धि बुद्धका साथै बोधिसत्व तथा ताराका मूर्तिहरू पाइनु स्वाभाविकै हो।

भेटिएका मूर्तिहरूको मुद्रा बज्रयानी बौद्ध धर्मसँग सम्बन्धित पनि देखियो। यी बौद्ध मूर्तिहरू चन्दननाथ मन्दिरमा कसरी आइपुगे, अध्ययनको विषय बनेको छ, जसले ती मूर्तिहरू सुरक्षाका लागि अन्यत्रबाट त्यहाँ ल्याइए वा कुनै बेला त्यस स्थलसँग बौद्धधर्मको सम्बन्ध थियो भन्ने ऐतिहासिक तथ्य प्रकाशमा ल्याउन सकोस्।

इसाको १२औं शताब्दीमा खस साम्राज्य स्थापना भएपछि कर्णाली क्षेत्रमा बौद्धधर्मले राजकीय संरक्षण पाएको थियो। हुम्ला, जुम्ला, अछाम, डोल्पा, दैलेखलगायतका जिल्लामा तत्कालीन समाजको अवशेषका रूपमा बौद्ध सम्पदा तथा अभिलेखहरू यद्यापि छन्।

त्यस क्षेत्रको ऐतिहासिक महत्व दर्साउने भरपर्दा पुरातात्विक सामग्री यिनै हुन्। जिल्ला प्रशासन कार्यालय दैलेखमा खस साम्राज्यको पतनपछिका राजा मलय वर्माको धातुको सानो मूर्ति छ, जसको शैली काठमाडौं उपत्यकामा विकसित धातु मूर्तिकलासँग मिल्छ।

उसबेला काठमाडौं उपत्यकामा मूर्ति बनाएर कर्णाली क्षेत्रमा लगिन्थे, कलाकारहरू लगेर पनि मूर्तिहरू बनाइन्थे। चौधौं शताब्दीपछि पनि डोल्पा, मुस्ताङ क्षेत्रमा यो अभ्यास कायम रह्यो।

इतिहास लेखनमा तत्कालीन कला, सम्पदा, पुरातात्विक अवशेष तथा लिखतहरूको दरकार पर्छ। बाईसे–चौबीसे राज्य अघिको इतिहास लेखन खस साम्राज्यकालीन मूर्ति, स्तूप, अभिलेख तथा अन्य कलाको आधारमा संभव भएको हो।

इसाको चौधौं शताब्दीअघिको इतिहास लेखनका लागि त्यस क्षेत्रका मन्दिर, शिलालेख, ताम्रपत्र, कनकपत्र, लिखत, वास्तुकला र अन्य सामग्रीका साथै जमीनमुनि दबिएका संरचनाको खोजबीन अत्यावश्यक छ।

भेटिएका मूर्तिमध्ये पगरी गुथेर पद्मासनमा बसेका राजा को हुन् भन्ने अध्ययन गर्न सक्दा पनि इतिहासका धेरै कुरा थाहा पाइनेछ। यस अर्थमा चन्दननाथ मन्दिरका मूर्तिहरू निकै महत्वपूर्ण ऐतिहासिक सामग्री हुन्।

देशभरका पुरातात्विक सम्पदाको अध्ययन त के साधारण लगत पनि राख्न नसक्नु दुःखको कुरा हो। काठमाडौंबाट चोरिएर विदेशमा पुगेका कतिपय मूर्ति फिर्ता हुन सक्नुको एउटै कारण थियो– तिनको राम्रो अभिलेख र अध्ययन। पर्याप्त अध्ययन र ठोस अभिलेखको आधारमा दाबी गर्दा नेपालले ती मूर्तिहरू फिर्ता ल्याउन सक्यो।

विना अभिलेख थाहै नहुने गरी चन्दननाथ मन्दिरमा राखिएका मूर्तिहरू फेला नपरेको भए पछि हामीले ठम्याउन र विधिपूर्वक दाबी गर्न सक्ने थिएनौं। यसअर्थमा, सम्बन्धित निकायबाट सम्पदाहरूको लगत तयार गर्नुका साथै अध्ययनका लागि अध्येताहरूलाई उपलब्ध गराउन ढिला हुनुहुँदैन।

प्रतिकृया दिनुहोस