गृहमन्त्रीको प्रतिबद्धताले नचलेको संसद कानूनमन्त्रीको सामान्य सम्बोधनमा चल्यो
बाँके जिल्ला सभापति किरण कोइराला सहित कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कानूनी कार्बाहीको माग सहित अवरुद्ध ससंद सञ्चालनमा आएको छ ।
जागरण अभियानका क्रममा आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण भएकाले कडा कार्बाहीको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २९ भदौंदेखि लगातार संसद अवरुद्ध गर्दै आएको थियो ।
बुधबार पनि कांग्रेसले बैठकको शुरुमै संसद अवरोधको संकेत देखायो । सभामुखले बैठक शुरु भएको जनाउ दिनासाथ कांग्रेस सांसदहरु उभिए । सभामुख महराले सोधे– के छ माननीय सदस्यहरु ? कोही बोल्नु चाहनुहुन्छ ?
उभिने सांसदहरु मध्ये दिलेन्द्रप्रसाद बडुले हात उठाए । सभामुख महराले बोल्ने समय दिएपछि उभिएका सवै कांग्रेस सांसदहरु आफ्नो ठाउँमा बसे । सांसद बडुले बाँके घटनाका दोषीलाई कानूनी कार्बाहीको माग दोहोर्याए ।
बडुले बोलिसक्नासाथ कांग्रेस सांसदहरु फेरि उभिहाले । सभामुख महराले भने, “कानूनमन्त्रीले यसबारे बोल्न चाहनुभएको छ, बस्नुहोस् माननीय सदस्यहरु ।”
यसपटक पनि आज्ञाकारी विद्यार्थीझैं कांग्रेसका सांसद चुपचाप बसे । कानूनमन्त्री भानुभक्त ढकालले तीन मिनेट मात्रै बोले । मन्त्री ढकालले दोषीमाथि कार्बाही गर्न सरकार प्रतिबद्ध भएको जानकारी दिए ।
मन्त्री ढकालले भने, “घटना दर्ता भइसकेको छ । कानूनी विधि र प्रक्रियाअनुसार घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउँछौं । गल्ती नगरेको कोही फस्दैनन्, गल्ती गरेका कोही उम्कदैनन् ।”
छोटो सम्बोधनपछि मन्त्री ढकाल आफ्नो ठाउँमा फर्किए । लगातारको अवरुद्ध संसद सञ्चालनमा आयो ।
यसपछि उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्ने समय दिइयो ।
जबकी, प्रमुख प्रतिपक्षी कांग्रेसले गृहमन्त्री रामबहादुर थापाको प्रतिबद्धतामा समेत संसद सञ्चालन हुन दिएको थिएन ।
२९ भदौमा गृहमन्त्री थापाले दुई पटक गरी १० मिनेट लामो प्रतिबद्धता जनाएका थिए । तर, कांग्रेसले गृहमन्त्री थापाको प्रतिबद्धतापछि पनि बैठक चल्न दिएन । ३० भदौंको संसद बैठमा त नाराबाजी र रोष्टम घेराऊ नै गरेको थियो ।