ब्लगमंगलवार, माघ ४, २०७३

मूर्ति छोई मुस्कान

केदार शर्मा

दादाको शेषपछि नेपाली अक्षर, नेपाली लेखक र नेपाली किताबलाई उहाँले जस्तो आफ्नोपन कसरी दिन सकिएला!

“अर्को पटक तपाईं आएका बेला राष्ट्रकविको घर जाऊँ है”, पोहोरसाल दादाले मलाई दुई तीन पटक नै भन्नुभएको थियो। “कमलबाबुलाई भेट्न जानु छ एक पटक”, त्यही आशयमा राष्ट्रकविले पनि दुई पटक नै होला, भन्नुभएको थियो। 

म जन्मनुभन्दा वर्षौंअघि चिनजान भएका र एकअर्कालाई आदर गर्ने, वर्तमान समयमा नेपाली साहित्यका सबभन्दा अग्ला व्यक्तिहरूलाई आपसमा भेट्न म के चाहिन्थें र! स्नेह गरेर मेरो मान मात्र बढाइदिएको थाहा छ। ती दुई महापुरुषको अन्तिम अन्तरङ्ग भेटको सूत्र बन्ने गौरव मेरा भागमा थिएन पनि, त्यसैले साइत जुरेन!

उहाँहरूका कैयन् भेटमा मैले छेउमा रहने मौका पाएको छु। कमल दीक्षित राष्ट्रकविलाई ढोग्नुहुन्थ्यो, बडो आदरपूर्वक, हात तानेर। किञ्चित अप्ठ्यारो मान्नुहुन्थ्यो राष्ट्रकवि। भेटमा पारस्परिक आदरको महक परिवेशभरि छरिन्थ्यो।

दीक्षित मदन पुरस्कार पुस्तकालयका अध्यक्ष। उहाँको जीवन किताबकै बीचमा बित्यो। चाहिएका सबै किताब उहाँलाई उपलब्ध हुन्थे। तर, उहाँको अफिसमा कुर्सी पछाडि हात तन्काउँदा भेटिने ठाउँमा सबभन्दा प्रिय र काममा आइरहने केही किताब हुन्थे। तीमध्ये एउटा थियो– माधव घिमिरेको दुर्गा सप्तशतीको नेपाली अनुवाद। मैले त्यो कुरा सुनाउँदा राष्ट्रकवि दङ्ग पर्नुभएको थियो।

तुलनात्मक रूपमा कम चिनिएको, आफ्नो साहित्यिक जीवनको प्रारम्भिक कालतिरको त्यो कृति साहित्यका मर्मज्ञ 'कमलबाबु' को 'फेवरेट' मा रहेको थाहा पाउँदा उहाँ खुशी हुनु स्वाभाविक थियो। दादालाई त्यो किताब विशेष लाग्नुको दुई कारण थिए– सागरमणि आ.दी. को भूमिका र २००२ सालमा घिमिरेले गरेको अनुवादको लालित्य।

स्रष्टाप्रतिको सम्मान: राष्ट्रकवि माधव घिमिरेलाई ढोग गर्दै कदी ।

२०५९ सालतिरको कुरा हो, म दादाको पुस्तक मदनगाथाको सम्पादन गर्दैथिएँ। एकदिन भनें, “दादा, मलाई यो किताबमा काम गर्ने क्रममा तपाईं त एउटा मूर्तिकार जस्तो लाग्यो।” उहाँले “किन?” भनेर सोध्दा मैले थपें, “मलाई हिजोआज माधव घिमिरेको एउटा गीत खूब याद आइरहेको छ र त्यो तपाईंलाई हेरेर नै पो लेखेको हो कि जस्तो लाग्न थालेको छ।” अनि मैले गीतको अन्तिम चरण सुनाएँ–

ढुङ्गाबाट मुस्कुरायो कति मीठो मूर्ति

कलाकार हेरिरै'छ छिनु हान्न बिर्सी

व्यक्ति महान् भनूँ कि म अभिव्यक्ति महान्

ढुङ्गा छोई मूर्ति हजुर, मूर्ति छोई मुस्कान

अनि व्याख्या गरें– “यो किताब पढ्दा चन्द्रशमशेरको मस्तराम छोरा मदनशमशेर मलाई धेरै अर्थमा ढुङ्गा जस्ता लागे। तपाईंले तिनको नामलाई कुँदेकै भरमा मदन पुरस्कार र मदन पुरस्कार पुस्तकालय जस्ता जीवन्त मूर्ति बनाउनुभयो। सम्भवतः जङ्गबहादुर पछि सबैभन्दा धेरै नेपालीले जानेको राणा नाम मदनशमशेर नै हो। यसो हुनुमा मदनशमशेरको योग्यता कति थियो र कमलमणि दीक्षितको योगदान कति छ भन्ने कुरा सबैलाई थाहा छ।”

“नाम मात्र थिएन, उहाँको धन पनि त थियो”, दादाले भन्नुभयो।

“त्यसोभए यसरी भनूँ न त, उनकै धनको छिनु लिएर तपाईंले उनको नाम कुँद्नुभयो!”

“तर, म निस्वार्थ छैन है केदारजी! मैले यही काम गरेर नाम कमाएको छु। मसित जे छ, त्यो सबै रानीसाहेबबाट पाएको हो।”

“यति राम्रो मूर्तिकारले नाम त कमाइहाल्छ नि दादा!”

उहाँको मुहारमा 'स्पेशल' मुस्कान झुल्कियो।

ढुङ्गा छोई मूर्ति हजुर, मूर्ति छोई मुस्कान!

यो लेख लेख्ने क्रममा राष्ट्रकविसित बोल्न मन लाग्यो। फोनमा उहाँले भन्नुभयो, “तपाईं आउनुहोस्, उहाँका बारेमा म धेरै कुरा भन्छु।”

मैले इलामबाट फोन गरेको बताएपछि उहाँले त्यसो भए म एकै वाक्यमा उहाँका बारेमा बोल्छु भन्दै आदर र स्नेह भरिएको स्वरमा टिपाउनुभयो, “कमलको फूल झरेर गयो, त्यसको नामको सुवास सधैं मगमगाइरहनेछ।”

अंग्रेजीबाट अनूदित वार्षिक हिमाल सम्पादन गर्न म पहिलो पटक २०४६ सालमा श्रीदरबार टोल छिरेको हुँ। सम्पादक कनकमणि दीक्षित अमेरिकामै हुनुहुन्थ्यो। त्यसबेला अनुवादका कुरामा अल्मलिएका बेला सोध्ने क्रममा कमलमणिजीसित मेरो भेटघाट हुन थालेको हो। 

त्यसभन्दा अघि उहाँबारे पढेको (उत्तम कुँवरको स्रष्टा र साहित्य) र साहित्यिक जमघटहरूमा सुनेको थिएँ। सुनेकामध्ये तुरुन्त याद हुने कुरा थियो, 'राणा बाहुन' भन्ने विशेषण। उहाँको साधारण तर, सुव्यवस्थित अफिसमा भेटघाट हुँदा भने मलाई त्यस्तो 'चढेको' लागेन।

औसत नेपाली साहित्यकारहरूको भन्दा माथिल्लो आर्थिक–सामाजिक हैसियत, प्रायः सबै साहित्यकारले पाउन चाहने पुरस्कारमा उहाँको हात जस्ता कुरा हेरेर मात्र मूल्याङ्कन गर्दा चाहिं जे भन्दा पनि हुन्थ्यो!

२०४६ सालको जन-आन्दोलनमा सहभागिता जनाउँदै कदी ।

त्यसै वर्ष चैत ३ गते सरस्वती सदनमा मुखमा कालोपट्टी बाँधेर पञ्चायतको विरोध गर्न उहाँ आफ्नी धर्मपत्नी 'देवीजी' (अञ्जु दीक्षित) का साथमा आउनुभएको थियो। हामी सबैलाई पक्रेर बग्गीखानामा थुनेका बेला उहाँले भन्नुभएको सम्झ्िन्छु, “उनी मेरी श्रीमती भएकाले विरोध प्रदर्शनमा आएकी होइनन् है, मैले जति भ्याउँदिनन्, तर उनी पनि लेख्छिन्।” अनि देवीजीको प्रशान्त मुस्कान थुनुवाकक्षमा छरिएको थियो।

कुनामा केही साहित्यकारले साउती गरेका थिए, “सत्तासित सधैं दूरी मिलाएर हिंड्ने कमलमणि पनि आन्दोलनमा आएपछि पञ्चायतको दिन पुगेछ भनेर बुझे भयो।”

२०४६ साल चैतकै कुरा, हामीलाई जनआन्दोलन चर्कै गरी लागेको थियो। तर जीवनमा आन्दोलन मात्र थिएन, मेरी गर्भवती श्रीमतीलाई चैत २७ गते पाटन अस्पतालमा जँचाउनुपर्ने थियो। २४ गतेदेखि नै कर्फ्यू लागेकाले हामी छक्क परिरहेका थियौं, बहुदल आएको पहिलो खुशी त हामीलाई अस्पताल जान पाएर पो भयो। अस्पतालमा टिकट लिएपछि पालो नआउञ्जेल केही घन्टाका हामी बाहिर निस्क्यौं।

चारैतिरबाट विजय जुलूस आइरहेका थिए। त्यस्तैमा हामीले कमलमणिजी, देवीजी र काँधमा छोरो इलम बोकेकी उहाँहरूकी कान्छी बुहारी शान्ताजीलाई भेट्यौं। निकैबेर नाराजुलूसमा सहभागी भएपछि उहाँहरूले हामीलाई पनि घर लिएर जानुभयो र खाजा खुवाएर कमलमणिजी आफैंले गाडी हाँकेर अस्पताल पुर्‍याइदिनुभयो।

मैले यहाँ यो उल्लेख गरेको उहाँ र मेरा बीच आदर र स्नेहको सम्बन्ध विकास हुनुअघि हाम्रो चिनजानको प्रारम्भिक समयको कुरा भएकोले हो। यी कुनै पनि भेटमा मैले 'राणा बाहुन' कतै भेटिनँ। उहाँलाई सबैले कमलबाबु वा बाबु भन्थे। म उहाँलाई सकेसम्म कम सम्बोधन गर्थें र कमलमणिजी नै भन्थें।

कनकजी नेपाल आएपछि, सङ्गत बढ्दै गएर उहाँको ज्ञान र सरलताबाट प्रभावित हुँदै उहाँलाई दादा भन्न थालें। उहाँको मुस्कान र सम्बोधन सधैं एउटै रह्यो। म र हामीप्रतिको प्रेम भने सधैं बढेको नै अनुभव भयो।

त्यसबेला वासुदेव लुइँटेल मदन पुरस्कार पुस्तकालयका कार्यालय सचिव हुनुहुन्थ्यो। मेरा हजुरबाभन्दा जेठा भए पनि म उहाँलाई वासुदेव दाइ भन्थें। एकदिन उहाँले मलाई बोलाउनुभयो, “ए भैया, घर कहाँ?”

“इलाम।”

“ए, तब त...!”

'किन र?'

“म भैयालाई अलि दिनदेखि यहाँ देखिरहेको छु। मैले त शुरूमा दाने मोटर खडखड पार्दै आउने कुनै गुर्जुको छोरो पो भन्ठानेको थिएँ...!”

एकछिन रोकिएर उहाँले थप्नुभयो, “अनि एक दुई पटक कमलबाबुसित बोलेको देखेपछि यो दाने मोटर चढ्ने मान्छे होइन है भन्ने लागेर सोधेको, होइन त रहेछ नि!”

म त्यसबेला काँठे बाहुन र दाने मोटर चढ्ने शहरिया बाहुनका सम्बन्धका आयामहरू बुझ्ने भइसकेको रहेनछु। तर के चाहिं बुझें भने मान्छे कमलमणि दीक्षितलाई जसरी चिनेर भेट्न जाँदा रहेछन्, त्यस्तै व्यवहार गर्दा रहेछन् र आफूले जस्तो व्यवहार गर्‍यो, उहाँलाई त्यस्तै पाउँदा रहेछन्।

हामी प्रायः कसैलाई चिन्न अर्काले बनाएको छविको सहारा लिन्छौं र आफूले भने चिन्दै चिन्दैनौं। सौभाग्यवश मैले कमलमणि दीक्षितलाई अर्काले बनाएको छविबाट चिनिनँ। उहाँ पनि आफूलाई जसले जसरी चिन्छ त्यसैमा सहज मान्नुहुँदोरहेछ।

साझा कविता (२०२४) मैले सानैमा जानीनजानी पढेको किताब हो। पछि बुझ्दै जाँदा मलाई त्यो किताब गजबको लाग्न थाल्यो। सबभन्दा गजब लाग्यो, त्यसमा गरिएको कविताको चयन। नेपाली कविताको कालक्रमिक चयन र साहित्यिक मूल्यका हिसाबले त्यो एउटा विशिष्ट कृति हो।

चूडामणि बन्धुको भूमिकाले मलाई नेपाली कविता चिनाएको हो। तर मलाई लागिरहन्थ्यो, पञ्चायतको उदयकालमा एउटा सरकार संरक्षित संस्थाबाट प्रकाशित किताबमा 'मातेको मान्छेको भाषण' जस्तो कविता कसरी अटायो होला, जसमा यस्ता हरफहरू थिए–

मात्र कोतपर्वका विजेताका

मात्र शासन गर्ने परिवारका

प्रशस्ति र वंशावली लेखिएका इतिहासका नाङ्गा पन्ना जस्ता

यी पेटीहरूलाई

मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर

तिमीले च्यात्तिदेऊ...फाट्टिदेऊ...

कोलम्बसको पैतालाले

यस सडकमाथि टेक्न पाउनुपर्छ

एक दिन त्यससित सम्बन्धित तीनै जना व्यक्तिलाई यलमाया केन्द्रमा एकसाथ भेट्दा डा. चूडामणि बन्धुलाई सोधें, “सर, काँल्दाजु (वैरागी काइँला) ले त दार्जीलिङमा बसेर लेख्नुभयो, तपाईंले त्यो कवितालाई साझा कवितामा समेट्ने आँट कसरी गर्नुभयो?”

“मलाई मन पर्‍यो र संग्रहको अन्तिम कविताका रूपमा त्यसलाई राखें। मलाई त्यो कामको जिम्मा दिने कमलबाबुले पनि केही भन्नु भएन। शायद हामीलाई त्यो छाप्नुहुँदैन भन्ने नै लागेन”, उहाँको उत्तर थियो।

“दादा, त्यस बखत त्यो कविता छाप्दा डर लागेन?”

“लागेन, कस्तै पनि लागेन। हामीमध्ये कोही पनि कुनै पनि राजनीतिक लाभका लागि लालायित नभएकाले पनि होला, हामीले त्यस्तो सोच्दै सोचेनौं।”

अनि काँल्दाइले हाँस्दै भन्नुभयो, “साझा कवितामा त्यो कविता आउँदा म त छक्क परेको थिएँ।”

कमलमणि दीक्षितलाई सत्तासित दूरी मिलाएर हिंड्न जान्ने भनेर मान्छेले भनेको कुरा मलाई यस बाहेकका कैयन् प्रसङ्गमा पनि साँचो लागेन। बरु कमलमणि दीक्षित सत्तासितको दूरीको वास्तै नगरी, आफ्नै सुरमा हिंड्ने मान्छे जस्तो लाग्यो।

मलाई भाषाको माया त पहिलेदेखि लाग्थ्यो, तर भाषालाई माया गर्ने तौरतरीका मैले कमलमणि दीक्षितबाट सिकें। उहाँबाट मैले सिकेको सबभन्दा ठूलो कुरा चाहिं गुणग्राहिता हो। उहाँले आफ्नो कुनै लेखमा मणिहरूलाई राणाका 'अनन्यभक्त, सेवक, गुरु, सल्लाहकार' भन्नुभएको छ। मदनशमशेर र रानी जगदम्बाप्रतिको उहाँको भाव, विचार र व्यवहारमा मैले अनौठो र अटल निष्ठा पाएको छु।

रानी जगदम्बा रहुञ्जेल त उहाँ 'रानीसाहेब' प्रति उत्तरदायी हुनुहुन्थ्यो, तर उनको अवसान पछि उहाँ त्यो भक्ति र निष्ठालाई निरन्तरता नदिन स्वतन्त्र हुनुहुन्थ्यो। तर उहाँले त रानी जगदम्बालाई अमर बनाउने जगदम्बाश्री पुरस्कार स्थापना पो गर्नुभयो।

आफ्ना आमाबाबु केदारमणि–विद्यादेवीको नाम अगाडि सार्ने कैयन् अवसर थिए, तर मदन–जगदम्बालाई पछि पार्ने काम उहाँबाट भएन। 'अनन्यभक्ति' को उम्दा उदाहरण, मदनशमशेर र जगदम्बाका बारेमा अनौपचारिक कुराकानी गर्दा समेत उहाँ र उहाँका परिवारले सधैं आदरार्थी शब्दको प्रयोग गरेको सुनेको छु।

म केही साताअघि मदन पुरस्कार पुस्तकालय (मपुपु) को प्रतिनिधिका रूपमा भारतको आसाममा आयोजित एउटा साहित्य सम्मेलनमा उपस्थित थिएँ। मदन पुरस्कार पुस्तकालयसितको मेरो आबद्धता थाहा हुने बित्तिकै कमलबाबुको हालखबर सोध्ने सँगै 'उहाँले मलाई चिठी लेख्नुभएको थियो' भन्नेहरू पनि निकै भेटिए।

कतिले 'काठमाडौं गएका बेला उहाँलाई भेटेर किताब दिंदा उहाँले मेरै सामुन्नेमा कम्प्युटरमा दर्ता गर्नुभएको थियो' भने। 'मेरो किताब पाएपछि उहाँले दर्ता नम्बर पठाइदिनुभयो', भन्ने पनि भेटें। मलाई खुशी त लाग्यो नै, “दादाको शेषपछि नेपाली अक्षर, नेपाली लेखक र नेपाली किताबलाई यो अपनत्व र न्यानोपन कसरी दिन सकिएला!” भनेर डर पनि लाग्यो।

जीवनको नौ दशक पूरा गर्न लागेका व्यक्तिको 'शेषपछि' भन्ने सोच्नु अस्वाभाविक थिएन, तर त्यो 'शेष' यति चाँडै आउला भन्ने लागेकै थिएन। आसामबाट फर्केपछि अस्पतालमै गएर आफूले अनुभव गरेका कुरा सुनाएँ। उहाँ दङ्ग पर्नुभयो। उहाँको चिरपरिचित मुस्कान उसरी नै छायो।

अस्पतालबाट फर्केपछि उहाँले पत्राचार गरेका सबैलाई फेरि चिठी लेखेर मपुपु र मदन पुरस्कार गुठीको भविष्यका कार्यक्रमहरूबारे जानकारी दिने योजना बनायौं, तर त्यो योजना पूरा गर्नै पाइएन।

राष्ट्रकविको सोही गीतको दोस्रो चरण पनि उहाँलाई नै हेरेर लेखेजस्तो पो भयो त! मानिसकै मुस्कान जसै लाग्छ अमर जस्तो

त्यसैबेला मेटिदिन्छ मृत्यु निठुर कस्तो

निठुरमै चोट हानी मधुरको निशान

ढुङ्गा छोई मूर्ति हजुर, मूर्ति छोई मुस्कान

दुःखको कुरा, उहाँ जानुभयो। नेपाली औसत आयुका हिसाबले उहाँको निधनलाई असामयिक भन्न मिल्दैन, तर उहाँलाई नजीकबाट चिन्नेहरूलाई थाहा छ– ऊर्जा, इच्छाशक्ति र हौसलामा कत्ति कमी नआउँदै, बेलै नभई उहाँ जानुभयो। चित्त बुझाउने ठाउँ पनि छ– उहाँ एकजना मिहिनेती, प्रतिबद्ध, सफल र सन्तुष्ट व्यक्तिका रूपमा बाँच्नुभयो र एकदमै सक्रिय जीवन बिताउँदा बिताउँदै जानुभयो।

आफू, आफ्नो भाषा, आफ्नो काम र आफ्ना सन्तानका बारेमा गर्व गर्ने उहाँको जस्तो सौभाग्य सबैलाई प्राप्त होओस्।

बोलीबाटै बोलीपारि पुग्न मैले जानें

यै धर्तीमा स्वर्गलाई सुसेलीले तानें

तपस् मलाई विश्राम बन्यो विपत् मलाई वरदान

ढुङ्गा छोई मूर्ति हजुर, मूर्ति छोई मुस्कान।

प्रतिकृया दिनुहोस