सुविधामा विभेद
प्रकाश सिंह, बाजुरा
जिल्ला अनुसारको तलब दरले दुर्गमका एउटै ठाउँमा काम गर्ने प्रहरीको सेवा–सुविधामा ठूलो फरक पारेको छ।
बाजुरा र हुम्ला जिल्लाको विकट सीमामा पर्छ, क्वाडी बजार। बिच्छ्याँबाट आएको क्वाडी खोलाले बजारलाई छुट्याएको छ, जसको पश्चिममा बाजुराको क्वाडी र पूर्वमा हुम्लाको क्वाडी बजार छ।
झोलुङ्गे पुलको दुईतिर दुई मिनेटको दूरीमा दुई जिल्लाका प्रहरी छन्– बाजुरातिर बिच्छ्याँ प्रहरी चौकी र हुम्लापट्टि मैला प्रहरी चौकी। अचम्म चाहिं के छ भने, हुम्लातिरका प्रहरी जवानले भत्तासहित मासिक रु.२१ हजार ५०० बुझ्छन् भने बाजुरापट्टिका प्रहरीले रु.१० हजार २००।
चिया–खाजा खाने ठाउँ एउटै, खाद्यान्न किन्ने पसल एउटै, सेवाको प्रकृति एउटै, तर तलब–सुविधामा दोब्बर फरक।
दुवै जिल्लाको सर्वाधिक विकट कवाडी बजार पुग्न बाजुरा सदरमुकाम मार्तडीबाट तीन दिन र हुम्ला सदरमुकाम सिमकोटबाट चार दिन हिंड्नुपर्छ। अर्थात्, भौगोलिक विकटता र महँगी पनि एउटै छ। कवाडीमा एक किलो मोटो चामलको लागि रु.१३० र नूनको लागि रु.८० तिर्नुपर्छ।
तर, सरकारले बन्दोबस्त गरेको सेवासुविधा भने अचम्मलाग्दो गरी फरक रहेको बाजुरा जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी दलबहादुर बोगटी बताउँछन्। विद्यमान तलब स्केलबाट बिच्छ्याँ प्रहरी चौकीमा कार्यरत प्रहरीहरूलाई त खानै नपुग्ने उनले बताए।
जिल्लाभित्रै पनि विभेद
बिच्छ्याँ प्रहरी चौकीका इन्चार्ज पीताम्बर ओझा मार्तडीका सहकर्मीहरूले रु.३५ मा किन्ने एक किलो चामललाई आफूहरूले रु.१३० हालेर खानुपरिरहेको बताउँछन्। दुवै ठाउँको तलब स्केल भने एउटै हो।
हुम्लाको मैला चौकीमा कार्यरत प्रहरी हवल्दार रामबहादुर बस्नेत सदरमुकाम र त्यहाँबाट एकसाता टाढाको दुर्गम ठाउँमा खटिनेको एउटै सेवासुविधाले हाँसउठ्दोसँगै रोउँरोउँ लाग्ने अवस्था सिर्जना गरेको बताउँछन्।
हुन पनि, सडकले छोएको कुल्देवमाण्डौ गाविसको मौरे चौकीका प्रहरीहरूले रु.९ मा एककिलो नून पाउँछन् भने बिच्छ्याँमा कार्यरत प्रहरीहरूले त्यही तलबस्केलबाट रु.५० हाल्नुपर्छ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विजयकुमार भट्ट जिल्ला अनुसार सेवासुविधा फरक हुँदा दुर्गममा खट्नेहरू ठूलो मर्कामा परेको बताउँछन्।
जिल्ला नभई भौगोलिक दूरी अनुसार सेवासुविधा कायम नहुँदासम्म दुर्गमका प्रहरीलाई न्याय नहुने उनी बताउँछन्। “अहिलेको व्यवस्था अनुसार, बाजुरा हिमाली र हुम्ला उच्च हिमाली जिल्ला हो”, डीआईजी भट्ट भन्छन्, “कवाडीका प्रहरीले यही अनुसार सेवासुविधा पाउँदा दोब्बर फरक परेको छ।”