हिउँ चितुवा पाइने मुलुकको मन्त्रिस्तरीय बैठक नेपालमा हुने
हिउँ चितुवा पाइने देशका मन्त्रीहरुको बैठक आगामी माघ ४ देखि ७ गतेसम्म नेपालमा हुने भएको छ ।
विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।
सम्मेलनबारे जानकारी दिन मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सहसचिव डा महेश्वर ढकालले सबै देशबाट मन्त्री र उच्चस्तरीय प्रतिनिधिको सहभागिता रहने निश्चित भएको जानकारी दिए ।
उनले बैठकमा आगामी योजनाको लागि स्रोत परिचालन रणनीतिको पहिचान गर्ने, हिउँ चितुवाको अवैध चोरी सिकार तथा व्यापार विरुद्ध जुध्न साझा विचार विकास गर्ने र हिउँ चितुवा सम्बन्धी अध्ययन अनुसन्धानमा पहलकदमी लिनेलगायत मुख्य विषयमा छलफल हुने बताए ।
सहसचिव ढकालले सम्मेलनले जैविक विविधता संरक्षण, नेपालको पर्यापर्यटनमा टेवा, निजी क्षेत्रलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वनमन्त्री शङ्कर भण्डारीले यस्तो महत्वपूर्ण बैठक नेपालमा आयोजना गर्ने अवसर मिल्नु र उच्चस्तरीय सहभागी प्रतिनिधिलाई स्वागत गर्न पाउनु खुसीको मौका भएको बताए । उनले बैठक हिउँ चितुवा र तिनीहरुको अमूल्य उच्च हिमाली परिस्थितिकीय प्रणाली संरक्षण गर्न र त्यहाँ बसोबास गर्ने मानिसको जीवनस्तर उकास्नका लागि कार्यदिशा पहिल्याउन उपयोगी हुने विश्वास व्यक्त गरे ।
हिउँ चितुवा नेपालमा करिब ३०० देखि ५०० र विश्वमा करिब तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिका हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरिरलाई सन्तुलन गर्छ ।
मन्त्रालयले पछिल्लो चरणमा हिउँ चितुवा पाईने हिमाली क्षेत्रलाई तीन खण्डमा विभाजन गरी संरक्षणका कार्यक्रम अघि बढाएको छ । जसमध्ये पूर्वको कञ्चनजङ्घादेखि गणेश हिमालसम्म, मनास्लुदेखि धवलागिरी हिमालसम्म र कालीगण्डकी नदीदेखि अपीनपा संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् ।
रासस