एमालेद्वारा सर्वोच्चको निर्णयको स्वागत, संसदको अवरोध हटाउने बारे छलफल गर्ने
नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले संविधान संशोधनसम्बन्धी सर्वोच्च अदालतको १८ पुस, सोमबारको निर्णय स्वागतयोग्य भएको जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा सत्तारुढ दलसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । संविधान संशोधन प्रस्ताव प्रतिकूल हुने गरी अदालतले फैसला गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले दाबी गरे ।
उनले भने, “सीमाङ्कनबाहेक सबै विषय संसद्को अधिकारमा पर्ने भएकाले सत्तारुढ दललाई संशोधन विधेयक फिर्ता लिन आग्रह गर्ने निर्णय भएको छ ।”
बैठकले सीमाङ्कनको हेरफेरसम्बन्धी विषय प्रदेशसभाको विषय भएकाले प्रदेशसभाले निर्णय नगरी सीमाङ्कनको निर्णय संसद्ले गर्न नमिल्ने निर्णय गरेको गौतमले बताए ।
“सरकारले पहाड र मधेश अलग गरी देशलाई बर्बाद गर्नेखालको प्रस्ताव ल्याएकाले संसद् अवरोध हटाएर सत्तारुढ दलसँग छलफल गरी अगाडि बढ्ने निर्णय भएको छ,” गौतमले भने ।
उनले संशोधन प्रस्ताव दर्ता गर्ने दल र सरकारले तराई र पहाडलाई अलग गर्नुपर्ने कारणको जवाफ दिनुपर्नेमा जोड दिए ।
यही २२ पुसमा एमालेले गर्ने जनप्रदर्शनलाई सशक्त, व्यवस्थित र मर्यादित बनाउने विषयमा समेत बैठकमा छलफल भएको छ ।