सम्पादकीयआइतवार, माघ २, २०७३

कदीको लिगेसी

किरण नेपाल

‘नेपाली भाषा–साहित्यको आन्दोलनमा रहेका नेपाल बाहिरका हामी नेपालीका लागि कमलमणि नाम नै तागत थियो । नामैले ऊर्जा दिन्थ्यो ।’

कमलमणि दीक्षित (वि.सं. १९८६–२०७३) दिवंगत भएको तेस्रो दिन १६ पुसमा दार्जीलिङका नेपाली साहित्यकार इन्द्रबहादुर राईबाट आएको यो अभिव्यक्तिले नेपाली भाषा–साहित्यको सम्बर्द्धनमा दीक्षितले खेलेको सुविचारित भूमिकाको महत्व स्मरण गरेको छ र खास गरेर देश बाहिरको नेपाली संसारमा अनुभूत गरिएको रिक्तता देखाएको छ ।

दीक्षित ठूला साहित्यिक, भाषासेवी र नेपाली भाषा आन्दोलनका उत्प्रेरक थिए । उनले आफ्नो ८७ वर्षे जीवनकाल पूर्णतः नेपाली भाषाको उन्नयनमा खर्चिए ।

जीवनका अन्तिम क्षणहरूमा पनि वार्धक्यलाई युवा जाँगरले जित्दै नेपाली वाङ्मयको सेवामा अहोरात्र सक्रिय रहे । कतिसम्म भने, ‘नेपाली’ त्रैमासिकको सम्पादनसँगै कम्तीमा तीन वटा पत्रिकामा उनकोे नियमित स्तम्भ टुटेको थिएन । देश बाहिरका नेपाली साहित्यकार तथा भाषिक अभियन्ताहरूसँग नियमित सम्पर्क त उनको दैनन्दिनको अभिन्न कर्म नै थियो ।

योसँगै उनको हातमा नेपाली साहित्यको बृहत् इतिहास लेखन परियोजना पनि थियो । जुन परियोजनामा उनीसँग नेपालभित्र र बाहिरका ८४ जना विद्वान–विदुषी काम गरिरहेका थिए । यस्तो अवस्थामा अनायासै टुटेको यो कडीलाई जोड्ने उपक्रम अहिलेको आवश्यकता हो ।
विश्वभर तीन करोडभन्दा बढी नेपाली भाषी छरिएका छन् ।

संसारभर बोलिने झण्डै ६ हजार पाँचसय भन्दा बढी भाषामध्ये प्रथम सय भित्र पर्ने नेपाली सानो भाषिक समूह होइन । तर नेपालीलगायत संसारका थुप्रै भाषाहरू अंग्रेजीसँगै छिमेकी अन्य बलिया भाषा–संस्कारको निर्मम प्रभावमा परिरहेका छन् । कति अस्तित्व रक्षाको अवस्थामा छन् भने कति लोप नै भइसके ।

यद्यपि, नेपालीको हकमा यसलाई निकै दूरको सम्भावना मान्न सकिन्छ, जसले कमलमणि दीक्षित जस्तो अप्रतिम भाषाप्रेमी एउटा कवचको रूपमा पायो ।

यसको अर्थ नेपाली भाषा दीक्षितको कारण मात्र आजको अवस्थामा छ भन्ने किमार्थ होइन । उनी ती सेतु हुन्, जसले समकालीन अभियन्ताहरूका साथ आफ्ना पूर्ववर्तीहरूको सत्प्रयासलाई भावी पुस्तासँग जोड्ने सत्कर्म गरे । त्यस्तो भाषिक सत्कर्म, जसले विश्वमा एउटै नेपाली पहिचान बनायो– जहाँ बसोस्, नेपाली बोल्ने नेपाली ।

कमलमणि दीक्षितले अध्यक्षको रूपमा काम गरी मजबूत बनाएर छाडेको साझा प्रकाशन नेपाली भाषा प्रकाशिनी समितिको पछिल्लो रूप थियो भने नेपाली भाषा प्रकाशिनी समितिले गोर्खा भाषा प्रकाशिनी समितिलाई विस्थापित गरेको थियो । त्यो विस्थापन उद्देश्य ती संस्थाहरूको नामैले बताउँछ ।

अर्थात्, गोर्खा राज्यको अग्रसरतामा भएको नेपालको एकीकरणसँगै विस्तारित पर्वते भाषाले पाएको नाम बसाइँसराइ, गोर्खा भर्ती आदि कारणबाट फैलँदो ‘गोर्खा’ परिचयमा सिंगो नेपाल अटाउँदैनथ्यो भने नेपाली परिचय नेपाल बाहिरको विश्वमा पनि सुहाउँथ्यो । त्यसैको सुविचारित यत्न थियो, नेपाली भाषा प्रकाशिनी समिति, जसको ‘लिगेसी’ मा काम गरेका थिए दीक्षितले ।

दीक्षित ‘मिसन म्यान’ थिए । साझ प्रकाशनमा त्यो ‘मिसन’ पूरा गर्न १० वर्ष लाग्यो । साझलाई आर्थिक रूपमा टिकाइरहने नेपाली साहित्यका ‘मास्टरपिस’ हरू त्यही अवधिमा प्रकाशित भए । त्यहीबेला प्रकाशित कृतिहरूमार्फत नेपाली साहित्यमा कतिपय ‘आईकन’ हरूको सिर्जना समेत भयो ।

दीक्षितले त्यो अवधिमा ‘मार्केट भ्यालु’ भएका कृति साझा र ‘लाईब्रेरी भ्यालु’ भएका कृति जगदम्बा प्रकाशनबाट प्रकाशित गर्ने अभ्यास पनि गरे । र, जब उनलाई साझमा आफ्नो ‘मिसन’ पूरा भएको लाग्यो, आफ्नै मदन पुरस्कार पुस्तकालयमा फर्के ।

मान्छेको समयसीमा बुझेका दीक्षित जहिल्यै हतारमा हुन्थे । पछिल्लो समय उनी नेपाली साहित्यको बृहत् इतिहास तयार पार्ने हतारमा थिए । त्यसका निम्ति आफ्नो भागमा परेको ‘नेपाली साहित्यको माध्यमिककालीन इतिहास’ तयार पारिसकेका उनी अरूलाई हतारो लगाउँदै थिए ।

उनले त्यो ग्रन्थको लागि प्रकाशन संस्था र कोष पहिल्यै ठिक्क पारिसकेका थिए । त्यसैले ढुक्क भएकैले हुनुपर्छ, उनले अस्पताल शैय्यामा छोरी र छोराहरूलाई भनेका थिए– ‘अब नो दिल्ली, नो ब्यांकक, नो भेन्टिलेटर ।’

आज कमलमणि दीक्षित हामीसामु भौतिक रूपमा रहेनन् । तर नेपाली वाङ्मय सम्बर्द्धनमा उनले कायम गरेको विशाल ‘लिगेसी’ हाम्रासामु उभिएको छ । जसको भविष्यप्रति देशभित्र, बाहिरका नेपाली भाषा–साहित्य प्रेमी र विद्वानहरूमा संशयमिश्रित उत्सुकता देखिएको छ । सबैको नजर दीक्षित परिवार, मदन पुरस्कार गुठी, मदन पुस्तकालय र जगदम्बा प्रकाशनतर्फ छ ।

दीक्षितको ‘लिगेसी’ बारे देखिएको यो उत्सुकता राष्ट्रिय पहिचानको विषय हो, जसको दायित्व उनको परिवार र उनले खडा गरेका संस्थाहरूको काँधमा आइपुगेको छ । यो ‘लिगेसी’ को निरन्तरता र विस्तार नै कमलमणि दीक्षितप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।

नेपाली भाषा–साहित्यका ‘मणि’ कमलमणि दीक्षितप्रति हार्दिक श्रद्धाञ्जलि !

प्रतिकृया दिनुहोस