पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा उनको शालिकमा माल्यार्पण गरिएको छ ।
विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलका नेताले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानका कारण नेपालले विश्वसामु पहिचान बनाएकाले आज हामी नेपाली भएर बाँच्न पाएको बताए ।
मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले पृथ्वीनारायण शाहको योगदानको कदरस्वरुप यो पर्वलाई सरकारले भव्यरुपमा मनाउनुपर्नेमा सार्वजनिक बिदासम्म नदिनु उचित नभएको उल्लेख गरे ।
राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले मुलुक निर्माण गर्ने इतिहास पुरुषलाई सरकारले बेवास्ता गरेको आरोप लगाए ।
उनले पृथ्वीनारायण शाहले देशलाई एकीकरण गरेर सिङ्गो राष्ट्र निर्माण गरेजस्तै अहिले सबै राजनीतिक दल एकजुट भई मुलुकलाई निकास दिने बेला आएको उल्लेख गरे ।