रिपोर्टशुक्रवार, पौष ८, २०७३

जोखिममा जलविद्युत आयोजना

मुकेश पोखरेल

विश्वव्यापी तापक्रम वृद्धिले हिउँ पग्लिनेक्रम बढेपछि नेपालको जलविद्युत् क्षेत्रको लगानी जोखिममा परेको छ।

दोलखास्थित तामाकोशी नदीमा बन्दै गरेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षति। तस्वीरहरुः रमेश भुसाल

दोलखास्थित तामाकोशी नदीमा बन्दै गरेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षति।
२१ असार २०७३ मा भोटेकोशीमा एक्कासि आएको बाढीले ४५ मेगावाटको भोटेकोशी हाइड्रो पावरलाई ठप्प पार्‍यो।

यसका म्यानेजर बविन प्रधान बाढीले रु.२ अर्बभन्दा बढीको भौतिक संरचनामा क्षति पुर्‍याएको र पुरानै अवस्थामा फर्काउन कम्तीमा दुई वर्ष लाग्ने बताउँछन्। यो घटनापछि हिमनदीहरूमा बनेका र बनाइने विद्युत् गृहहरू जोखिममा रहेको विश्लेषण गर्न थालिएको छ। 

त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभाग प्रमुख डा. नरेन्द्र खनाल नेपाल र तिब्बतमा थुप्रै हिमताल विस्फोट हुने अवस्थामा रहेका र ती ताल फुट्दा आउने बाढीले नेपालका हिमनदीहरूमा रहेका विद्युत् आयोजना बगाउने बताउँछन्।

अरुण, तामाकोशी, भोटेकोशी र त्रिशूली नदीको मुहान तिब्बतमा छ भने दूधकोशी नेपालको सगरमाथा आधार क्षेत्रबाट आएको छ। नेपालको जलविद्युत् लगानी पनि यिनै नदीमा केन्द्रित छ। यी पाँच नदीमा सञ्चालित, निर्माणाधीन र सम्भाव्यता अध्ययन इजाजत लिएका आयोजनाको संख्या २१ छ। (हे. इन्फो)

एक मेगावाट विद्युत् उत्पादनका लागि सरदर रु.२० करोड लाग्ने विद्युत् विकास विभागको हिसाब अनुसार यी पाँच नदीबाट उत्पादन हुने ६ हजार १९३ मेगावाटका लागि रु.१२ खर्ब ३८ अर्ब ६० करोडभन्दा बढी खर्च हुन्छ।

यी पाँच नदीमा अहिले करीब ६०० मेगावाट विद्युत् उत्पादनको काम अन्तिम चरणमा पुगेको छ। यति ठूलो रकम लगानी हुने आयोजनाहरूमा हिमताल फुटेर आउने बाढीबाट पुग्न सक्ने क्षतिबारे भने सम्बन्धित निकायको ध्यान पुगेको देखिन्न।

जोखिमको बेवास्ता
डा. खनालको अध्ययन अनुसार अरुण नदीमा नेपालतर्फ १०८ र तिब्बतमा ९१७ वटा हिमताल छन्। त्यसैगरी, तामाकोशीमा नेपालतर्फ ४४ र तिब्बतमा १९८, सुनकोशीमा नेपालतर्फ १९ र तिब्बतमा २६९ र त्रिशूलीको ३.३१७ वर्गकिलोमिटर मुहान क्षेत्रमा दुवैतर्फ ७२ वटा हिमताल छन्। नेपालका २१ र तिब्बततर्फका ११ ताल खतराको सूचीमा छन्।

नेपालका खतरापूर्ण २१ हिमतालमध्ये मनाङ र लमजुङ जिल्लाबीचको ठूलागी, सोलुखुम्बूको इम्जा, मकालु क्षेत्रको वरुण र दोलखाको च्छो–रोल्पा उच्च जोखिममा छन्।

यीमध्ये इम्जा र च्छो–रोल्पाको निकास खोलेर तीन–तीन मिटर पानीको सतह घटाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले इम्जाताल विस्फोट भए दूधकोशी नदीको एकसय किलोमिटर तलसम्मको तटीय क्षेत्रका ९६ हजार मानिस प्रत्यक्ष र पाँच लाख अप्रत्यक्ष रूपमा प्रभावित हुने प्रतिवेदन दिएको थियो।

सन् २०११ को उक्त प्रतिवेदनले बाढीबाट त्यस क्षेत्रका जलविद्युत् र सडक लगायतका पूर्वाधार सखाप पार्ने औंल्याएको थियो।

कोशी वेसिनको स्थलगत अध्ययन गरेका नेपाल वातावरण पत्रकार समूहका महासचिव रमेश भुसाल हिमतालहरूको सम्भावित जोखिम आकलन विना गरिने लगानी कुनै पनि वेला बाढीमा पर्ने बताउँछन्।

हिमताल फुटेर आएको बाढीले विगतमा पनि पाठ पढाएकै छ। किनारका १२५ भन्दा बढी घर बगाउँदै २१ असारमा भोटेकोशीमा आएको बाढीले तीन अर्बभन्दा बढी आर्थिक क्षति पुर्‍यायो। त्यसअघि, १९३५ मा तिब्बतको तारा च्छो हिमताल फुटेर भोटेकोशीमै आएको बाढीले साढे ६६ हजार वर्गकिमि खेतीयोग्य जमीन कटान गरेको थियो।

सन् १९८१ मा तिब्बतको झाङजाम्बु हिमताल फुटेर सुनकोशीमा प्रतिघण्टा १ करोड ९० लाख घनमीटर पानी प्रवाह हुँदा सयौं घरसहित १२ वटा पुल, २७ किमि सडक र सुनकोशी पावर हाउस बगाएको थियो।

त्यस्तै, १९९८ मा तामपोखरी हिमताल विस्फोट भएर दूधकोशीमा बाढी आउँदा अहिलेको हिसाबमा रु.१ खर्बभन्दा बढी क्षति भएको थियो। त्यसअघि १९८० मा दूधकोशीमा हिम बाढी आएर ठूलो क्षति पुर्‍याएको थियो।

सन् १९६८, ६९ र ७० मा लगातार तीन वर्ष तिब्बतको अक्यो हिमताल विस्फोट भएर अरुण नदीमा आएको बाढीले व्यापक क्षति गर्‍यो। तिब्बत र नेपालमा हिमताल फुटेर २३ पटक आएका बाढीमध्ये १६ वटा कोशी वेसिन अन्तर्गतका नदीसँग सम्बन्धित थिए।

त्यतिवेलाको तुलनामा अहिले नदी किनारमा धेरै संरचना बनेका हुनाले क्षति पनि बढी हुनेछ। सडक पुगेका र जलविद्युत् आयोजनाहरू भएका नदी किनारमा बस्ती बाक्लिंदो छ।

सूचनाको समस्या
क्षति पुर्‍याउने सबै हिमतालको अवस्थाको सूचना नेपालसँग छैन। खासगरेर तिब्बततर्फका हिमतालको अवस्थाबारे केही जानकारी नभएको डा. खनाल बताउँछन्।

उनका अनुसार, चीन सरकारले नेपाली अनुसन्धानकर्तालाई तिब्बती तालहरूको अवलोकन अनुमति दिदैन भने सरकारीस्तरमा पनि हिमताल र त्यहाँबाट आउनसक्ने बाढीको सूचना आदानप्रदान गर्ने संयन्त्र बनेको छैन। “चासो हुनेहरूले गुगल अर्थबाट उताका ताल हेरेर अनुमान लगाउनुपर्ने अवस्था छ”, डा. खनाल भन्छन्।

गत असारमा भोटेकोशीमा आएको बाढीको खास कारणबारे नेपाली अनुसन्धानकर्ता अहिलेसम्म अन्योलमा रहनु यही अवस्थाको परिणाम भएको उनी बताउँछन्।

त्यसबेला नेपाली अनुसन्धानकर्ताहरूले तिब्बतमा भारी वर्षा भएको, हिमताल फुटेको, हिमपहिरोले नदी थुनिएर बाढी आएको लगायत फरक–फरक अनुमान गरेका थिए।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख हाइड्रोलोजिस्ट राजेन्द्र शर्मा मितेरीपुलबाट ८ किमि उत्तरको वैकुपुलमा पहिरोले नदी थुनिएर बाढी आएको अनुमान गर्छन्।

उनको अनुमानको आधार इसिमोडले बाढीपछि लिएको भू–उपग्रह तस्वीर हो, जसमा डा. खनाल सहमत छैनन्। “पहिरोले थुनिएको भए केही समय नदी सुक्थ्यो, अहिलेसम्म नदी सुकेको कसैले बताएका छैनन्”, उनी भन्छन्, “बाढीले बगाएर ल्याएको गेग्य्रानले पनि हिमताल फुटेको संकेत गरेको छ।”

डा. खनाल नेपालका लागि हिमतालहरूको अवस्था सम्बन्धी सूचना अत्यावश्यक भएको बताउँछन्, तर चीनले तिब्बतमा अनुसन्धानकर्ताहरूलाई अवलोकन/अध्ययन गर्नै नदिने भएकोले सरकारी तहबाटै प्रयास गर्नुपर्ने उनको भनाइ छ।

“ब्रह्मपुत्रको तटीय क्षेत्रमा यस्तै समस्या हुँदा भारतले २००२ मा चीनसँग बाढीको पूर्व सूचनासम्बन्धी सम्झौता गर्‍यो”, डा. खनाल भन्छन्, “नेपालले पनि चीनबाट सूचना लिने संयन्त्रको छिटो विकास गरौं।”

पग्लिंदै हिमाल
जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि भएपछि हिउँ पग्लिने र हिमतालको संख्या वृद्धि हुने क्रम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर वार्षिक ०.०८ डिग्री सेल्सियस छ।

गत वर्षको क्षतिग्रस्त सिन्धुपाल्चोकको सुनकोशी जलविद्युत् आयोजना।

२००१ मा ०.२२ वर्गकिलोमिटर क्षेत्रमा रहेको ठूलागी हिमताल २०१६ मा ५ गुणाले वृद्धि भएर १.१ वर्गकिलोमिटरको भएको छ। त्यस्तै, १९७९ मा ०.८७ वर्गकिमि रहेको च्छो–रोल्पा हिमताल बढेर २००२ मा १.७६ वर्गकिमिको भएपछि पानीको सतह तीन मीटर घट्ने गरी निकास खोलिएको छ।

१९६२ मा सानो पोखरी रहेको इम्जाताल २०१६ मा १.२८ वर्गकिलोमिटरमा फैलिएको थियो। 

तालको संख्या पनि वृद्धि भएको छ। त्रिविको भूगोल विभाग प्रमुख डा. खनालका अनुसार, सन् १९७७ मा कोशी वेसिन अन्तर्गत १ हजार १६० हिमताल रहेकोमा २०१० मा २ हजार १६८ वटा पुगे।

१९७७ मा हिमतालहरूको कुल क्षेत्रफल ९४.४४ वर्गकिलोमिटर रहेकोमा २०१० मा १२७.६८ वर्गकिलोमिटर पुग्यो। तिब्बतमा पनि यही रफ्तारमा हिमतालको वृद्धि र विस्तार भइरहेको डा. खनाल बताउँछन्।

उनका अनुसार, कोशी वेसिनमा पर्ने तिब्बतमा १९७७ मा १ हजार १३४ हिमताल रहेकोमा २०१० मा २ हजार १६८ पुगेका थिए। १९७७ मा ती तालले ६३० वर्गकिमि क्षेत्र ओगटेकोमा २०१० मा १ हजार ११२ वर्गकिमि फैलिएको अनुमान थियो।

डा. खनालको अध्ययन अनुसार, भोटेकोशी वेसिन अन्तर्गत तिब्बतमा पर्ने ९ वटा हिमताल २०१२ मै खतरापूर्ण बनिसकेका थिए। ती हिमताल फुटे कोशी वेसिनका नदीहरूमा विनाश आउँछ।

६ हजार १८५ वर्गकिमि क्षेत्रमा फैलिएको कोशी वेसिनको ३२.४ प्रतिशत भूभाग चीन, ४५.१ प्रतिशत नेपाल र २२.५ प्रतिशत भूभाग भारतमा पर्छ। हिमताल विस्फोटबाट आउने बाढीले सबभन्दा बढी असर नेपालमा गर्छ, धेरै क्षेत्र, बाक्लो बसोबास र विद्युत् परियोजनाहरू भएकाले पनि।

हिमताल फुटेर आउने बाढीको क्षति कम गराउने उपाय भनेको पूर्व सावधानी नै हो। त्यसका लागि जोखिम क्षेत्रमा पूर्व सूचना प्रणाली आवश्यक पर्छ। नेपालका इम्जा र च्छो–रोल्पा हिमतालको जोखिम क्षेत्रमा यस्तो प्रणालीको अभ्यास गरिएको पनि हो।

तिब्बती हिमतालको अवस्थाबारे भने न कुनै जानकारी छ न त सूचना प्रवाह गर्ने संयन्त्र। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका हाइड्रोलोजिष्ट विनोद पराजुली त्यसको लागि सरकारकै तहबाट प्रयास हुनुपर्ने बताउँछन्।

प्रतिकृया दिनुहोस