तिवारीको शव परिवारले बुझे, आजै अन्त्येष्टि हुने
अपरिचित व्यक्तिको गोली प्रहारबाट निधन भएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको शव उनका परिवारले बुझेका छन् । उनको आजै राति देवघाटमा अन्त्येष्टि हुने भएको छ ।
हत्यारा पक्राउ नपरुन्जेल शब नबुझ्ने अडानमा रहेका आफन्त र संघले तिवारीलाई शहीद घोषणाका लागि सिफारिस गर्ने स्थानीय प्रशासनको आश्वासनपछि शव बुझेका हुन् ।
युवासंघले बुटवलमा शोकसभा गरेको छ भने ठूलो जुलुसका साथ तिवारीको शव उनको घर रहेको खैरेनीतर्फ लगिएको छ ।
खैरेनीमा श्रद्धाञ्जली सभापछि आजै देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको युवासंघ सचिवालय सदस्य देवराज पोखरेलले बताए ।
बुटवलमा आयोजित शोकसभामा बोल्दै एमाले र युवासंघका नेताहरुले हत्यालाई अन्यत्रै मोडेर राजनीतिक मुद्दा कमजोर नबनाउन प्रशासनलाई चेतावनी दिएका छन् ।
दीपक ज्ञवाली, बुटवल