दोलखा जताततै पहिरो, पुल बग्यो, सडक अवरुद्ध
दोलखाको भीरकोट र जफेको सिमानामा रहेको पक्की पुल ढोली खोलाको बाढीले बगाएपछि पुष्पलाल राजमार्ग अवरुद्ध भएको छ ।
गत शनिवार अविरल बर्षा पछि आएको बाढीले पक्कि पुल बगाएको थियो । वर्षा निरन्तर जारी रहेकाले खोला किनाराको टहरामा बस्दै आएका स्थानीय माझीहरु समेत जोखिममा रहेका छन् ।
डिभिजन सडक कार्यालय दोलखाका प्रमुख अशोक तिवारीले ढोली खोलामा बेलिब्रीज राख्न काठमाडौँबाट सामान आउदै गरेको र ८÷१० दिनमा सडक सुचारु हुने बताए ।
त्यसैगरी निरन्तर झरीरहेको पहिरोका कारण दोलखाको लामिडाँडा–५, लादुक–८ र सुनखानी–४ मा पर्ने सडकहरु अवरुद्ध भएका छन् ।
सुनखानीको झर्मासीमा झरेको पहिरो पन्छाएपछि अहिले सिंगटीसम्मको सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिएका छन् । सिंगटीबाट गोगरसम्म भने सानो सवारी साधनहरुमात्र सञ्चालन हुन सक्ने सुनुवारले बताए ।
पहिरोले बेला बेलामा सडक अवरुद्ध हुँदा माथिल्लो तामाकोसी आयोजनाको काममा समेत अवरोध हुने गरेको आयाजनाका प्रवक्ता डा गणेश न्योपानेले बताए ।
सर्मिला बुढाथोकी, दोलखा