टिप्पणीशुक्रवार, पौष १५, २०७३

काष्ठमण्डप: न हिन्दूको न बौद्धको

वसन्त महर्जन

पाटी, पौवा, सत्तलजस्ता सांस्कृतिक सम्पदा कुनै खास धर्म–सम्प्रदायसँग जोडिएकै हुन्छन् भनेर बुझ्नु गलत हो।

महाभूकम्पबाट ध्वस्त भएको काष्ठमण्डपको पुनःनिर्माणका लागि बौद्ध परम्परा अनुसार ३ मंसीरमा शुद्धीकरणका लागि सुप्रतिष्ठा पूजा गरिंदै। तस्वीर: विक्रम राई

काठमाडौंको विश्वप्रसिद्ध सम्पदा काष्ठमण्डप एउटा सत्तल हो। कुनै बेला हिन्दूको नाथ सम्प्रदायसँग सम्बन्धित भनेर बुझाइँदै आएको यो सत्तललाई पछिल्लो समयमा बौद्ध धर्मसँग जोड्ने अभ्यास हुनुले धार्मिकीकरणको प्रयाससँगै द्वन्द्वको बीउ रोप्ने काम पनि भइरहेको देखाउँछ।

सत्तलको अर्थ र उपयोगिता बुझ्ने हो भने काष्ठमण्डप हिन्दू, बौद्ध वा अन्य कुनै धार्मिक सम्प्रदायमा सीमित छैन भन्ने स्वतः थाहा हुन्छ। 

काष्ठमण्डप कहिले बन्यो भन्ने सन्दर्भमा थुप्रै भनाइ छन्। राजा लक्ष्मीनरसिंह मल्ल (सन् १६१९–१६४१) को पालामा एउटै रूखको काठबाट यो सत्तल बनेको भन्ने ज्यादै प्रचलित किम्बदन्तीलाई त्यहींका ऐतिहासिक सामग्रीहरूले खण्डन गर्छन्। अन्य स्रोतहरूले यो सत्रौं शताब्दीअघि नै बनेर प्रसिद्ध भइसकेको स्पष्ट गर्छ।

भारतबाट तिब्बत हिंडेका आचार्य पद्मसंभवले काठमाडौं आएर काष्ठमण्डपमा बसी धर्मप्रवचन गरेको भनी तिब्बती स्रोतले गरेको संकेतमा महाभूकम्पपछिको पुरातात्विक उत्खनन्को नतीजाले धेरै बल पुर्‍याएको छ, जसले सातौं शताब्दीतिरै यो सत्तल बनिसकेको देखाउँछ।

जसअनुसार, काष्ठमण्डप दुई चरणमा बनेर वर्तमान स्वरूपमा आएको हो। सत्तल बन्नुअघि त्यहाँ के थियो भन्ने यकिन नभए पनि दुईहजार वर्षअघि त्यस स्थलमा खेती हुन्थ्यो भन्ने खुलेको छ। इतिहास अध्ययनका लागि यति सूचना महत्वपूर्ण हुन्छ।

काष्ठमण्डपको पूर्वरूप एउटा बौद्ध विहार थियो भन्ने दाबीको खण्डन पुरातात्विक उत्खनन्को पहिलो चरणमै भइसकेको छ। यो सत्तलका निर्माता प्रसिद्ध तान्त्रिक लीलाबज्र बज्राचार्य थिए भन्ने दाबी गर्दै आएका बौद्धहरू पुरातात्विक उत्खनन्ले त्यसको पुष्टि गरेको भनी उत्साहित छन्, तर इतिहासको तिथिमितिमा ध्यान नदिई।

लीलाबज्रको समय आठौं शताब्दी हो। बज्रयानी बौद्ध साहित्यमा उड्डियान (भारत) का राजा इन्द्रभूति र उनकी बहिनी लक्ष्मीकराको नाम प्रसिद्ध छ। उनीहरू ८४ सिद्धमा गनिन्छन्। सोही परिवारमा हुर्केका आचार्य पद्मसंभवले बौद्धजगतमा आफ्नो छुट्टै स्थान बनाए। लीलाबज्र भने लक्ष्मीकराका प्रधान शिष्य थिए।

राजा नरेन्द्रदेव (सन् ६४३–६७९) को समयमा नेपाल आएका चिनियाँ राजदूत वाङ् हुयेन त्सेले नेपालसम्बन्धी टिपोटमा राजा अंशुवर्माद्वारा निर्मित कैलाशकूट भवनको मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ। त्यस्तो अद्वितीय भवन निर्माण भएको समयमा काष्ठमण्डप बन्नु असम्भव कुरा पनि होइन।

पुरातात्विक प्रमाणअनुसार, आठौं शताब्दीका पद्मसंभवले सातौं शताब्दीमा बनिसकेको सत्तलमा बसेर धर्मप्रवचन गर्नु अस्वाभाविक भएन। सामाजिक, सांस्कृतिक, धार्मिक गतिविधि सम्पन्न गर्न बनाइने सार्वजनिक संरचना हो– सत्तल।

सातौं शताब्दीमा बनेको काष्ठमण्डपमा लीलाबज्रबाट मर्मत–सुधार हुनु असंभव कुरा भएन। यतिकै आधारमा उनैलाई निर्माता भन्नु चाहिं धार्मिक आग्रह मात्र ठहरिने देखिन्छ।

१२ वैशाख २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त हुनुअघिको काष्ठमण्डप। 

बौद्ध धर्म उत्थानको स्वर्णकालमा भएको सार्वजनिक भौतिक निर्माणमा बौद्धहरूको संलग्नता हुनु अस्वाभाविक भएन। काष्ठमण्डपमा जो–कोही बस्न पाउने हुनाले नाथ सम्प्रदायका अनुयायीहरू पनि आएर बस्ने क्रममा स्थायी रूपमै बस्न थालेको बुझिन्छ।

नाथ सम्प्रदायसँग सम्बन्धित कथा–कहानी जोडिने र काष्ठमण्डपको बीच भागमा गुरु गोरखनाथको मूर्ति स्थापना पनि त्यसैबेला भयो। गोरखनाथको मूर्ति काठमाडौं उपत्यकाका अन्य मूर्तिहरूभन्दा फरक र अलि भद्दा स्वरुपको छ। यसले यो उपत्यकाका सिद्धहस्त कलाकारको सिर्जना होइन भन्ने बुझाउँछ। 

केही दशकअघि नाथ सम्प्रदायका अनुयायीहरूलाई उठाएर काष्ठमण्डपलाई पुनः सार्वजनिक सत्तल बनाइए पनि गोरखनाथ, गणेशलगायतका देवदेवीका मूर्तिहरू त्यहीं रहे। उत्तर–पूर्वी कुनामा रहेको गौतम बुद्धको जन्मलगायतका घटना उत्कीर्ण फल्याक पनि काष्ठमण्डपको अंग नभएर पछि टाँसिएको बुझिन्छ।

हरेक १ माघमा काष्ठमण्डपको बुसादँ (स्थापना दिवसको अवसरमा गरिने वार्षिक पूजा वा वर्षबन्धन) गर्ने चलन छ। २०७२ वैशाखको महाभूकम्पअघिको चारवटा बुसादँ अवलोकन गरेको यो पंक्तिकारले त्यहाँ कुनै खास धार्मिक सम्प्रदायको सहभागिता देखेन।

बरु, परम्पराअनुसार सम्पूर्ण पूजाको जिम्मा पाएको स्थानीय ज्यापू समुदायको गुठीको भने अहं भूमिका हुने रहेछ। बिहान पशुबलिसहित गरेको पूजा सामग्री दिउँसोको होममा पनि प्रयोग भएको थियो। दिउँसोको पूजा राजोपाध्याय ब्राह्मण र कर्माचार्य (दुवै नेवार) बाट सम्पन्न भएको थियो।

होमपछि काष्ठमण्डपमाथि चढेर गजुरको झ्ण्डा फेर्ने र योमरीले अभिषेक गर्ने काम ज्यापू समुदायकै गुठी सदस्यहरूले गरे। त्यसक्रममा बौद्ध वा हिन्दू भनी कुनै धार्मिक सम्प्रदायको केही भूमिका देखिएन। काष्ठमण्डप हिन्दू वा बौद्ध सम्पदा भनी दाबी गर्नेहरूको उपस्थितिसम्म पनि कहिल्यै देखिएन, बुसादँमा।

प्रतिकृया दिनुहोस