सर्वोच्च अदालतद्वारा समाचारको खण्डन
सर्वोच्च अदालतले एउटा दैनिक पत्रिका सहित केही अनलाइनहरुले न्यायपालिकाप्रति भ्रम फैलाउने मनसायबाट प्रेरित भएर समाचार प्रकाशित गरेको भन्दै त्यसको खण्डन गरेको छ । अदालतका प्रवक्ता नहकुल सुवेदीले २६ पुस विज्ञप्ति जारी गर्दै ‘प्रधान न्यायाधीशको निर्देशनमा घुस आरोपी छाडिए’ शीर्षकको समाचारप्रति अदालतको ध्यानाकर्षण भएको जनाएको हाे ।
कानूनी रुपमा गरिएको कार्यप्रति अवान्छित शंका, उपशंका पैदा गराउने प्रकृतिका समाचार सामग्रीबाट कसैको पनि हित नहुने र त्यसले न्यायपालिकाप्रति आम जनसमुदायमा अवाञ्छित भ्रम पैदा गर्ने अदालतको ठहर छ । विज्ञप्तिमा भनिएको छ, “अनुसन्धानको क्रममा रहेको विषयलाई तोडमोड गरी सत्य र यथार्थ स्थिति बुझ्दै नबुझी न्यायपालिकाप्रति अफवाह फैलाउने कुत्सिन मनसायबाट अभिप्रेरित भई ‘घुस आरोपी छाडिए’ भन्ने मिथ्यापूर्ण, भ्रामक, असत्य र कपोकल्पित समाचार सम्प्रेषण हुनु दुःखद विषय हो ।”