संशोधन विरुद्ध प्रदर्शनका लागि एमालेको तयारी
संविधान संशोधन विधेयकको विरोधमा २२ पुसमा विपक्षी दलहरुले राजधानीमा आयोजना गर्ने बृहद् प्रदर्शनका लागि एमालेले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तयारी तथा समन्वय कार्यदल गठन गरेको छ ।
कार्यदलको आज बसेको बैठकले राजधानीभित्रका पार्टी कमिटी, जनसङ्गठन र सम्पर्क मञ्चलाई उक्त दिन आयोजना हुने प्रदर्शनमा सहभागी हुन निर्देशन गर्दै आ–आफ्ना कार्ययोजना दुई दिनभित्र केन्द्रीय सचिवालयमा पेस गर्न आह्वान गरेको छ ।
कार्यदलमा केन्द्रीय सचिवालयका सदस्यहरु उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट र योगेश भट्टराई, आर्थिक विभाग प्रमुख विष्णु रिमाल र केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका साथै संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक भानुभक्त ढकाल, ३ नं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र सहसंयोजक काशीनाथ अधिकारी, सम्पर्क समन्वय कमिटीका संयोजक छविलाल विश्वकर्मा र सहसंयोजक विजय गुरुङ छन् ।
आजै मोर्चा सङ्गठनका प्रमुख विष्टको अध्यक्षतामा बसेको मोर्चा सङ्गठनको बैठकले कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्रियताका साथ लाग्ने निर्णय गरेको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
रासस