खुल्याे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण
लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ ।
‘भिजिविलिटी’ नै नपुग्ने अवस्थापछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो ।
विमानस्थलबाट हुने दुवैतर्फका उडान भने खुला नै थिए ।
अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए ।
कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए । उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करीब ३०० आन्तरिक उडान–अवतरण हुँदैआएको छ ।
यसैबीच मौसमको खराबीका कारण लुक्लाबाट काठमाडौंका लागि उडेका सात हेलिकोप्टर विभिन्न स्थानमा आकस्मिक अवतरण भएका छन् ।
काभ्रेको पाँचखालमा चार र सिन्धुलीको नेपालथोकमा तीन हेलिकोप्टर अवतरण भएका थिए ।