हुती विद्रोहीद्वारा साउदी अरबमाथि गरिने सबै हमला रोक्ने निर्णय
यमनको हुती विद्रोही समूहले साउदी अरबमाथिका सबै हमला रोक्ने घोषणा गरेको छ । दुवै देशमा जारी संघर्षलाई रोक्न शान्तिको पहलका लागि यो कदम उठाएको सो समूहले बताएको छ ।
हुतीको राजनीतिक परिषदका प्रमुख मेहदी–अल–मश्तले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउदी अरबमाथि गरिने सबै हमला रोक्ने घोषणा गरेका हुन्।
विद्रोहीहरूको टीभी च्यानल ‘अल–मसरिहा’ का अनुसार साउदीले पनि यसलाई सकारात्मक रूपले लिने बताइएको छ ।
मश्तले भने, “हुतीको शान्ति पहलको उद्देश्य व्यापक स्तरमा राष्ट्रिय सहमति गरेर गम्भीर वार्ताबाट शान्ति कायम गर्नु हो ।”
साउदी अरबमा पछिल्लो हप्ता गरिएको हवाई हमलापछि हुती विद्रोही समूहको यस्तो भनाइ आएको हो । हुती समूहले नै साउदी अरबमाथिको हमलाको जिम्मेवारी लिएको छ । तर, अमेरिका र साउदीले इरानलाई यसको जिम्मेवार ठहराएका छन् ।
यही हमलापछि अरब क्षेत्रमा तनाव बढिरहेको छ भने अमेरिकाले साउदी अरबमा अमेरिकी सेना पठाउने बताएको छ । हमलापछि साउदी अरबले तेल उत्पादनमा कटौती गरेको छ भने विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ ।–एजेन्सी