रिपोर्टशुक्रवार, पौष २२, २०७३

बाढीको बाह्रमासे त्रास

मुकेश पोखरेल

भोटेकोशीका तटीय क्षेत्रवासी तिब्बतमा हिमताल फुट्दा वा हिमपहिरो जाँदा आउने बाढीको चौबीसघन्टे त्रासमा छन्।

बाढीले बगाएको आफ्नो घर नजिकै उभिएका भक्तबहादुर नेपाली। तस्वीरहरु: बिक्रम राई

सिन्धुपाल्चोकको मार्मी–१ चाकुका फुर्पा शेर्पालाई २१ असार २०७३ को राति भोटेकोशीमा आएको बाढीले बेरोजगार बनायो। त्यसअघि उनी चाकुमा कुटानी–पिसानी मील चलाएर मासिक रु.१५ हजार कमाइरहेका थिए। “बाढीले मील, घरबारी सबै बगायो” चाकु बजारमा भेटिएका शेर्पाले भने, “बेरोजगार बसेको छु, जहान पाल्न समस्या भयो।” 

भोटेकोशीले घर बगाएपछि तातोपानी–३ लिपिङका भक्तबहादुर नेपालीले परिवारलाई कोदारी सारेका छन्, मासिक रु.६ हजार भाडा तिरेर। बाढी अघि उनले त्यही घरको एउटा सटरमा पसल चलाएका थिए। अर्को सटरबाट मासिक २५ हजार भाडा उठ्थ्यो।

“भूकम्पपछि सबै परिबन्द मिलाउँदै थिएँ, बाढीले उठिबास लगायो” नेपाली भन्छन्, “मलाई त महाभूकम्पले भन्दा ठूलो झ्ट्का भोटेकोशीले दियो।”

अरनिको राजमार्गको चेहेरेदेखि लिपिङसम्म भोटेकोशीबाट पीडितहरूको छुट्टै दुःख छ। लिपिङका निमादोर्जे शेर्पा भोटेकोशीले घर बगाएपछि कोदारी सरेका छन्। तातोपानी धारासँगै चारतले घर बनाएकी कामी डोल्मा शेर्पाले काठमाडौंको बौद्धमा कोठा लिएकी छिन्।

घर बनाउँदाको रु.३० लाख ऋण तिर्न बाँकी छ। उनले गेष्ट हाउस चलाएर ऋण तिर्ने आँटले तला थपेको घरको भत्किएको जगलाई प्लाष्टिकले छोपेर राखेकी छिन्। उनी भन्छिन्, “भूकम्पपछि व्यापार तङ्ग्रिदै थियो, भोटेकोशीले उठिबास लगायो।”

२१ असारमा भोटेकोशीमा एक्कासि आएको बाढीले तातोपानी र लिपिङका १२५ घर र बाह्रबिसेदेखि लिपिङसम्म तीनकिलोमिटर पक्की सडक बगायो। इलाका प्रहरी कार्यालय तातोपानीका प्रहरी निरीक्षक खुमलाल भुसालका अनुसार, बाढीमा जोगिएका एक सयवटा घर पनि बस्नलायक छैनन्। त्यसमाथि, तेर्सिएको छ बाढीको तरबार, जुन जतिबेला पनि खस्न सक्छ। प्रहरी कार्यालय पनि दुई महीना कोदारी माध्यमिक विद्यालयमा सरेको थियो।

बाढीको कटानले जोखिममा रहेको लिपिङ बजारको घर।

तिब्बतबाट आउने भोटेकोशीमा कतिवेला बाढी आउँछ, कुनै पत्तो हुँदैन। तिब्बतमा हिमपहिरो जाँदा वा हिमताल विस्फोट हुँदा दिन होस् कि रात, जतिबेला पनि भोटेकोशीमा विनाशकारी बाढी आउन सक्छ। १२ वैशाख २०७२ को महाभूकम्पले यो भेगको भूगोल खल्बल्याएकोले बाढीको भय बढाएको छ।

तातोपानीको नौ किलोमा जन्मिएकी ७३ वर्षीय कामी डोल्मा शेर्पाले गत असारको जस्तो बाढी सन् १९८१ मा देखेकी थिइन्। त्यतिवेला तिब्बतको झाङझङ्गबो हिमताल फुटेर भीषण बाढी आएको थियो। शेर्पा भन्छिन्, “बिगार चाहिं यसपटक धेरै गर्‍यो।” 

साँगाचोक–१ खत्रीथोकका टंकनाथ सापकोटा त्यसबेलाको बाढीले आफ्नो परिवारको सुकुटेमा रहेको ९ मुरी धान फल्ने खेतलाई बगर बनाइदिएको सम्झ्न्छन्। सापकोटा परिवारले कुनै दिन खेत बनाउन सकिएला भन्ने आशामा त्यो बगरको तिरो तिर्न भने छाडेको छैन।

यस्तो त्रास र आशका बीच भोटेकोशीमा विद्युत् उत्पादनका लागि अर्बौं लगानी भएको छ, जुन कुनै पनि बेला बग्न बेर नलाग्ने मध्यभोटेकोशी आयोजनाका कर्मचारी सविन तामाङ बताउँछन्।

गत असारको बाढीले भोटेकोशी हाइड्रोपावरको बाँधलाई कामै नलाग्ने बनाइदिएको छ। इलाका प्रहरी कार्यालय तातोपानीका प्रनि भुसाल त्यही बाँधले बाढीको ढुंगामाटो थेगेका कारण बाह्रबिसे बजार जोगिएको बताउँछन्।

भोटेकोशी हाइड्रोपावरको ड्याम।

भोटेकोशीमा भोटेकोशी हाइड्रोपावर, सुनकोशी विद्युत् गृह र भैरवकुण्ड हाइड्रोपावरलगायतका आयोजनाबाट करीब ५७ मेगावाट विद्युत् उत्पादन हुँदै आएकोमा गत असारको बाढीपछि भोटेकोशी हाइड्रोको ४५ मेगावाट उत्पादन बन्द छ। भोटेकोशीमा १०१ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माणाधीन अवस्थामा छ भने विभिन्न कम्पनीले १७०० मेगावाट भन्दा बढी विद्युत् उत्पादनको लागि अध्ययन अनुमति लिएका छन्।


सिद्धिए माछा पनि
भोटेकोशीको माछा खान काठमाडौंबाट मानिसहरू खाडीचौरसम्म पुग्थे। साँगाचोक–१ सिम्लेस्थित कमला श्रेष्ठको होटलमा दैनिक २० किलोसम्म माछा बिक्थ्यो। तर, अहिले दोलालघाटदेखि तातोपानीसम्मका होटलहरूमा माछा पाइँदैन। केही होटलले तराईका माछा बेचिरहेका छन्।

भोटेकोशीको बाढीले आर्थिक–भौतिकसँगै पर्यावरणीय क्षति पनि पुर्‍याएको छ। बाढीपछि भोटेकोशीमा माछालगायतका जलचर मासिएका छन्। यसको प्रत्यक्ष असर भोटेकोशीमा माछा मार्ने माझीहरूको जीविकोपार्जनमा परेको छ। माछा मारेर जीविका चलाउने खाडीचौरका राम माझी भन्छन्, “बाढीपछि नदीमा माछा हरायो, अरु काममा मन बस्न सकिरहेको छैन।”

माछा मारेर गुजारा चलाएका साहिंला माझी बाढीपछि भोटेकोशीमा मरेका माछाको बिस्कुन लागेको बताउँछन्। त्यसअघि दैनिक ३०–४० जना माझीले माछा मारेर स्थानीय होटलहरूमा बेच्थे।

साहिंला माझीका अनुसार, स्थानीय माझीहरूको जीविकोपार्जन सहज होस् भनेर जिल्ला कृषि विकास कार्यालयको पहलमा दुई वर्षअघि त्रिशूली नदीबाट जुँगे र रोयल जातका माछा ल्याएर भोटेकोशीमा छोडिएको थियो। गत वर्ष अध्ययन गर्दा ती माछाको संख्या र तौल दुवैमा वृद्धि भएको पाइएको थियो। तर, गेग्य्रान र लेदो मिश्रित बाढीले सबैखाले माछा सखाप पारेको छ।

प्रतिकृया दिनुहोस