ह्याट्रिक गर्ल
सिम्पानी ७, लमजुङमा गाउँले दाइहरूसँग फूटबल खेलिरहेकी सावित्रा भण्डारी (२०) लाई गृहजिल्ला पुगेका रेफ्री शुक्र लामाले नदेखेको भए के हुन्थ्यो? उनको जवाफ प्रष्ट छ, “यतिबेला म गाउँमै पढ्दै, घरको काम सघाइरहेकी हुन्थें।”
चार वर्षअघि केटाहरूसँगै एक्लै फूटबल खेलिरहेकी सावित्रालाई देखेपछि तिनै 'लामा दाइ' ले सशस्त्र प्रहरी बल (एपीएफ) को महिला क्लब हुँदै राष्ट्रिय टीमको ठेगाना बताइदिएका थिए। त्यसलाई पछ्याउँदै उनले राष्ट्रिय टोलीमा नयाँ कीर्तिमान राखेकी छन्, एउटै खेलमा डबल ह्याटि्रक गरेर।
त्यसो त २० पुसमा सम्पन्न चौथो साफ महिला च्याम्पियनसिपमा अघिल्ला तीन संस्करणको उपविजेता नेपालले खराब नतीजा आत्मसात् गर्नुपर्यो। भारतसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरियो। मुलुकका लागि आशातीत नभए पनि सावित्राका लागि भने प्रतियोगिता स्मरणीय रह्यो।
भूटानसँगको खेलमा नेपालको ८ गोलमध्ये ६ गोल उनी एक्लैले गरिन्। प्रतियोगिताकै सर्वाधिक १२ गोल गर्ने पनि सावित्रा नै भइन्। त्यसो त सन् २०१४ को तेस्रो साफबाट राष्ट्रिय टोलीमा 'डेब्यू' गरेकी उनले अहिलेसम्म राष्ट्रिय टोलीबाट १६ गोल गरिसकेकी छन्। प्रशिक्षक कुमार थापाको भनाइमा सावित्राको गोलमा बल, गति र उँचाइ (५.५ इन्च) ले अहम् भूमिका खेलेका छन्।
सदरमुकाम बेसीशहरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयका साधारण कर्मचारी बुबा र गृहिणी आमाका चार छोरी र दुई छोरामध्ये माइली सावित्रालाई परिवारले कहिल्यै फूटबल नखेल भनेन। तर, छिमेकी र गाउँलेले कुरा लगाउन छाडेनन्। “छोरीलाई फूटबल खेल्न दिएर नराम्रो होला है भन्थे, साह्रै नमज्जा लाग्थ्यो”, उनी सम्झन्छिन्। तर, अहिले उही छोरीले गाउँको मात्र होइन, देशकै नाम राखेकी छन्।
गत फागुनदेखि एपीएफमा जागिरे भएपछि सावित्राको अबको लक्ष्य भारत हराउनेमा केन्द्रित छ। “हाम्रो मुख्य चुनौती भनेकै भारत हो”, उनी भन्छिन्, “भारतलाई हराउन सके गोलको स्वाद बेग्लै हुन्छ।”