माओवादीका पाँच मन्त्री तय, आजै अपराह्न शपथ
नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेको छ ।
प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले पाँच जना मन्त्रीको नाम तय गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादीका तर्फबाट जनार्दन शर्मा- ऊर्जा, राम कार्की- सूचना तथा सञ्चार, हितराज पाण्डे- सङ्घीय मामिला तथा स्थानीय विकास, धनीराम पौडेल- शिक्षा र अजयशङ्कर नायक- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सरकारमा सहभागी गराउने तयारी गरिएको छ ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार ती दलले क्रमशः १३ र आठ मन्त्रालय लिने सहमति भएको छ ।
नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका कारण कांग्रेसबाट मन्त्री पठाउन ढिलाइ भएपछि आज प्रधानमन्त्रीले आफ्नो पार्टीका भागमा परेको मन्त्रीको शपथ ग्रहण गराउन लागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेसविज्ञ माधव शर्माका अनुसार आज अपराह्न ३ बजे नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।
१९ साउनमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री दाहालले २० साउनमा माओवादी केन्द्रबाट तीन र कांग्रेसबाट दुई मन्त्री नियुक्त गरेका थिए ।
त्यसैगरी २७ साउनमा राप्रपाका दुई र नेकपा (संयुक्त)का बाट एक सांसदलाई मन्त्री बनाएका थिए ।