एमाले अब तराई केन्द्रितः ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले तराई–मधेशमा जागरण अभियान चलाउने बताएका छन् ।
आज, २२ मंसीरमा एमालेसहितका विपक्षी दलहरुले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै ओलीले फागुनको दोस्रो सातापछि एमालेले मेची–महाकाली अभियान चलाउन लागेको भन्दै अब सिंगो पार्टी तराई केन्द्रित हुने बताएका हुन् ।
“केही व्यक्तिले एमालेलाई मधेशबाट बाजा बजाएर विदा गर्ने भनेको सुनियो, म उनीहरुलाई हैसियत स्मरण गराउन चाहन्छु,” मधेशी मोर्चाका नेताहरुतर्फ लक्षित गर्दै उनले भने, “तराई–मधेशमा उनीहरुले जितेको ११ सिट हो, एमाले एक्लैले ४० सिट जितेको छ । एमाले अब मधेशमा जागरण अभियान लिएर जाँदैछ ।”
५ नम्बर प्रदेशबाट पहाडी जिल्लाहरुलाई अलग्याउने माग मधेशी जनताको नभई बाह्य शक्तिको रहेको उनले दाबी गरे ।
‘सरकारले आयु लम्बाउन खोज्यो’
ओलीले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै वर्तमान सरकारले संविधान कार्यान्वयन, निर्वाचन तिर ध्यान नदिई आफ्नो आयु लम्बाउने कोशिश मात्रै गरिरहेको आरोप लगाए ।
निर्वाचन गराउनका लागि सरकारले कुनै तयारी नगरेको भन्दै उनले ‘कसैको सरोकार नभएको विषय’ संविधान संशोधनतर्फ सरकारको ध्यान रहेको भन्दै संशोधन कुनै हालतमा पनि संसदबाट पारित हुन नदिने बताए ।
“हिजो संविधान जारी गर्न नदिने, जलाउने र च्यात्नेहरु अहिले फेरि देशलाई अप्ठ्यारो पार्न खोजिरहेका छन्,” ओलीले भने ।