संशोधनलाई मतदानमा लैजाने एमालेसँग सहमति भएको छः उर्जामन्त्री शर्मा
उर्जामन्त्री जनार्दन शर्माले एमालेसँग संबिधान संसोधनलाई मतदानको प्रक्रियामा अघि बढाउने र निर्वाचनको मिति घोषण गर्ने बारे सहमति भएको दाबी गरेका छन् ।
अर्घाखाँची महोत्सव उद्ंघाटनका लागि सन्धिखर्क आएका मन्त्री शर्माले संशोधन विधेयकलाई व्यवस्थापिका संसदमा मतदानको प्रकृयाबाट टुंगो लगाई चाँडै निर्वाचनको मिति तोक्ने एमालेसँग सहमति भएको बताए ।
“सरकार सबै दलहरुबीच एउटा सहमति बनाएर अगाडि बढेको छ,” उनले भने, “अहिलेको अलमल चाँडै हट्छ ।”
‘सुरुङ्ग मार्ग बनाइदिने’
उनले रोल्पा र रुकुमका जनताको माग अनुसार नै पाँच नम्बर प्रदेसबाट पहाडी जिल्ला अलग्याएको दाबी गरे ।
उनले अर्घाखाँचीका जनतालाई पोखरा जान असुविधा हुने भए सुरुंगमार्ग निर्माण गरिदिने आश्वासन समेत दिए ।
उनले अब देशभर नै लोडसेडिङ अन्त्य गर्र्ने तयारीमा उर्जामन्त्रालय रहेको भन्दै अर्घाखाँचीको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भईरहेको जानकारी दिए । त्यसैगरी पश्चिम सेती, नरसिङगाढ, शारदा, उत्तरगंगा, अरुण तमोर, बुढिगन्डकी लगायतका जलविद्युत परियोजना अगाडि बढेको बताए ।
प्रेम आचार्य, अर्घाखाँची