पोखरा विमानस्थल: पहिरोमा २५ करोड
निर्माणाधीन पोखरा क्षेत्रीय– अन्तर्राष्ट्रिय विमानस्थलको नाली व्यवस्थापनमा भएको सानो कमजोरीले ठूलो क्षति पुर्याएको छ।
-युवराज श्रेष्ठ, पोखरा
पोखरा विमानस्थलमा नाली व्यवस्थापन गर्न ९ चैत २०७१ बाट काम शुरू गर्ने गरी मृतसञ्जीवनी, खड्का कृष्ण र गल्वा जेभीले रु.१० करोड ६१ लाख ४२ हजारको ठेक्का पायो। त्यसअनुसार, विमानस्थलभित्र आउने पानीलाई नाली खनेर पूर्वतर्फ करीब डेढसय मिटर तलबाट बगेको विजयखोलामा खसाउने काम भयो।
तर, खोलामा खसाइएको नालीले विस्तारै विमानस्थलको जमीन काट्न थाल्यो। सेती नदीबाट ल्याइएको नहरको पानी र बर्खे भेल समेत सोही नालीमार्फत खोलामा खसाउँदा कटान तीव्र बनेर पहिरोको रूप लियो।
त्यसपछि ठेकेदारले काम नसक्दै नाली व्यवस्थापनको नक्शा परिवर्तन गर्नुपरेको विमानस्थल आयोजनाका सिनियर इञ्जिनियर सञ्जीव खड्का बताउँछन्। त्योसँगै नालीको पानी र पहिरो नियन्त्रण गर्न रु.२५ करोडको इस्टिमेट भएको छ। र, त्यसको ठेक्का पनि पहिलेकै कम्पनीहरूलाई दिइएको छ।
विमानस्थल निर्माणमा ढिलाइ
ऋण भुक्तानीका लागि संयुक्त खाता खोल्न ढिला हुँदा रु.२२ अर्ब लागत अनुमान गरिएको पोखरा क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढ्न सकेको छैन।
आयोजना प्रमुख प्रदीप अधिकारी नेपाल सरकारले खाता खोल्न सबै प्रक्रिया पूरा गरेर पठाए पनि चिनियाँ लगानीकर्ता एक्जिम ब्यांकले त्यसलाई आफ्नो बोर्डमा लैजान बाँकी रहेकोले ढिलाइ भएको बताउँछन्।
यस्ता परियोजनामा ऋण भुक्तानी गर्न संयुक्त खाता खोलिन्छ। विमानस्थलको लागि दुई मुलुकका चार पक्ष– नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण, एक्जिम ब्यांक र नेपालको 'क' वर्गको कुनै वाणिज्य ब्यांकबीच सहमति भएर नेपालमै 'स्क्रो' खाता खोलिनेछ।
यस्तो खाता दुई प्रकारको हुन्छ– स्क्रो रेभिन्यू र स्क्रो डिपोजिट। विमानस्थल सञ्चालनमा आएपछिको आम्दानी स्क्रो रेभिन्यूमा जम्मा हुन्छ र किस्ता तिर्ने बेला स्क्रो डिपोजिटमा संकलन हुन्छ।
पोखरा विमानस्थल बनाउन दुई वर्षअघि चिनियाँ कम्पनी सीएएमसीई र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको थियो। २५ सय मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग हुने यो विमानस्थल बनिसकेपछि पोखरामा बोइङ ७५७ र एयरबस ३२० विमानहरूले अवतरण र उडान गर्नेछन्।
विमानस्थलमा १० हजार वर्ग मिटरको अन्तर्राष्ट्रिय टर्मिनल र ५ हजार वर्ग मिटरको आन्तरिक टर्मिनल भवन बन्नेछ। १२ सय मिटर लामो ट्याक्सी वे रहने विमानस्थलमा एकपटकमा आधा दर्जन भन्दा बढी ठूला जहाज पार्किङ गर्न मिल्नेछ।
चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईको प्राविधिक टोली पोखरामा छ। अहिले कम्पनीको प्राविधिक टोली, कर्मचारी र कामदार बस्ने अस्थायी आवास बनाउने काम भइरहेकोछ।
सँगसँगै विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण, मुआब्जा वितरण, सडक निर्माण र विमानस्थल बाहिर 'रिङरोड' का लागि जग्गा अधिग्रहण प्रक्रिया पनि अगाडि बढेको आयोजनाका प्रमुख प्रदीप अधिकारी बताउँछन्। उनका अनुसार, यो आयोजना २०२० को जुलाईमा सकिनेछ।