धुर्मुस–सुन्तलीले तेस्रो एकीकृत बस्ती तराईमा बनाउँदै
भूकम्प पीडितका लागि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा दुई वटा एकीकृत वस्ती बनाइसकेका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) दम्पतीले महोत्तरीको बर्दीबासमा पनि एकीकृत वस्ती निर्माणको घोषणा गरेका छन् ।
एक वर्षअघि महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीमा पुगेका बेला त्यहाँको गरिबी, अशिक्षा, विभेदले आफूहरुलाई निकै संवेदनशील बनाएको भन्दै उनीहरुले गरीब मुसहरहरुका लागि ५० वटा घर बनाइदिने घोषणा गरेका हुन् ।
धुर्मुस सुन्तलीले एक भिडियो जारी गर्दै उक्त वस्ती निर्माणका लागि विगतमा झैं सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।
रु ४ करोड ७८ लाखमा निर्माण हुने बस्तीका लागि धुर्मुस–सुन्तली फाउण्डेशनले गिरान्चौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको रु १ करोड ३ लाख ६६ हजार मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने जनाएको छ ।
मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्ती निर्माणमा अपुग रकम सहयोग गरिदिन सबैमा उनीहरुले अपील समेत गरेका छन् ।