पृथ्वी जयन्तीमा विदा दिने/ नदिने कुरा बहसमै: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको जन्मदिनमा विदा दिने कि नदिने भन्ने विषय बहसमै रहेकोले सरकार टुगोमा नपुगेको बताएका छन् ।
केही समुदायमा पृथ्वीनारायण शाहको भूमिकालाई कसरी हेर्ने भन्ने विषयमा बहस भएकोले त्यस्तो बहसलाई राजनीतिक रुपले टुङ्गो लगाएर मात्र निर्क्यौल गरिने उनले बताए ।
भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को आज चितवनमा उद्घाटन गर्दै उनले मन्त्रिपरिषद्को बैठकमा दुईपटकसम्म यस विषयमा छलफल भएको भन्दै थपे, “म राजनीतिक तहमा यो विषयमा छलफल गरेर एउटा समुचित निस्कर्ष निकाल्ने कुरामा पहल गर्ने छु भनेको छु ।”
यद्यपी पृथ्वीनारायण शाहको प्रशंसामा उनले लामै समय लिएका थिए । भारतमा अङ्ग्रेज साम्राज्यले स–साना भूरे टाकुरे राज्यलाई नियन्त्रणमा लिई विशाल साम्राज्य खडा गरिरहेको समयमा नेपालमा शक्तिशाली राज्य नभएको भए यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा भइरहेका बेला पृथ्वीनारायण शाहले केन्द्रीकृत राज्य बनाउन नेतृत्वदायी भूमिका खेल्नुभएको उनले स्मरण गरे ।
इमान्दार नागरिकले आफ्नो इतिहासप्रति गौरव गर्न सक्नुपर्ने भन्दै उनले थपे, “हामीले गौरव गर्ने विन्दु छ त्यो हो भूरे टाकुरे राज्यलाई एकीकरण गरी सामान्ती नै भए पनि एउटा बलियो केन्द्रीकृत राज्य बन्नु प्रगतिशील हो, त्यो पछि हटेको कदम होइन ।”
शान्तिप्रक्रियाका बेला पुरानो सबै चिजलाई नष्ट गर्नुपर्छ र नयाँ निर्माण गर्नुपर्छ भन्ने अलि बढी उन्माद आफ्नै पार्टीभित्र देखिएको भन्दै उनले कतै कतै पृथ्वीनारायण शाहको सालिक ढाल्ने काम भएकामा आफुले त्यसलाई रोकेको दाबी गरे ।
प्रधानमन्त्री दाहालले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एशियाकै नमुना अस्पताल बनाउन आफूले सक्दो सहयोग गर्ने भन्दै अत्याधुनिक उपकरणका लागि चिनियाँ अधिकारीसँग कुराकानी गरिरहेको जानकारी दिए ।
सोही अवसरमा प्रधानमन्त्री दाहालले आफू कुलपति रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको विवाद आफ्नै कार्यकालमा टुङ्ग्याई छाड्ने बताएका थिए ।
रासस