संविधान संशोधन प्रस्ताव पारित हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् ।
"मधेशी, थारु, जनजातिलाई हेपेर संविधान कार्यान्वयन गर्न सकिदैन्," गोरखाको मुच्चोकमा निर्माण भएको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रममा उनले भने, “यो संविधान सबैको संविधान बनाउनका लागि संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।”
प्रधानमन्त्री दाहालले कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै तराईका जिल्ला समेटेर– ५ नम्बर प्रदेश निर्माण गर्न लागिएको भन्दै थपे, “कांग्रेस र एमालेकै प्रस्तावअनुसार अहिले मैले संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशको प्रस्ताव ल्याएको हुँ ।”
प्रतिपक्षमा रहेको नेकपा एमालेले संशोधन संशोधन प्रस्तावको विरोध गर्न पाउँछ भन्दै उनले संसद् अवरुद्ध गरेर कोही पनि राष्ट्रवादी नहुने बताए ।
अवरुद्ध संसद् खुलाउनेबारे छलफल भइरहेको बताउँदै निर्वाचन सम्बन्धी विधेयक, अख्तियारका पूर्वप्रमुखको महाअभियोगबारे छलफललगायत महत्वपूर्ण काम संसद् अवरुद्ध हुँदा अघि बढाउन नपाएकोमा दुःख व्यक्त गरे ।
“राष्ट्रवादको पक्षमा छौँ भन्ने अनि संसद् अवरोध गर्ने ? यो कहीँ कतै केही मिलेन", दहालले भने, "चित्त नबुझेका कुरा संसद् सुचारु गरेर त्यहीँ बहस गरौं ।"
‘कालीका हाइड्रोपावर’ कम्पनीले करिब रु एक अर्ब ३० करोडको लगानी गरी मुच्चोकमा ६ मेगावाट क्षमताको दरौदी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको हो ।
आयोजनाबाट उत्पादन भएको विद्युत् गोरखास्थित सव–स्टेसनमा जडान गरिसकिएको छ ।
रासस