ब्लगशनिवार, पौष २३, २०७३

जाडोमा स्वास्थ्य समस्या

डा. सुमनराज ताम्राकार

पुस–माघको जाडोमा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई छाला र श्वासप्रश्वासको समस्याले बढी सताउँछ।

मंसीर महीनासँगै जाडो चढ्न थालेपछि धेरैमा देखिने समस्या हो– ओठ फुट्नु। यो समस्या बढ्दै जाँदा ओठ सुक्खा भएर रातो हुने, सुन्निने र फुटेर रगत आउने हुन्छ। जाडोयाममा सुक्खा हावाले छालाको ओसिलोपना हराउँदै जाँदा ओठ, कुर्कुच्चालगायत शरीरका अन्य भागका छाला फुट्ने हुन्छ। 

प्राकृतिक रूपमा बाह्य सतहमा रहेको पातलो तेलीय पत्रले ओठलाई रसिलो राखिरहेको हुन्छ। कसैकसैको ओठलाई जिब्रोले छोइरहने वा टोक्ने बानी हुन्छ। त्यसो गर्दा र्‍यालमा रहेको इन्जाइमले ओठलाई 'इरिटेट' गर्छ र झ्न् बढ्ता ओठ फुट्छ। त्यस्तो भएको बेला सुन्तला, कागती खाँदा त्यसको रसमा हुने अम्लीय पदार्थले समस्या बढाउँछ। त्यस्तो बेला ओठमा मह, घ्यू वा नरिवलको तेल दल्दा फाइदा गर्छ। जेलयुक्त वाम, च्यापस्टिक वा लिपस्टिकले पनि यो समस्याको अस्थायी निराकरण गर्छ।

जाडोमा घाम ताप्न सबैलाई मन लाग्छ। सुक्खाको समस्या रहेकाहरूले घाममा निस्कँदा लिप वाम, च्यापस्टिक वा सनस्त्रि्कन लगाउनुपर्छ। कोठामा एअर कन्डिशन छ भने हावालाई आर्द्र (ह्युमिड) बनाइराख्नुपर्छ। घर वा अफिसमा ग्याँस वा मट्टीतेलबाट चल्ने हीटर प्रयोग भएको छ भने हावालाई आर्द्र बनाइराख्ने उपाय अपनाउनुपर्छ, प्रशस्त पानी पनि पिउनुपर्छ।

हात–गोडा फुट्ने समस्या भएकाहरूले एक्कासी धेरै तातो वा धेरै चिसो हुने काम गर्नुहुँदैन। भाँडाकुँडा वा कपडा धुँदा कि तातो कि त चिसो पानी चलाउनुपर्छ। अरू बेला छालालाई ओसिलो बनाइराख्न भ्यासेलिन प्रयोग गरिरहनुपर्छ। कुर्कुच्चा फुट्ने समस्या भएकाहरूले राति मनतातो नूनपानीमा केहीबेर खुट्टा डुबाएर पुछपाछ गरी भ्यासेलिन, ग्लिसिरिन दल्नुपर्छ।

जाडोयाममा त्यति वास्ता नगरिएको एउटा समस्या हो– न्यानो लुगाबाट हुने छालाको एलर्जी। पोहोर दराज वा सूटकेशमा थन्क्याइएका स्वेटर, ज्याकेटलगायतका बाक्ला लुगाहरू प्रकृति अनुसार एकपटक घाममा सुकाएर, धोएर वा इस्त्री लगाएर मात्र ओढ्नुपर्छ, जुन सामान्यतः गरिन्न पोहोर नै सफा गरेर राखेको हुनाले।

जाडो मौसममा शारीरिक सरसफाइमा कमी भयो भने यौनाङ्ग वरिपरि ट्राइकोमोनास, क्यान्डिडालगायतका संक्रमण, सुजन, फङ्गस, भाइरस, जुम्रा तथा चुर्ना, भिरिङ्गी, एलर्जीलगायतका समस्या हुन्छन्। यस्ता समस्याको लक्षण चिलाउनु हो। यस्तो बेला पर्याप्त सरसफाइ, पोषिलो खानेकुरा, कटनका खुकुलो भित्री कपडा, आवश्यकता अनुसार एन्टीबायोटिक वा स्टेरोइडयुक्त मलम चाहिन सक्छ।

हिउँदमा चिसोपना र शुष्कताका साथै आगो ताप्ने क्रममा हुने धुवाँको कारण जीर्ण प्रकारको श्वासप्रश्वासको समस्या र रुघाखोकीको प्रकोप बढ्न सक्छ। जीर्ण प्रकारको श्वासप्रश्वास सम्बन्धी समस्यामा दम, ब्रोङ्काइटिस र निमोनिया पर्छन्। जाडोयाममा श्व्ाासनली साँघुरिंदै गएर सास फेर्न गाह्रो हुने र यो रोग बल्झिएर अस्पताल धाउनेहरूको संख्या बढ्छ, जसमा धूम्रपान गर्नेहरू अधिक हुन्छन्। धूम्रपान र वायु प्रदूषणलाई श्वासप्रश्वास सम्बन्धी रोग बढाउने मुख्य कारक मानिन्छ। अझ् समस्याको कुरा त के छ भने मानिसहरू जाडोमा धेरै चुरोट तान्छन्।

त्यस्तै, शहरी क्षेत्रमा बढ्दो सवारी साधन, ईंटाभट्टा, सिमेन्ट कारखानाले वायु प्रदूषणलाई अत्यधिक बढाएको छ भने तराईदेखि हिमालसम्मका गाउँघरमा खाना पकाउनेदेखि शरीरलाई न्यानो पार्नसम्म दाउरा बाल्ने चलन छ। नेपालमा सीओपीडी (जीर्ण प्रकारको श्वासनली साँघुरिने) का बिरामीको संख्या निकै धेरै छ। जाडोयाममा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई बढी छाला र श्वासप्रश्वासको समस्या भएको देखिन्छ।

जाडो महीनामा शरीरको तापलाई सन्तुलित राख्न बढ्ता शक्ति चाहिन्छ। त्यसैले, कार्बोहाइड्रेट तथा चिल्लोयुक्त खानाहरू खानु राम्रो हुन्छ। सुगर, उच्च रक्तचाप, कोलेस्टेरोल आदिको समस्या भएकाहरूले चिल्लो पदार्थ भएका खानेकुरा नखानु बेस हुन्छ। जीउ तताउने वा न्यानो पार्ने नाममा अधिक मदिरा सेवन गर्नुहुँदैन।

प्रतिकृया दिनुहोस