समाचारशनिवार, पौष २३, २०७३

परिचयविहिन हुनुको पीडा

हिमालखबर

देश निकालिएको दुःख भुल्न नेपालीसँग विवाह गरेका थुप्रै भुटानी शरणार्थी महिला अहिले परिचयविहीन बन्न पुगेका छन् ।

- गोपाल गड्तौला
शिविरमा रासन पाए पनि आङ ढाक्ने कपडा र अरू थुप्रै रहर पूरा गर्न २३ वर्षीया देउमाया मगर लहैलहैमा ललितपुरको ग्वार्को आइपुगिन्। र, गलैंचा उद्योगमा काम गर्न थालिन्। यहीं भेटिए, मकवानपुरका गोपाल मगर। गोपालको मायामा उनले आफ्नो श्रीमान् समेत बिर्सिइन्। यी दुई ग्वार्कोमै डेरा लिई सँगै बस्न थाले। 

मिर्गौला झिकेको ठाउँ देखाउँदै देउमाया मगर।

२०६६ सालको एक दिन गर्भवती श्रीमती देउमायालाई वीर अस्पतालमा भर्ना गरेर बाहिर निस्किएका गोपाल फेरि अस्पताल फर्किएनन्। छेउको बेडमा एकजना बिरामीका कुरुवाले देउमायाको दुःख देखे।

आफ्नो बिरामी मिर्गौला रोगी भएको भन्दै उनले मिर्गौला दिए सम्पूर्ण खर्च बेहोर्ने बताए। देउमायासामु कुनै विकल्प थिएन। “कता लगेर मिर्गाैला निकाले मलाई थाहा छैन, तर १० हजार रुपैयाँ र केही ऋण भने तिरिदिए”, उनी भन्छिन्।

शिविर छाडेर गएको ११ वर्षपछि सन् २०१३ मा देउमाया झापास्थित बेलडाँगी–३ को शरणार्थी शिविर फर्किइन्। तर, लामो समय शिविरको सम्पर्कबाहिर भएकाले उनको शरणार्थी दर्ता खारेज भइसकेको थियो। “शिविर फर्किंदा आफन्तहरू कोही थिएनन्, अहिले आठ वर्षकी छोरीसँगै बसेकी छु”, उनी भन्छिन्।

सनमाया गुरुङ (३७) चार वर्षदेखि बेलडाँगीकै शिविरमा बसिरहेकी छन्। तर, यो शिविर उनको नभई पुनर्वासमा हिंडेका आमा र दाजुले छाडेको छाप्रो हो।

सन् २००५ मा काठमाडौंमा राष्ट्रसंघीय शरणार्थी आयोगको कार्यालयमा धर्ना बस्न जाँदा चिनेका धादिङका हेमन्त गुरुङसँग बिहे गर्नुअघि भने उनी झापाकै खुदुनाबारीको शरणार्थी शिविरमा बस्थिन्। डकर्मी काम गर्ने श्रीमान् बिहेको दुई वर्षपछि सनमाया गर्भवती भएको अवस्थामा एकाएक हराएपछि उनको बिचल्ली भयो।

काठमाडौंको एक सम्पन्न परिवारले उनलाई सहारा दियो। अहिले सनमायाकी ९ वर्षे छोरी तिनै परिवारसँग बस्छिन्। “शिविर आउजाउ नभएकाले मेरो दर्ता खारेज भएछ, अहिले मेरो परिचय नै भएन”, उनी भन्छिन्। सनमायाका आमा, दाजु–भाउजुसहित सात जनाको परिवार भने पुनर्वास कार्यक्रम अन्तर्गत यतिबेला क्यानाडामा छ।

छिरिङमाया तामाङ।

भुटान सरकारको चरम यातना र त्रास खेप्न नसकेर लाखौं नेपालीभाषी सन् १९९० को शुरूआतदेखि पूर्वी नेपालको झापा र मोरङमा बसाइँ सर्न थालेका हुन्। शरणार्थी शिविरको दुईदशक लामो कहालीलाग्दो बसाइँपछि संयुक्त राष्ट्रसंघको पहलमा आठ वर्षयता एक लाखभन्दा बढी शरणार्थी तेस्रो देश पुनर्वास भइसकेका छन्।

तर, शरणार्थी भएर पनि विभिन्न कारणले सूचीकृत नभएका वा नाम नवीकरण नगराएकाहरू शिविरमा परिचयविहीन बन्न बाध्य छन्। सुखी जीवनको सपना सँगालेर नेपालीसँग विवाह गर्ने देउमाया र सनमाया जस्ता थुप्रै महिला अहिले पनि शिविरमै शरणार्थी दुःख भोगिरहेका छन्।

दुःखको जुनी
'झट्टै देश छाडनू' भन्ने भूटानी सेनाको उर्दीपछि सन् १९९२ को भदौरे झ्रीमा सर्भाङको कालीखोलाबाट लखेटिएका बेला टीकामाया गुरुङ १२ वर्षकी थिइन्। थुप्रै शरणार्थी झैं पाँच जनाको यो परिवार झापाको खुदुनाबारीस्थित शरणार्थी शिविरमा बस्यो।

तर, सन् २००१ मा उनी पनि गलैंचा कारखानामा मजदूरी गर्न ग्वार्को आइपुगिन्। गलैंचासँगै टीकामाया र धादिङका जगदीश गुरुङले सम्बन्ध पनि बुने। तीन छोराछोरीका अभिभावक पनि बने।

तर, सात वर्षअघिको एक दिन घरबाट निस्किएका श्रीमान् कहिल्यै फर्किएनन्। आफू र छोराछोरीको बिचल्लीपछि उनी अन्ततः सन् २०१३ मा शिविर फर्किइन्। तर, यतिबेलासम्म बाबु लालबहादुर गुरुङसहित अधिकांश आफन्त

सीता भुजेल

पुनर्वासमा अमेरिका गइसकेका थिए।

परिवारले छाडेको छाप्रोमा बस्ने उनीसँग पनि शरणार्थी परिचयपत्र छैन।

सुखी जिन्दगी बाँच्न पाइएला भनेर सीता भुजेल (३७) ले सन् २००५ मा गुल्मी घर भई खलाँसी काम गर्ने भुपाल मगरसँग बिहे गरेकी थिइन्।

त्यसपछि उनको बास बेलडाँगीको शिविरबाट बुटवल हुन पुग्यो। तेस्रो सन्तान अपाङ्ग जन्मिएपछि भने यी दुईको खटपट शुरू भयो। त्यसपछि घरबाट हिंडेका भुपालको आजसम्म अत्तोपत्तो छैन। सन् २००६ मा शरणार्थी प्रमाणीकरण गर्दा छुटेकी सीता अहिले शिविरमा सरे पनि रासन पाउँदिनन्। पुनर्वासका क्रममा उनका बाबु पदमलाल र आफन्तहरू भने अमेरिकाको भर्जिनियामा छन्।

लक्ष्मी तामाङ (४४) को जन्म दक्षिण भूटानको साम्चीमा भएको थियो। तर, उनले विवाह भने विराटनगर, मोरङका पोक्तुरे लिम्बूसँग गरिन्। दश वर्षमा तीन सन्तान जन्माएपछि श्रीमान्को यातना सहन नसकेर सन् २००८ मा उनी शिविर फर्किइन्।

तर, यतिबेलासम्म शरणार्थी सूचीमा आफूलाई समावेश गर्न ढिला भइसकेको थियो। लक्ष्मीका दाजुसहितका आफन्तहरू अमेरिका पुगिसकेका थिए। सानोतिनो मजदूरी र राहत पाउने शरणार्थीहरूले बेलाबखत उबारेर दिने गरेको अन्नपातको भरमा मुश्किलले छाक टारिरहेकी लक्ष्मी भन्छिन्, “अघाउँजी नखाई रात काट्नु परेको छ।”

सनमाया गुरुङ।

तीन सन्तानकी आमा फूलमाया तामाङ (४२) को पीडा पनि अलग छैन। बेलडाँगी–२ को शिविरमा बसिरहेकी उनले १६ वर्षअघि धरानका शम्भु तामाङसँग बिहे गरेकी थिइन्। तर, श्रीमान् सधैंजसो रक्सी पिएर आउँथे र फूलमाया माथि जाइलाग्थे।

“धेरैपटक खोलामा डुबेर मरौं भन्ने विचार आयो तर छोराछोरीको मायाले मरिहाल्न सकिनँ”, उनी भन्छिन्। तीन वर्षअघि छोराछोरी लिएर माइतीले छाडेको शिविरको छाप्रो फर्किएकी उनी नेपाली नागरिकता वा शरणार्थी परिचयपत्रमध्ये एक भए गरिखान सजिलो हुने बताउँछिन्।

पुनर्वासका क्रममा अमेरिकाको नर्थ डाकोडा पुगेका माइतीको भरथेग र शिविर बाहिरको मजदूरीबाट उनी कष्टसँग घर चलाइरहेकी छन्।

नेपाली नरबहादुर गुरुङसँग विवाह गरेकी छिरिङमाया तामाङ (३९) को बेथा पनि उस्तै छ। ग्वार्कोस्थित गलैंचा कारखानामै विवाह गरेका उनीहरू सात वर्षसम्म सँगै बसे। त्यसपछि भने श्रीमान् नरबहादुर हराए। एकजनाको कमाइले छोरा र आफू पालिन नसकेपछि सन् २०१४ मा उनी बेलडाँगीस्थित शिविर फर्किइन्।

१४ वर्षको उमेरमा भूटानको सर्भाङबाट नेपाल पसेकी उनी निराश हुँदै भन्छिन्, “दुःखमा भौंतारिएर यो जुनी बित्ने रहेछ।”

शरणार्थी दर्ता गर्ने निकाय शरणार्थी समन्वय इकाईका निर्देशक समेत रहेका झ्ापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीका अनुसार, झ्ापा र मोरङका शिविरका १ हजार ६४१ जनाले शरणार्थी दर्ताका लागि आवेदन दिएका छन्। “हामी सहजीकरण मात्र गर्न सक्छौं, शरणार्थी प्रमाणित गर्ने अधिकार मन्त्रिपरिषद्लाई मात्र छ”, उनी भन्छन्।

हाल शिविरमा रहेका ११ हजार ६४७ जनाले शरणार्थी राहत पाइरहेका छन् जसमध्ये करीब १ हजार ७०० पुनर्वासको प्रक्रियामा रहेको बताइन्छ।

प्रतिकृया दिनुहोस